घरबाट सुरु हुने भाषा शिष्टाचार
उज्ज्यालो मुहार, नम्र स्वभाव र अरूको आदर गर्ने बोलीद्वारा शिष्टाचार कायम गर्ने परिवारलाई उज्ज्वल भविष्यले पर्खिरहेको हुन्छ ।

एउटा भनाइ छ, यदि कसैले कठोर स्वरूप र रुखो बोलीद्वारा ‘म केटा हुँ’ भन्छ भने, त्यसको अर्थ ‘म खराब केटा हुँ’ हुन जान्छ । अनि कसैले मुस्कुराउँदै नम्र स्वरमा ‘म केटा हुँ’ भन्छ भने, त्यसको अर्थ ‘म असल केटा हुँ’ हुन जान्छ । उही शब्द भए पनि, त्यो पूर्ण रूपमा फरक सुनिनुको कारणचाहिँ शब्दहरू भएको भाँडा फरक भएकोले हो ।
पाहुनाको लागि खाना बनाउँदा त्यसको स्वाद एकदमै महत्त्वपूर्ण हुन्छ, तर खाना राखिने प्लेट पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । प्लेटको आकार, बनावट र रङ्ग खानेकुरासँग मिल्दोजुल्दो देखिएमा, बल्ल त्यो खानेकुरा अझ स्वादिष्ट देखिन्छ । तर प्लेटहरू फोहोर, फुटेको वा अनुपयुक्त छ भने खाना जतिसुकै स्वादिष्ट भए पनि पाहुनाहरूले त्यो खान चाहँदैनन् ।
भनिन्छ, शब्दहरूचाहिँ विचार राख्ने भाँडो हो । अर्को व्यक्तिको मन नदुखाई शान्त वातावरणमा रमाइलो कुरा गर्नको निम्ति राम्रो भाँडामा शब्दहरू राख्नुपर्छ । राम्रो भाँडोले नम्र मनोवृत्तिलाई जनाउँछ । भाषाचाहिँ कुराकानी गर्ने मुख्य माध्यम भएकोले भाषा शिष्टाचारमा ध्यान पुऱ्याइएन भने कुराकानी गर्दा समस्या हुन्छ ।
शिष्टाचारमध्ये भाषा शिष्टाचार सबैभन्दा महत्त्वपूर्ण गुण हो । घर, विद्यालय र कार्यालयमा सुरु हुने झगडाको मूल कारण नै रुखो बोली हो । हिजोआज टेलिभिजन र इन्टरनेटको प्रभावले असभ्य र अश्लील शब्दहरू व्यापक रूपमा फैलिएको छ, जसले गर्दा भाषा शिष्टाचार अझ आवश्यक छ ।
कठोर बोलीले मन दुखाउँछ
हिजोआज युवाहरूले जथाभावी भाषाको प्रयोग गर्छन् जुनचाहिँ अहिले गम्भीर विषय बनेको छ । केही वर्षअघि, कोरियाली प्रसारण प्रणाली (KBS) र राष्ट्रिय कोरियाली भाषा संस्थानले कोरियामा १,५१८ जना युवाहरूमा सर्वेक्षण गरेको थियो । सर्वेक्षणका अनुसार उनीहरूमध्ये ५२.५%ले आदतको रूपमा अश्लील शब्दहरू प्रयोग गरेको र केवल ८.६%ले चाहिँ त्यस्ता शब्दहरू प्रयोग नगरेको कुरा पत्ता लाग्यो ।
असल बोली बोल्दा मस्तिष्कको अगाडिको भाग सक्रिय हुन्छ, जसको प्रभाव शान्त हुन्छ । तर नकारात्मक भाव व्यक्त गर्दा अश्लील शब्द प्रयोग गर्ने बानी बसाल्यो भने स्पष्ट रूपमा मनको भावना व्यक्त गर्न गाह्रो हुन्छ र शब्दहरूको अभाव भएको महसुस हुन्छ । यसले भावनात्मक स्थिरतामा समेत हानि पुऱ्याउँछ, जुनचाहिँ अपराधको सम्भावित कारण बन्न सक्छ ।

