हिउँदे ओलम्पिक खेल भनिने बोबस्लेय[Bobsleigh] एउटा यस्तो खेल हो, जसमा २ वा ४ जना खेलाडीहरूले जमेको साँघुरो, घुमाउरो र ओरालो बाटोमा गुरुत्वाकर्षण-सञ्चालित[gravity-powered] स्लेड तीव्र गतिमा चलाउँछन् । स्लेड मात्र बनाउन पनि धेरै खर्च लाग्ने भएकोले बोबस्लेयलाई सुरु-सुरुमा धनीमानीको खेल भन्ने गरिन्थ्यो । छोटकरीमा भन्नुपर्दा, योचाहिँ चिसो मौसममा मनग्गे पैसा खर्च गरेर खेलिने खेल हो ।
तर सन् १९८८मा क्याल्गरी हिउँदे ओलम्पिक चलिरहँदा बोबस्लेय रङ्गशालामा एउटा अचम्मको कुरा भयो । त्यहाँ जमैकाका खेलाडीहरू देखा परे । जमैकाचाहिँ क्यारेबियन समुद्रको उत्तरी भागमा अवस्थित टापू हो, जहाँ उष्णकटिबन्धीय समुद्री जलवायुका कारण वर्षैभरि प्रचण्ड गर्मी हुने गर्छ । हिउँ नपर्ने वा बोबस्लेयको निम्ति बिलकुल अनुपयोगी रहेको देशका खेलाडीहरू मैदानमा उत्रिएका कुरा आफैमा एउटा चर्चाको विषय बन्यो ।
खेल सुरु भयो । अति कठिन वातावरणमा खेलको तालीम लिएका ती खेलाडीहरूको स्लेडले केन्द्र गुमाएर छेउतिर पुगेकोले समाप्ति रेखा पार नगर्दासम्म उनीहरू हिँड्नुपरेको थियो । त्यसरी पहिलो खेलमा जमैकाको टोली अन्तिम स्थानमा पऱ्यो । तर सन् १९९४मा नर्वेमा आयोजित लिल्लेहेम्मर हिउँदे ओलम्पिक खेलमा यो टोलीले १४औँ स्थान हासिल गरेर संसारलाई चकित पारिदियो ।
चमकदार स्वर्ण पदक जित्न नसके तापनि उनीहरूको प्रयत्न, उत्साह र चुनौतीको भावले उनीहरूलाई सुन्दर रूपमा चम्काइदियो ।