अभिवादन

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
महासचिव पास्टर गिम जु छल

परमेश्वरको मण्डलीले परमेश्वरको वचन र प्रेमको उदाहरणलाई पछ्याउँदै विश्वभरिका मानिसहरूमाझ साँचो आशा र खुशी प्रवाह गर्दछ ।

विश्वव्यापी गाउँका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू !
परमेश्वरको मण्डलीको वेबसाइटमा प्रवेश गर्नुभएकोमा धन्यवाद ।

मानव-जातिको उज्ज्वल भविष्यको निम्ति असीम अनुग्रहद्वारा मुक्तिको मार्ग खोलिदिनुभई सत्यताको मन्दिर, परमेश्वरको मण्डली स्थापना गरिदिनुभएका एलोहिम परमेश्वरलाई अनन्त धन्यवाद चढाउँदछु ।

परमेश्वरको मण्डलीचाहिँ परमेश्वर स्वयम्‌ले यस पृथ्वीमा स्थापना गर्नुभएको एकमात्र मण्डली हो । पिता परमेश्वर र माता परमेश्वरले रुचि र प्रेमद्वारा सँगै रहनुभएर पाप-क्षमा र अनन्त जीवनको अनुमति दिनुभएको मण्डली हो । यो ठाउँ स्वर्गीय परिवारको न्यानो गुँड हो । यस्तो महान् आशिष् पाएको मण्डलीको रूपमा हामीहरू परमेश्वरले दिनुभएको मिसन पूरा गर्नमा सक्दो कोसिस गरिरहेका छौं ।

“सबै मानिसहरूले मुक्ति पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने परमेश्वर चाहनुहुन्छ” (१ तिमो २:४), अनि उहाँले “जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” (मत्ती २८:१९-२०) भन्नुभएको छ । उहाँको यो इच्छालाई पछ्याएर हामीहरू राज्यको सुसमाचार सारा संसारमा सुनाउँदछौं ।

अन्धकारमा परेर कष्ट भोगिरहेका मानिसहरूमाझ हामीहरू साँचो ज्योति चम्काउँदछौं, आत्मिक रूपमा तिर्खाएकाहरूलाई जीवनको पानीको मूल हुनुभएका पवित्र आत्मा र दुलहीकहाँ डोऱ्याउँदछौं । “आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू” (मत्ती २२:३९) भन्ने वचनअनुसार असल सामरीको मन लिएर विश्वभरि प्रेम र सेवालाई कार्यान्वयन गर्दछौं ।

त्यसरी परमेश्वरको साथसाथ हिँड्दा सारा विश्वभरि मण्डलीहरू स्थापना भएर असङ्ख्य मानिसहरू मुक्तिको खुशीमा सामेल भइरहेका छन् । हिमालयका उच्च पहाडी भेगहरू, अमेजोनको वर्षावन, अन्टार्टिक र आर्कटिक आसपासका क्षेत्रहरूमा पनि परमेश्वरको प्रशंसाको ध्वनि गुञ्जिरहेको छ ।

परमेश्वर नै बाटो, सत्य र जीवन हुनुहुन्छ । मानव-जातिको निम्ति साँचो आशा हुनुहुन्छ । परमेश्वरले सधैँ हाम्रो साथमा रहनुभएर हाम्रो रक्षा गर्नुहुन्छ । परमेश्वरले उदार प्रेम र बलिदानद्वारा मानव-जातिलाई स्वर्गतर्फ डोऱ्याइरहनुभएको यस युगमा जिइरहेका हामीहरू सबै जना कति धन्यका छौं ।

१७५ वटा देशका ७,५०० वटाभन्दा बढी क्षेत्रहरूमा रहेको परमेश्वरको मण्डलीले विश्वका सबै मानिसहरू आशिष्‌‌ले भरिन सक्ने गरी सत्यताको ज्योति चम्काउनेछ । हामीहरू प्रत्येक व्यक्तिलाई आशापूर्ण भविष्यको कोसेली दिँदै, प्रत्येक परिवारमा खुशी र विश्वमा शान्ति कायम गर्नका निम्ति अगि बढ्नेछौं ।

विश्वव्यापी गाउँका सबै परिवारमाझ एलोहिम परमेश्वरको अनुग्रह र आशिष् सदा रहिरहोस् भनी कामना गर्दछु । धेरै आशिष् पाउनुहोस् !