कठोर भाषाले वक्ता र श्रोता दुवैलाई हानि पुर्याउँछ। हार्वर्ड मेडिकल स्कूलका प्राध्यापक मार्टिन टेइचरले बाल्यकालमा मौखिक दुर्व्यवहारको सामना गरेका ५५४ जना वयस्कहरूको दिमागको जाँच गरे । उनले तिनीहरूको कर्पस क्यालोसम(corpus callosum) र हिप्पोक्याम्पस(hippocampus) सामान्य मानिसहरूको तुलनामा संकुचित भएको कुरा पत्ता लगाए । यस्तो मस्तिष्क क्षतिले स्मरणशक्ति र सिक्ने क्षमतालाई कमजोर बनाउनुका साथै मानसिक रोगको जोखिम बढाउँछ ।
प्रायः मानिसहरूले रिसाउँदा भाषा शिष्टाचारलाई बेवास्ता गर्छन् । विनम्र भाषालाई महत्त्व दिने मानिसहरूले समेत रिसाउँदा कठोर शब्दहरू प्रयोग गर्दै गाली गर्छन् । यस्तो अवस्थामा बच्चालाई अनुशासन सिकाइयो भने स्वतः कठोर शब्द प्रयोग गर्न पुगिन्छ । रिसलाई नियन्त्रण गर्न नसकी कठोर शब्दहरू बोल्दा अरूसँग विनम्र भएर निर्माण गरेको सकारात्मक भावना र भरोसा पनि गुमाउन पुगिन्छ । योचाहिँ कडा परिश्रमद्वारा बनाएको भवन क्षणभरमै भताभुङ्ग भएजस्तै हो । तीव्र भावनात्मक अवस्थामा, केही नबोल्नु नै राम्रो हुन्छ । रिस शान्त नहोओञ्जेल पर्खिएर रिसको कारण समाधान गर्दा अझ उत्तम हुन्छ । यो नै आफ्नो र अरूको मन नदुखाउने तरिका हो ।
भाषा शिष्टाचार भन्नाले अरूप्रति दर्शाइने आदर र विचारशीलता हो
भाषा शिष्टाचारको निस्क्रिय अर्थ, अर्को व्यक्तिलाई नराम्रो महसुस नगराउनु हो । त्यसो गर्नका लागि अश्लील भाषा, अपशब्द, गालीगलौज र अरूलाई होच्याउने बोलीबाट टाढा रहनुपर्छ । यस्तो भाषाले अर्को व्यक्तिलाई असहज महसुस गराउनुका साथै त्यो भाषा नबुझ्ने भएकोले एकलो पनि महसुस गराउँछ, र अन्ततः दुई व्यक्तिबीच बोलचालै नहुने अवस्थासमेत उत्पन्न गराउँछ ।
भाषा शिष्टाचारको सक्रिय अर्थ, अर्को व्यक्तिलाई राम्रो महसुस गराउनु हो । उज्ज्यालो मुहार र विनम्र मनोवृत्तिका साथ नम्र भाषा प्रयोग गर्दा, सुन्ने व्यक्तिले केवल राम्रो मात्र महसुस गर्दैन, तर बोल्ने व्यक्तिसमेत असल वक्ताको रूपमा चिनिन्छ । फेरि भन्नुपर्दा, भाषा शिष्टाचारमा ध्यान दिने मानिसहरू समाजमा प्रतिष्ठित हुन्छन् र उनीहरूलाई सबैले मद्दत गर्छन् ।
