सन् १९२०मा एक जना महिलाले आफू रुसको अन्तिम ग्रेन्ड रानी अनास्तासिया रहेको दाबी गरिन् । बोल्शेविक क्रान्तिका दौरान रुसी राजपरिवारका सदस्यहरू निर्ममतापूर्वक मारिएका थिए । उक्त घटना घटेको २ वर्ष भएको थियो । अनास्तासियाचाहिँ रुसका अन्तिम सम्राट निकोलस द्वितीयकी चौथो सन्तान थिइन्, जो ४ जना राजकुमारीहरूमध्ये सबैभन्दा मायालु थिइन् । ती महिलाको उपस्थितिले, रुसी राजपरिवारमा घटेको दुःखद घटनाप्रति सहानुभूति जगाउनुको साथै सर्वसाधारणको ध्यान पनि खिँच्यो ।
ती महिलाको नाम हो एना एन्डर्सन । राजपरिवारको बारेमा विस्तृत रूपमा जानकार भएकीले, अनि राजपरिवारको शिष्टतासँग परिचित र तिनको वरपरका मानिसहरूले तिनको बारेमा गवाही दिएकाले तिनी विवादको केन्द्र बनिन् । सत्यतथ्य पत्ता लगाउन ३७ वर्षको लामो युद्धपछि सन् १९७०मा जर्मन सर्वोच्च अदालतले त्यो कुरा सत्य हो कि होइन भनेर प्रमाणित गर्न नसकिएको फैसला सुनायो ।
एन्डर्सनले मृत्युअघिसम्म पनि आफू नै अनास्तासिया रहेको दाबी गर्न छोडिनन् । तर सन् १९९१मा गुप्तमा पुरिएका राजपरिवारका सदस्यहरूका अवशेषहरू पत्ता लागेसँगै त्यो रहस्यमय घटनाले नयाँ चरणको सामना गऱ्यो । राजपरिवारका अवशेषहरूबाट लिइएको DNA र एन्डर्सनको DNA मेल खाएन । DNAका कारण सत्य कुरो पत्ता लाग्यो ।
मेन्डेलियनको वंशानुक्रम [Mendelian inheritance]
बच्चाको अनुहार उसका बुबा र आमा दुवै जनासँग मिल्छ, किनभने बच्चाहरूले आधा जीन आमाबाट र आधाचाहिँ बुबाबाट प्राप्त गर्छन् । विगतमा मानिसहरूले यसको कुनै सिद्धान्त नबुझे तापनि बच्चाले बुबा-आमाबाट विभिन्न गुणहरू प्राप्त गर्छ भन्ने कुराचाहिँ आफ्नो अनुभवको भरमा जानेका थिए । प्राचीन मानिसहरूले गाईवस्तु पाल्दा वा अन्न उमार्दा राम्रो जाति र प्रजाति पाउन बलियोलाई छान्ने गर्थे । आनुवंशिक घटनाको सम्बन्धमा कालो र सेतो मसी मिसिँदा खैरो भएजस्तै बुबा-आमाको शरीरको तरल पदार्थ मिसिएर बच्चाहरूमा हस्तान्तरण हुन्छ भन्ने कुरा उनीहरूले खासै सोचेका थिएनन् । उनीहरूले त्यसको ठोस सिद्धान्त बुझेका थिएनन् ।
१९औँ शताब्दीमा अस्ट्रियाका ग्रेगर मेन्डेलले केराउको बीउको परीक्षणद्वारा बुबा-आमाले सन्तानलाई दिने गुणहरू अद्वितीय वस्तुको रूपमा रहेको हुन्छ भन्ने तर्क राखे । आनुवंशिक नियमलाई तथ्याङ्किय दृष्टिकोणमा प्रस्तुत गर्ने र मान्य गराउने उनको त्यो परीक्षण नै पहिलो पहल थियो ।
मेन्डेलले सङ्करण परीक्षणमा प्रयोग गरेका केराउहरूचाहिँ बिरुवाको आफ्नै दाग(stigma)मा पराग(pollen) जोडेर गरिएको दोहोरो स्व-निषेचन(self-fertilization)बाट उत्पादित शुद्ध केराउहरू थिए । उनले केराउमा देखिएका विशेष गुणहरूमध्ये त्यसको रङ र आकार गरी ७ वटा लक्षणहरूबारे अध्ययन गरे ।
