हिब्रू-यहूदी र ग्रीक-यहूदी

91,383 views

ती दिनमा जब चेलाहरूको संख्या बढ्‌दैगएको थियो, तब हिब्रूहरूका विरुद्धमा ग्रीक-यहूदीहरूले गनगन गरे, किनभने दैनिक खाद्य वितरणमा तिनीहरूका विधवाहरूले चाहिँदो भोजन पाउँदैनथिए । प्रेरित ६:१

प्रेरित अध्याय ६मा ग्रीक-यहूदी र हिब्रू-यहूदीलाई देख्न सकिन्छ । हिब्रू-यहूदी र ग्रीक-यहूदीहरू को हुन् भन्ने कुरा पत्ता लगाऔं ।

हिब्रू-यहूदीहरूले हिब्रू भाषा बोल्थे (सुरुको मण्डलीको समयमा आरमेइक भाषा भनिन्थ्यो) र ग्रीक यहूदीहरूले ग्रीक भाषा बोल्थे ।

आरमेइक र यहूदी

ई.पू ६००तिर बेबिलोनीहरूको कब्जामा परेका यहूदीहरूले ७० वर्षसम्म दासको जीवन बिताए । यसरी बेबिलोनीहरूद्वारा पराजित भएपछि यहूदीहरूले उनीहरूको पुर्ख्यौली हिब्रू भाषा बोल्नुको सट्टा बेबिलोन साम्राज्यको आधिकारीक भाषा अर्थात् आरमेइक भाषा बोल्न थाले । यरूशलेम फर्केपछि पनि उनीहरूले आरमेइक भाषा बोलिरहे । यहाँसम्म कि येशूज्यूको समयमा पनि उनीहरूले आरमेइक भाषा नै बोले ।

येशूज्यूले यूहन्नाका छोरा सिमोनलाई ‘केफास’ भन्नुभयो जसको अर्थ आरमेइक भाषामा ‘चट्टान’ हो । येशूज्यूले सभाघरका शासकको छोरीलाई आरमेइक भाषामा “तालिता कूमी” भन्नुभयो जसको अर्थ हो, “ए बालिका, म तिमीलाई भन्दछु, उठ ।” मरियम मग्दालिनीले पुनरुत्थान हुनुभएका येशूज्यूलाई आरमेइक भाषामा “रब्बोनी” भनिन्, जसको अर्थ हो “हे गुरुज्यू” । यसबाहेक ‘गेतसमनी’ (तेल पेल्ने कोल) र ‘गलगथा’ (खोपडीको स्थान) जस्ता ठाउँको नाउँको रूपमा पनि आरमेइक भाषा प्रयोग गरिएको थियो ।

ग्रीक र यहूदी

बेबिलोनमा कैदी बनाइएका यहूदीहरूमध्ये प्रायः यहूदीहरू आफू बसिरहेकै ठाउँ अर्थात् अन्यजातिको भूमिमा रहे । तिनीहरूले मुख्यतया आरमेइक भाषा बोल्थे, तर अलेक्ज्याण्डर महान्‌को अभियानपछि ग्रीक भाषा व्यापक रूपमा फैलियो र तिनीहरूले ग्रीक भाषा प्रयोग गर्न थाले ।

अन्यजातिको क्षेत्रमा बसोबास गर्ने यहूदीहरूले विश्वास जोगाउनका लागि आफ्नै समुदाय बनाए । अनि मोशाको व्यवस्था अध्ययन गर्न र अरू मानिसहरूलाई सिकाउनका लागि उनीहरूले एउटा विशेष ठाउँमा भेला गर्न सुरु गरे, र पछि त्यो ठाउँ एउटा सभाघरको रूपमा विकास भयो ।

तिनीहरूमध्ये केही आफ्ना पुर्खाहरूको भूमि कनान फर्के । तर त्यसबेला प्रायः यहूदीहरूले आरमेइक भाषा बोल्ने भएकोले ग्रीक भाषा बोल्ने मानिसहरू थोरै थिए ।

सुरुको मण्डलीको समयमा, प्रायः विश्वासीहरूले(हिब्रू यहूदी) आरमेइक भाषा बोल्थे र थोरैले(ग्रीक यहूदी) चाहिँ ग्रीक भाषा बोल्थे ।

त्यो समयमा खाँचोमा परेका विधवाहरूलाई सहयोग गर्ने चलन थियो । तर जब ग्रीक-यहूदीहरूका विधवाहरू राहत पाउनबाट बञ्चित भए तब ग्रीक भाषी यहूदीहरूले आपत्ति जनाउन थाले । कारण प्रेरितहरू पूर्ण रूपमा सुसमाचार प्रचारमा समर्पित भएकोले गर्दा मण्डलीको आर्थिक मामिला र खाँचोमा परेका विधवाहरूको हेरचाह गर्न सकेनन् ।

त्यसैले प्रेरितहरूले पवित्र आत्मा र बुद्धिले भरिएका र सबैको आदर पाएका सात जना मानिसलाई छानेर तिनीहरूलाई मण्डलीको सम्पूर्ण आर्थिक कार्यहरू सुम्पिदिए, र अझ परिश्रमका साथ सुसमाचार प्रचार गर्न थाले (प्रेरित ६:१-७)।