हाम्रो शरीर मस्तिष्कको आदेशअनुसार चल्दछ । यदि मस्तिष्कले काम गर्न छोड्यो भने शरीरका अन्य अङ्गहरूले आफ्नो भूमिका राम्ररी निभाउन सक्दैनन् । त्यसैले त शरीरको सबैभन्दा महत्वपूर्ण अङ्ग नै मस्तिष्क हो । मस्तिष्कले शरीरको इन्धन भन्न सकिने रगत धेरै मात्रामा लिँदछ अर्थात् त्यसले त्यतिसम्म महत्वपूर्ण कार्यहरू गर्दछ भन्ने कुरा हो ।
तर मस्तिष्कको एउटा कमजोर पक्ष छ । यदि तपाईंले केही कुरा भन्नुभयो भने त्यो कसलाई भनेको हो भन्ने कुरा मस्तिष्कलाई थाहा हुँदैन । यदि तपाईंले कसैप्रति नकारात्मक बोली बोल्नुहुन्छ भने त्यो अरूलाई भनेको हो कि, आफैलाई भनेको हो भन्ने कुरा मस्तिष्कले राम्ररी छुट्ट्याउन सक्दैन र त्यसले शरीरमा तानव पैदा गर्ने हर्मोन छोड्न आदेश दिन्छ । तर यसको ठीक विपरीत यदि तपाईंले कसैप्रति सकारात्मक बोली बोल्नुहुन्छ भने मस्तिष्कले त्यो आफूलाई नै भनेको कुराको रूपमा लिन्छ र शरीरमा खुशीको हर्मोन छोड्न आदेश दिन्छ ।
यसकारण हामीले आफ्नै लागि भए पनि मीठो बोली, सकारात्मक बोली मात्र बोल्नुपर्छ । मीठो र सकारात्मक बोलीबाट आफू लगायत अरूलाई पनि लाभ हुन्छ । त्यसैले कसलाई भनेको हो भन्ने कुरा मस्तिष्कले छुट्ट्याउन नसक्नुचाहिँ कमजोरी नभएर उल्टै आशिष् हुन सक्छ ।