उनले पहिला शुद्ध पहेँलो केराउलाई शुद्ध हरियो केराउसँग सङ्करण गरे । अघिल्लो सिद्धान्तअनुसार हरियो र पहेँलो केराउबाट उनले कागती रङको केराउ प्राप्त गर्नुपर्ने, तर परिणाममा केवल पहेँलो केराउ निस्कियो । फेरि भन्ने हो भने केराउले पहेँलो कारक र हरियो कारक दुवै लिए तापनि पहेँलो रङको कारक मात्र देखा पऱ्यो । बुबा-आमाका वंशानुगत गुणहरू तरल पदार्थजस्तै गरी मिसिने होइन रहेछ, तर त्यो मिसिन पनि सक्ने र टुक्रिन पनि सक्ने विशेष तत्त्वको रूपमा सन्तानमा हस्तान्तरण हुने रहेछ ।
यस्तो अवस्थामा सङ्करण(cross) गरिएको केराउमा पहेँलो रङजस्तो गुणलाई प्रबल मानिन्छ भने देखा नपरेको हरियो रङको गुणलाई अप्रबल मानिन्छ । केही आनुवंशिक गुण निर्धारण गर्ने तत्त्वहरू बुबा-आमा दुवै जनाबाट एउटा-एउटा आएर एक जोडी बन्छ, अनि त्यसैलाई प्रबल र अप्रबलको रूपमा वर्गीकरण गरिन्छ । यहाँ अप्रबल गुणको तुलनामा प्रबल गुणहरू पहिला प्रकट हुने गरेको देख्न सकिन्छ ।
त्यसोभए देखा नपरेको अप्रबल गुणचाहिँ के हुन्छ होला ? यसको उत्तर प्राप्त गर्न मेन्डेलले पहिलो क्रस-निषेचन पाएको मिश्रित(hybrid) केराउलाई स्व-परागण(self-pollinate) गराए । तब पहेँलो र हरियो केराउको गुणको अनुपात ३:१ भयो । अप्रबल गुण हराएझैँ देखियो, तर बुबा-आमा दुवैबाट अप्रबल गुण, हरियो गुण मात्र प्राप्त गरेको केराउमा त्यो देखा पऱ्यो ।
जीनको मुख्य शरीर, DNA
मेन्डेलको अनुसन्धान वास्तवमै युगान्तकारी भए तापनि उक्त समयमा त्यो कुरालाई शैक्षिक क्षेत्रले कुनै ध्यान दिएन । तर ३५ वर्षपछि यस्तै कुरामा चासो दिने अन्य केही वैज्ञानिकहरूले उही नियम फेरि पत्ता लगाएपछि बल्ल त्यो प्रकाशमा आयो । त्यसपछि वैज्ञानिकहरूले कोषिकामा वंशानुक्रमका लागि जिम्मेवार हुने तत्त्वको खोजीमा ध्यान दिन थाले, जुन कुरा मेन्डेलले पहिल्यै बताएका थिए ।
२०औँ शताब्दीको प्रारम्भमा अमेरिकी जीवशास्त्री वाल्टर सटनले सूक्ष्मदर्शक यन्त्रद्वारा नाभिकमा गुणसूत्र(chromosome) नियाल्ने क्रममा एउटा अचम्मको तथ्य पत्ता लगाए । गुणसूत्रहरू सधैँ जोडीमा रहन्छन्, तर प्रजनन कोषिकाहरू(डिम्ब/शुक्रकीट)मा चाहिँ एकलो अवस्थामा रहन्छन् । निषेचनको समयमा तिनीहरू एक-अर्काको प्रजनन कोषको गुणसूत्रसँग जोडीबद्ध हुन्छन् । योचाहिँ मेन्डेलले पहिल्यै जानकारी दिएका आनुवंशिक तत्त्वको गुणसँग मिल्दोजुल्दो छ । योद्वारा, सटनले गुणसूत्रमा आनुवंशिक तत्त्वहरू हुन्छन् भन्ने तर्क तयार गरे । त्यसलगत्तै थोमस मोर्गनले फलफूलमा बस्ने झिँगाको परीक्षणद्वारा जीनचाहिँ गुणसूत्रमा अवस्थित हुन्छ भन्ने तथ्य प्रमाणित गरे ।
मानिसको सन्दर्भमा, एउटा कोषिका नाभिकमा २३ जोडा गुणसूत्र हुन्छन् । मोटो धागोजस्तो देखिने गुणसूत्र खोलिँदा हामीले हिस्टोन नामक प्रोटिनलाई छोप्ने DNA देख्न सक्छौं । यो २ मिटर लामो DNA जीनको मुख्य शरीर हो ।