निस्कर्षमा भन्नुपर्दा, भाषा शिष्टाचार भन्नाले अरूलाई आदार गर्नु हो र अरूप्रति विचारशील भएर त्यो कुरालाई व्यवहारमा लागू गर्नु हो । “एउटा प्रश्न छ” भनेर सोध्ने विद्यार्थी र “सर, कृपया म तपाईंलाई प्रश्न सोध्न सक्छु” भनेर प्रश्न सोध्ने विद्यार्थीबीच को शिक्षकप्रति बढी सम्मानजनक छ भन्ने कुरा सजिलै छुट्ट्याउन सकिन्छ ।
आदरार्थी शब्द पनि भाषिक शिष्टाचारको एक रूप हो । आदरार्थी शब्द प्रयोग गर्दा स्वाभाविक रूपमा अर्को व्यक्तिप्रति विचारशील हुन पुगिन्छ, जसले झैँझगडालाई कम गर्दछ । कुनै एक चोटी, प्राथमिक विद्यालयका शिक्षक र विद्यार्थीहरूले आदरार्थी शब्द प्रयोग गर्दा, विद्यार्थीहरूबीच झगडा कम भएको थियो । योचाहिँ बोलीले व्यक्तिको मानसिकता परिवर्तन गर्न सक्ने भएकोले गर्दा सम्भव भएको थियो ।

विनम्र हुने अर्को तरिका भनेको आफूलाई बुझ्न सजिलो हुने गरी बोल्नु होइनकि अरूलाई बुझ्न सजिलो हुने गरी बोल्नु हो । बोल्ने व्यक्तिको सबै सोचाइ र अवस्था थाहा नहुने भएकोले कहिलेकहीँ सुन्ने वक्ताले बोल्ने वक्ताको कुरा नबुझ्न सक्छ । यस्तो अवस्थामा, सुन्ने व्यक्तिले राम्ररी नसुनेको भनेर दोष दिनुको सट्टा आफ्नो बोल्ने तरिकालाई परिवर्तन गर्नुपर्छ । श्रोताको दृष्टिकोणबाट बोल्नु, श्रोताको स्तरसँग मिल्ने शब्दहरू छनौट गर्नु र मायालु ढङ्गले बोल्नु पनि भाषा शिष्टाचारका उदाहरणहरू हुन् ।
भाषा शिष्टाचारमा रूप, स्वर र मनोवृत्ति जस्ता अवाचिक कुराहरू र सम्मान, पद र शब्दावली जस्ता वाचिक कुराहरू समावेश हुन्छन् । त्यसैले अर्को व्यक्ति बोलिरहेको समयमा हस्तक्षेप गर्ने, अर्को दिशातिर हेर्ने वा बोल्दा आफ्नो शरीर वा खुट्टा हल्लाउने जस्ता गतिविधिहरू गर्नुहुँदैन ।
भाषा शिष्टाचारको सुरुवात घरबाट हुन्छ
भाषा शिष्टाचार एउटा यस्तो कार्य हो जसलाई सम्बोधन गर्न विद्यालय, समाज र परिवारले मिलेर काम गर्नुपर्छ । यसको सुरुवात बिन्दु नै घर हो । भाषा शिष्टाचार वरपरका मानिसहरूबाट प्रभावित हुन्छ, तर यो सबैभन्दा बढी प्रभावित हुने ठाउँ भनेको घर हो । एउटा बच्चा राम्ररी शिक्षित छ कि छैन भन्ने कुरा उसले प्रयोग गर्ने शब्दद्वारा थाहा पाउन सकिन्छ । उचित भाषाको प्रयोग र सिकाइचाहिँ प्रभावकारितासँग सम्बन्धित हुने भएकोले, अभिभावकहरूले बालबालिकाको शैक्षिक क्षेत्रमा मात्र ध्यान दिनुहुँदैन, तर उनीहरूलाई भाषा शिष्टाचार पनि सिकाउन प्रयास गर्नुपर्छ ।
