विश्वासको स्कोर

१५औँ देखि १७औँ शताब्दीको बीचमा समुद्री प्रभुत्वको प्रतिस्पर्धा तीव्र हुँदा, विश्वव्यापी ढुवानी उद्योगमा ढिला आगमन भएको नेदरल्यान्डले युरोपको लगभग ८०% व्यापारिक जहाजहरू आफ्नो नियन्त्रणमा लिएर जलयातायात क्षेत्रमा प्रभुत्व जमायो । स्पेन, पोर्चुगल लगायत अन्य देशहरूलाई पछि पार्दै डचहरूले नेतृत्व लिन सक्नुको रहस्यचाहिँ डच व्यापारी जहाजहरूले बजारमा कमाएको उच्च स्तरको विश्वासले गर्दा थियो । वास्तवमा त्यो विश्वासको जडचाहिँ क्याप्टेन विलेम ब्यारेन्ट्स थिए ।
सन् १५९६मा क्याप्टेन बेरेन्ट्स, सुमेरू महासागर(Arctic Ocean) पार गर्दै एसियाको सबैभन्दा छोटो समुद्री मार्ग पत्ता लगाउनका लागि आफ्नो तेस्रो यात्रामा निस्किए । प्रतिद्वन्द्वी राष्ट्रहरूले स्थापित गरेका मार्गहरूलाई उछिन्ने दृढ सङ्कल्पका साथ उनले ठूलो आशा लिएर आफ्नो अभियानलाई अगाडि बढाए । तर दुःखको कुरा उनको जहाज एउटा हिमशिलामा फस्यो । नाविकहरूले पानीजहाजको छत भत्काएर बरफमा झुपडी बनाए, त्यही ओतभित्र बसेर उनीहरूले कालजस्तो चिसो सहे र ओत लाग्न आउने जङ्गली जनावर मारेर आफ्नो भोक मेटाए ।
झण्डै एक वर्षपछि बल्ल हिउँ पग्लिन थाल्यो । ज्यान जोगाउन मरिहत्ते गरिरहेका चालक दलका सदस्यहरू हिउँका खँदिला टुक्राहरूबीच बाटो खोज्दै दुईवटा साना डुङ्गामा निस्किए । उद्धारको पर्खाइमा बसेका क्याप्टेन बेरेन्ट्स भोक र कमजोरीका कारण मरे । हिउँको बन्धनबाट उम्केको पचासौँ दिनमा बाँकी टोलीको चमत्कारिक रूपमा उद्धार भयो ।
मानिसहरू, नाविकहरू जीवितै फर्केको देख्दा मात्र होइन, तर उनीहरूको अटल निष्ठा देखेर पनि छक्क परे । असीम चिसो, भोक र रोग सहनु परे पनि उनीहरूले आफ्ना ग्रहाकहरूको सामान जस्ताको तस्तै फिर्ता गरेको देख्दा सबैजना अवाक भए । “ग्राहकको मालसामान मर्नुपरे पनि नचलाउनू” भन्ने कडा नियम कप्तान ब्यारेन्ट्सकै कालजयी निर्णय थियो, जसलाई उनको मृत्युपछि पनि टोलीले धर्म सम्झेर पालना गरे ।
यस्तो निष्ठाबाट गहिरो रूपमा प्रभावित युरोपेली व्यापारीहरूले डच जहाजहरूसँग सम्झौता गर्न मरिहत्ते गर्न थाले । क्याप्टेन ब्यारेन्ट्सले सुमेरू महासागर मार्ग स्थापना गर्न असफल भए पनि डच व्यापारी जहाजहरूमा विश्वासको बलियो जग बसाल्न सफल भए । फेरि भन्नुपर्दा उनले “डच व्यापारी जहाज = विश्वास” भन्ने कुराको प्रभाव गहिरो रूपमा छोड्न सके । यही जगमा टेकेर नेदरल्यान्ड्सले गर्वका साथ संसारकै सबैभन्दा शक्तिशाली समुद्री साम्राज्यको रूपमा आफ्नो नाम चम्कायो ।
एक अमेरिकी लिडरसिप विशेषज्ञले विश्वसनीयताका चार आवश्यक तत्त्वहरूलाई सूचीबद्ध गरे:
- १) बोली र कार्यबीचको एकरूपता
- २) इमानदार र परोपकारी मनसाय
- ३) मनोवृत्ति, सीप र ज्ञानको संयोजन – कार्यक्षमता
- ४) लक्ष्य प्राप्त गर्ने क्षमता
जब यी तत्त्वहरू सन्तुलित हुन्छन्, विश्वास अझ बलियो हुन्छ । विश्वस्नीयताको स्तर उच्च भएका संस्था वा व्यक्तिहरूले चाँडो सफलता हासिल गर्छन् । यी मापदण्डअनुसार, ब्यारेन्ट्स अभियानको विश्वास स्कोर उच्च स्थानमा छ ।
तपाईंको विश्वासको स्कोर कति हो ? आत्मिक र शारीरिक दुवै रूपमा विश्वासको मापन कसरी गर्न सकिन्छ ? यी चारवटा तत्त्वहरूमध्ये प्रत्येकलाई मूल्याङ्कन गरेर सुधारको लागि पहल गर्न सकिन्छ । हामी पूर्ण रूपमा विश्वासयोग्य नभए पनि, पहिलेदेखि नै परमेश्वरले हामीमाथि विश्वास राख्नुभएको छ । उहाँले हामीलाई धर्मी ठहराउनुका साथै सम्पूर्ण मानवजातिलाई मुक्तिको सन्देश सुनाउने जिम्मेवारी सुम्पनुभएको छ । हाम्रा आत्माका कमजोरीहरूलाई बलियो बनाउन, विश्वासमा हुर्किंन अनि परमेश्वरले हामीलाई सुम्पनुभएको मिसनलाई विश्वासपूर्वक पूरा गर्न कार्य गरौं । त्यसो गरेमा बल्ल परमेश्वरले हामीमाथि गर्नुभएको असीम विश्वासको सम्मान गर्न सकिन्छ ।