WATV.org is provided in English. Would you like to change to English?

January 15, 2021

आमा एक चियरलिडर हुनुहुन्छ

कोरी डेनियल म्याक्लेलन / न्यू विन्डसर, न्यू योर्क, संयुक्त राज्य अमेरिका

84 읽음
FacebookTwitterEmailLineKakaoSMS

म सानो छँदा एक पौडीबाज थिएँ । अरू पौडीबाजहरूभन्दा पछि सुरु गरेकीले मलाई धेरै बेफाइदा थियो । टोलीमा म सबैभन्दा कमजोर थिएँ, र कहिल्यै उँभो लाग्दिनँ होला भनेर सोच्थें । हरेक रात म रुँदै घर जान्थें, अनि धेरै पटक मैले आमालाई पौडी खेल्नै छोडिदिन्छु पनि भनें । तर उहाँले, तिमीले यसलाई निरन्तरता दिएर कडा मेहनत गऱ्यौ भने टोलीकै उत्कुष्ट हुनेछौ भन्दै प्रोत्साहन दिनुहुन्थ्यो ।

आमाको कुरा सही थियो । हरेक दिन मैले सक्दो अभ्यास गरेपछि मेरो पौडने गति बढ्यो र मैले आफ्नो रेकर्ड तोड्न थालें । अन्ततः चाँडै नै म टोलीमा तेज खेलाडीहरूमध्येकी एक भएँ, अनि कसरी विकास गर्ने भन्नेबारे अन्य टोलीका सदस्यहरूलाई पनि मैले सिकाइदिएँ । मेरी आमाले ममा धेरै गर्व गर्नुभयो । मैले छोटो अवधिमा कसरी प्रगति गर्न सकें भन्नेबारे आमाले अन्य मानिसहरूलाई बताउनुभएको कुरा म प्रायः सुन्दथें ।

मेरो प्रत्येक खेलमा आउनुहुने आमाले मलाई सहज गराउन जे पनि गर्नुहुन्थ्यो । उहाँले पौडी खेल प्रतियोगितामा कार्यकारी हुन कक्षा पनि लिनुभयो, अनि अधिकारीहरूसँग स्वेच्छाले कार्य गर्नुभयो । मेरी आमाले टोली सदस्यहरूलाई एकताबद्ध गराउन प्रत्येकको निम्ति कम्बल बनाइदिनुभयो । खेलको दिनमा हाम्रो टोलीलाई आर्थिक सहयोग गर्नको निम्ति उहाँले अस्थायी खाजा पसल पनि खोल्नुहुन्थ्यो ।

तर मचाहिँ आमालाई देखेर लज्जित हुन्थें । विशेष गरी उहाँ मेरो निम्ति ठूलो सोरले चिच्च्याउनुहुँदा मलाई यति असहज महसुस हुन्थ्यो, कि म उहाँलाई हेर्दै नहेरी दौडेर जान्थें । उहाँलाई “चियरलिडर आमा” भन्ने गरिएको मलाई मन पर्दैनथ्यो । तर आमाले वर्षौंसम्म मलाई निराश नबनाईकन लगातार समर्थन गर्नुभयो ।

मैले पौडी जीवनयात्रामा आफ्नो निश्चित रेकर्ड तोड्नलाई व्यग्रतापूर्वक प्रयत्न गरेको एउटा कुरा थियो । मेरो मुख्य खेल नै ५० गज फ्रिस्टाइल स्प्रिन्ट थियो, तर मैले डेढ वर्षको अभ्यासमा कहिल्यै पनि ३० सेकेन्डको रेकर्ड तोडेकी थिइनँ । प्रयत्न गरेर रेकर्ड तोड्ने त्यो मेरो अन्तिम मौका थियो ।

त्यो दिन म प्रारम्भिक पौडीमा सबैभन्दा छिटो आएकी थिएँ, तर फाइनल खेलमा चाहिँ मलाई सबैभन्दा बाहिरी लेनमा राखियो जुन मेरो लागि बेफाइदाको कुरा थियो । किनकि जति लेनभन्दा बाहिर गयो त्यति नै अरू खेलाडीहरूले बनाएका छाललाई जित्नुपर्ने हुन्छ । मैले भित्रभित्रै हरेस खाइसकेकी थिएँ ।

म पौडी-चश्मा मिलाउँदै सुरुवाती रेखामा उभिरहँदा मेरी आमाले ठूलो सोरले मलाई समर्थन गर्नुभएको सुनें । यस पटक मैले उहाँलाई बेवास्ता नगरी उहाँको कुरा ध्यानसित सुनें ।

“तिमी गर्न सक्छ्यौ ! चिन्ता नगर ! तिमी बीचमा छौ भनेर कल्पना गर ! आज तिमीले ३० सेकेन्डको रेकर्ड तोड्नेछ्यौ ! मेरी छोरीले ३० सेकेन्डको रेकर्ड तोड्न लागेकी छिन् !”

त्यो दिन उहाँको आवाज अझ ठूलो सुनियो । पानीमा हाम फालेपछि मैले उहाँको आवाजमा मात्र ध्यान दिएँ, र मेरो वरिपरि घटिरहेका घटनाहरू– कसले जितिरहेको छ, मैले कति पार गरें इत्यादि मैले नदेखेका कुराहरू आमाबाट सबै सुनें । अन्ततः म लेनको समाप्ति रेखामा पुग्दा मेरी आमा बेसरी चिच्च्याउनुभएको मैले सुनें ।

उहाँ लगातार चिच्च्याइरहनुभयो । पानीबाट टाउको निकाल्दा मैले कति समय लागेछ भनेर घडी पनि नहेरी आमालाई खोजें । आमालाई भेट्नेबित्तिकै म पनि उहाँसँगै विजयको ठूलो सोरले चिच्च्याएँ । म सीधै आमातिर दौडिएँ, अनि हामीहरू अँगालोमा बाँधिएर सँगै उफ्रियौं ।

“तिमीले गर्न सक्छ्यौ भन्ने मलाई थाहा थियो !”

मेरी आमाको गहभरि आँसु थियो । मैले ३० सेकेन्डको रेकर्ड तोड्न सकेको चाहिँ मेरो डर, असुरक्षा र गर्वभन्दा चर्को आमाको चिच्च्याहट सुनेकीले थियो । आमाकै कारणले म त्यहाँसम्म पुगेकी हुँ । म टोलीमा सुस्त र लज्जित हुँदा पनि मेरी आमा मप्रति कहिल्यै लज्जित हुनुभएन । कसरी मैले उहाँसित त्यस्तो नराम्रो व्यवहार गर्न सकेकी होला ! म आफैप्रति एकदमै लज्जित हुँदै आमालाई समातेर रोइरहें ।

त्यो दिनदेखि हरेक खेलमा म कहिल्यै आमाबाट तर्केर गइनँ । बरु आमाले जस्तै गरी ठूलो सोरमा अरू खेलाडीहरूलाई समर्थन गरें । तब त हामी दुवै जना “चियरलिडर्स” भनेर परिचित भयौं ।

हुन त अहिले म मेरी आमालाई स्वीमिङ पुलमा समर्थन गरिरहनुभएको देख्न त सक्दिनँ तैपनि उहाँ मेरो लागि अझै पनि एक चियरलिडर हुनुहुन्छ । मेरी आमा सदासर्वदा, मेरो जीवनका लागि उदारतापूर्वक समर्थन गर्नुहुने चियरलिडर हुनुहुन्छ ।

FacebookTwitterEmailLineKakaoSMS