भाषा शिष्टाचार शिक्षा भनेको के सही र के गलत भनेर सिकाउनुभन्दा पनि आमा-बुबाले शिष्टाचारपूर्वक कुरा गरेर आफ्ना छोरा-छोरीलाई देखाउनु हो । आमा-बुबाले प्रयोग गर्ने शब्दहरूको आधारमा बच्चाहरूको व्यक्तित्व र चरित्र निर्माण हुन्छ । त्यसैले आमा-बुबाले बोल्ने भाषा नै सफलतापूर्वक बच्चा हुर्काउने मुख्य कुरा हो भन्दा अतिशयोक्ति हुँदैन ।
पति-पत्नीले एक-अर्कालाई सम्मान गरेर शिष्ट भाषा प्रयोग गर्दा उनीहरूका छोरा-छोरीले पनि स्वाभाविक रूपमा शिष्ट भाषा प्रयोग गर्छन् । केही आमा-बुबाले आफ्ना छोरा-छोरीलाई आदरार्थी शब्द प्रयोग गर्न सिकाउँदैनन् किनभने उनीहरू विश्वास गर्छन् कि यसले उनीहरूको आत्मीयता र स्वतन्त्रतामा बाधा पुर्याउँछ, तर आफ्ना छोरा-छोरीको साँच्चै ख्याल राख्ने बुद्धिमान् आमा-बुबाले चाहिँ आफ्ना छोरा-छोरीलाई आदरार्थी शब्द सिकाउने कुरामा ध्यान दिन्छन् । अनि बच्चाले अश्लील वा असभ्य भाषा बोल्दा, “तिमीले भर्खंरै के भन्यौ ?” भनेर गाली गर्नुको सट्टा “तिमीलाई केले रिस उठायो ?” भनेर सोध्छन् र कुराकानी गर्छन् । त्यसै गरी उनीहरूले आफ्ना बच्चाहरूलाई उपयुक्त बोली र असल व्यवहारद्वारा आफ्नो भावना व्यक्त गर्ने तरिका सिकाउँछन् ।

छोरा-छोरी र बुबा-आमा जतिसुकै घनिष्ठ भए पनि उनीहरूबीचमा भाषा शिष्टाचार हुनुपर्छ । विवाहित जोडीहरूको हकमा पनि यही कुरा लागू हुन्छ । यदि परिवारमा सबै सदस्यहरूले कुनै बहाना नगरीकन सँगै समय बिताउँछन्, एक-अर्कालाई सम्मान गर्छन्, हेरचाह गर्छन् र विनम्र हुन्छन् भने त्यो परिवार साँच्चै सुन्दर र सामंजस्यपूर्ण परिवार हुन्छ । तर यसको ठीक विपरीत कठोर भाषा आदानप्रदान गर्ने घरमा उज्ज्वल भविष्यको आशा गर्न सकिँदैन । यदि तपाईंको परिवारमा निरन्तर कलह हुन्छ भने, सबैभन्दा पहिला आफ्नो बोल्ने शैलीलाई फर्केर हेर्नुहोस् ।
उमेर र वातावरणको परिवर्तनसँगै कुराकानीको माध्यम परिवर्तन हुन्छ, तर मानिसहरू जबसम्म सहअस्तित्वमा रहन्छन् तबसम्म भाषा शिष्टाचारको मूल्य परिवर्तन हुँदैन । योग्य र सक्षम व्यक्तिहरूले समाजमा मान्यता प्राप्त गर्छन्, तर अन्तमा मन पराइने मानिसहरूचाहिँ विनम्रहरू नै हुन् ।
प्रतिभावान् र सद्गुणी मानिसहरूलाई हुर्काउनमा घरले निर्णायक भूमिका खेल्दछ । हामीले दैनिक जीवनमा आज के खाने भोलि कस्तो लुगा लगाउने भन्ने कुरा सोच्छौं, तर अबदेखि चाहिँ भाषा शिष्टाचारको विषयमा सोचौं । अरूलाई राम्रो महसुस गराउने कुरा बोलौं, बोल्ने बानी परिवर्तन गरौं । सुन्दर थालमा मीठो परिकार पस्किँदा मन खुशी भएजस्तै परिवारप्रतिको हाम्रो प्रेम पनि सुन्दर भाँडोमा पस्किऔं ।