स्वर्ण पदकभन्दा अझ मूल्यवान कुरा

ओलम्पिक खेलहरूमा सुन, चाँदी र कास्य पदकहरू मात्र हुँदैनन् । त्यहाँ एउटा यस्तो पदक पनि हुन्छ जसको खेल नतिजासँग कुनै सम्बन्ध हुँदैन । अनि यसलाई सक्रिय खेलाडी नभए पनि जित्न सकिन्छ । वास्तवमा यो नै पियरे दे कुबर्टिन पदक (Pierre de Coubertin Medal) हो जुनचाहिँ साँचो खेल भावनालाई आत्मसात गर्ने व्यक्तिलाई दिइन्छ । यो पदकको नाम आधुनिक ओलम्पिक खेलका संस्थापकको नामबाट राखिएको हो । ओलम्पिकमा धेरै जना स्वर्ण पदक विजेता भएका छन् । तर यो पदक स्थापना भएको वर्ष सन् १९६४ देखि सन् २०१६ सम्म जम्मा १७ जनाले मात्र कुबर्टिन पदक जितेका छन् । त्यसैले योचाहिँ स्वर्ण पदकभन्दा पनि अझ सम्मानजनक पुरस्कार हो जस्तो लाग्छ ।
१७ जनामध्येका एक क्यानाडाका लरेन्स लेमिउक्सले सन् १९८८मा, सियोल ओलम्पिक खेल प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिता चलिरहँदा उनी अग्रस्थानका खेलाडीभन्दा थोरै पछि थिए, फेरि भन्नुपर्दा उनी दोस्रो स्थानमा दौडिरहेका थिए । तसर्थ बलियो दावेदारको रूपमा उनले स्वर्ण पदक जित्ने ठूलो सम्भावना थियो । तर ठूलो हावा हुरीका कारण नजिकै रहेको सिङ्गापुर टोलीको डुङ्गा पल्टिएपछि उनले तुरुन्तै आफ्नो दिशा बदले, र पानीमा डुब्न लागेका खेलाडीहरूलाई उद्धार गरी उद्धार डुङ्गा नआउन्जेल उनीहरूको सुरक्षा गरे । यस्तो परिस्थितिको बाबजुद पनि उनले २२औँ स्थान हासिल गरे र स्वर्ण पदक जित्ने मौका गुमाए । तथापि उनले कोबर्टिन पदक जिते ।
कहिलेकहीँ साँचो जीतको पदकसँग कुनै सम्बन्ध हुँदैन । किनभने मूल्यवान कुरालाई कुनै श्रेणीसँग दाज्न सकिँदैन ।