जित्ने रहस्य

सन् १९८४ मा टोकियो अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा, यामादा मोटोचि नामका एक अपरिचित जापानी खेलाडीले आश्चर्यजनक रूपमा शक्तिशाली मानिएका प्रतिस्पर्धीहरूलाई पछि पार्दै स्वर्ण पदक जितेका थिए । मानिसहरूले उनको भाग्य राम्रो भएकोले जितेका हुन् भने, तर दुई वर्षपछि इटालेली अन्तर्राष्ट्रिय म्याराथनमा यामडाले फेरि प्रतियोगिता जिते । लामो समयपछि उनले आफ्नो जितको रहस्य खुलाए ।
“प्रत्येक दौडअघि म म्याराथनको महत्त्वपूर्ण विषयवस्तुहरूमा ध्यान दिने गर्छु । वरिपरिको बैङ्क, भवन, रूख जस्ता कुराहरूलाई पहिलो बिन्दु, दोस्रो बिन्दु र तेस्रो बिन्दुमा विभाजन गरेर नोटबुकमा लेख्छु र म्याराथनमा दौडनका लागि विभिन्न उद्देश्यहरू बनाउँछु । अनि दौड सुरु भएपछि पहिलो उद्देश्य अर्थात् बैङ्कमा पुग्नका लागि जोड दिन्छु र बैङ्कमा पुगेपछि दोस्रो उद्देश्य रूखमा पुग्नको लागि बल गर्छु ।”
अन्तिम उद्देश्य पूरा गर्नुअघि यामादाले विभिन्न अल्पकालीन उद्देश्य बनाएकाले हरेक म्याराथन जित्न सकेका थिए ।