0 र 1, यी दुई अङ्कलाई क्रमबद्ध राखेर जानकारी जम्मा गर्ने कम्प्यूटरले जस्तै DNAले पनि ४ आधारहरूको विभिन्न अनुक्रममा प्रोटिन संश्लेषणको जानकारी जम्मा गर्दछ । उदाहरणका लागि हेमोग्लोबिन बनाउने प्रोटिनको जानकारी ४३८ आधार जोडीसहित DNAमा जम्मा भएको हुन्छ । ती DNAमध्ये प्रोटिनलाई संश्लेषण गर्दै केही निश्चित गुणहरू निकाल्न सक्ने जानकारी भएको भागलाई जीन भनिन्छ । भनिन्छ, मानिसभित्र करीब ३०,००० वटा जीन हुन्छन् । आज हामीहरू करीब ३ अरब मानव DNA अनुक्रमहरू बुझ्ने मानव जीनोम प्रोजेक्ट समाप्तिको चरणमा पुगेका छौं, अनि त्यसलाई प्रयोग गरेर आनुवंशिक विकार(genetic disorder)को उत्पत्ति पत्ता लगाउन विभिन्न अनुसन्धानहरू सक्रियतापूर्वक अगि बढिरहेको छ ।
DNAले सबै कुरा प्रकट गर्छ
नाटकहरूमा जन्मको रहस्यबारे सधैँजसो उल्लेख गरिने एउटा कुरा भनेकै DNA परीक्षण हो । नाटकभन्दा अझ नाटकीय वास्तविकतामा, ठूलो उत्तराधिकारको मामिलाका लागि प्रायः DNA जाँच गर्ने गरिएको प्रायः हामी देख्न सक्छौं । कारण बच्चाले बुबा-आमाबाट प्राप्त गरेको DNAले सम्बन्धलाई अरू कुनै चीजले भन्दा अझ सही तरिकाले प्रमाणित गर्छ । बुबा र बच्चाबीच अनि आमा र बच्चाबीच आधाजति DNA उस्तै हुन्छ, अनि दाजुभाइ तथा दिदीबहिनीबीच औसत ५०% DNA बाँडिएको हुन्छ । त्यसकारण सुरुवातमा उल्लेख गरेको नक्कली अनास्तासियाको जस्तो मामिलामा DNA जाँचद्वारा नाता प्रमाणित गर्न सकिन्छ ।
अहिले DNA जाँचमा एउटा छोटो अग्रानुक्रम दोहोरो(STR- Short Tandem Repeat) विश्लेषण प्रयोग हुन्छ । योचाहिँ पूरै DNA अध्ययन गर्नुको सट्टा व्यक्तिको आधारमा, विभिन्न संरचना भएका DNAको भाग छानेर गरिने जाँच हो । DNAमा असङ्ख्य न्यूक्लियोटाइड अनुक्रमको दोहोरिएका भागहरू हुन्छन् । हरेक व्यक्तिमा दोहोरिएको सङ्ख्या फरक-फरक हुने भएकोले औंठाछापबाट व्यक्ति पत्ता लगाउन अथवा विभिन्न दोहोरिएका क्षेत्रहरू विश्लेषण गर्दै व्यक्ति वा उसको सम्बन्ध प्रमाणित गर्न सम्भव हुन्छ ।
नाभिकीय DNA विश्लेषण गर्ने STR विश्लेषणबाहेक माइटोकन्ड्रियल DNA विश्लेषणले माइटोकन्ड्रियामा अवस्थित DNAको विश्लेषण गर्छ । माइटोकन्ड्रियल DNA आमाबाट मात्र हस्तान्तरण हुने भएकोले आमापट्टिको नाता निश्चित गर्न सकिन्छ ।
कुन बच्चा कसको सन्तान हो भनेर एकै नजरमा भन्न सकिने गरी बुबा-आमाको अनुहारको विशेषता, चालढङ्ग र सुत्ने बानीसमेत सन्तानसित मिल्दोजुल्दो हुन्छ । यस्तो अवस्थामा प्रायः “जस्तो बुबा, त्यस्तै छोरा” भन्ने गरिन्छ । सन्तानचाहिँ आफ्नो बुबा-आमाको स्वरूपमा मिल्छ ।
बुबा-आमा र सन्तानबीचको सम्बन्धलाई, किन स्वर्गले बनाएको सम्बन्ध भनिएको रहेछ भन्ने कुरा सायद यसले व्याख्या गर्छ । बुबा-आमाको जीन बच्चाको हरेक कोषिकामा समाहित हुन्छ, अनि कुनै पनि बच्चाले आफ्ना बुबा-आमालाई नकार्न सक्दैन । बुबा-आमा र सन्तानबीच फुकान नसकिने सम्बन्ध गाँसिएको हुन्छ । यसले हामीलाई बताउन खोजेको कुरा के होला ?