
प्राथमिक विद्यालयको खेलकुद दिवसको तस्वीर कोरियाको सामाजिक सञ्जालमा भाइरल भएको थियो । तस्वीरमा ५ जना केटाहरू एक-अर्काको हात समाएर मैदानमा एकसाथ दौडिरहेको दृश्य कैद भएको छ । त्यसमा सबै जना हाँसिरहेका छन्, तर ती केटाहरूमध्येको सबैभन्दा पुड्को केटोले चाहिँ आँसु पुछिरहेको छ । किन होला ?
कुनै रोगको कारणले त्यो केटोको उचाइ बढ्न सकेनछ । यसकारण दौड प्रतियोगिता हुँदैपिच्छे ऊ सधैँ अन्तिम स्थानमा पर्दोरहेछ । उसको निम्ति के गर्न सकिन्छ होला भन्नेतर्फ सोच्दै, अन्य विद्यार्थीहरूले शिक्षकको अनुमतिमा कुनै आश्चर्यको काम गरेछन् । दौड प्रतियोगिताको सुरुवाती सङ्केतमा उनीहरूले अलि दौडेजस्तै त गरेछन्, तर पछि सबै जनाले रोकिएर अन्तिममा दौडेर आइरहेको त्यो साथीलाई पर्खिएछन् । त्यसपछि उनीहरू सबैले एक-अर्काको हात समाएर एकसाथ समाप्ति रेखा पार गरेछन् । साथीहरूको त्यो विचारशीलता देखेर त्यो पुड्को केटो, सबै अभिभावक, शिक्षक लगायत उनीहरूलाई हेरिरहेका विद्यार्थीहरू सबैको आँखा रसाएको थियो । यो खबर सुनेका इन्टरनेट प्रयोगकर्ताहरूले “प्राथमिक तहका विद्यार्थीहरूबाट सिक्नुपर्छ,” “यो तस्वीरले मेरो गह भरिदियो” भनेर लेखेका थिए ।
पहिलो स्थान हासिल गर्नुभन्दा पनि साथीको निम्ति सोच्ने उदार मन लिएका विद्यार्थीहरू ! योद्वारा उनीहरूले असल नागरिक कदर-पत्र प्राप्त गरेका थिए, अनि त्यो नै उनीहरूको प्राथमिक विद्यालय जीवनको सबैभन्दा अन्तिम र महान् खेलकुद दिवस बन्न पुगेको थियो ।