
भारी बोकिरहेका एक जना मानिसले परमेश्वरसँग गनगन गरे ।
“अरूलाई सानो र हलुका भारी दिनुभएर मलाई चाहिँ किन यस्तो ठूलो र गरुङ्गो भारी दिनुभएको ?”
परमेश्वरले त्यसलाई एउटा ठाउँमा लिएर जानुभएछ । त्यहाँ सबै प्रकारका सामानहरू थुप्रिएका थिए ।
“यदि तिम्रो सामान भारी छ भने म त्यसलाई परिवर्तन गरिदिनेछु । यहाँ भएका सामानमध्ये कुनै एउटा छान ।”
त्यो मानिस यति खुशी भयो कि उसले के गर्ने भनेर सोच्नै सकेन । अन्ततः उसले सानो र हलुका सामान खोज्न थाल्यो । तर उसले चाहेको जस्तो सामान पाउन त्यति सजिलो थिएन ।
केही समयपछि उसले आफूले चाहेजस्तो सामान भेट्टायो ।
“यो सामान ठीक छ ।”
त्यो मानिस सन्तुष्ट देखिन्थ्यो । परमेश्वरले उसलाई हेर्नुभयो र भन्नुभयो,
“यसलाई ध्यान दिएर हेर त । यो सामानचाहिँ तिमीले सुरुदेखि नै बोकेको भारी हो ।”