मुस्कुराउँदै रिङबाट बिदा भएका खेलाडी

पिटर बक्ली बेलायतका एक व्यावसायिक बक्सर थिए । उनले १९ वर्षको खेल जीवनमा जम्मा २९९ वटा खेल खेले, जसमा ३१ वटा खेल जिते, १२ वटा खेल बराबरीमा सकाए र २५६ वटा खेल हारे । यो विश्वकै सबैभन्दा खराब रेकर्ड हो । उनी रिङमा उत्रिँदा जहिले पनि हार्ने गर्थे, तर उनले खेलको प्रस्तावलाई कहिल्यै नकारेनन् । उनी महिनामा दुई-तीन पटक खेलमा भाग लिन्थे । अनि अघिल्लो खेलको निलडाम र थकान मेटिन नपाउँदै उनी फेरि अर्को खेलमा सहभागी हुन्थे ।
सन् २००८ मा, खेल जीवनबाट सन्यास लिनुअघि उनले आफ्नो गृहनगर बर्मिङ्घममा ३००औँ खेल खेले । धेरै मानिसहरूले उनको यो अन्तिम खेल निकै चासोका साथ हेरे । उनी विजयी भए । सधैँ हार्ने खेलाडी (लुजर) भनेर चिनिने उनले आफ्नो अन्तिम खेल जिते, र मुस्कुराउँदै रिङबाट बिदा लिए ।
बारम्बार हार बेहोरे पनि किन प्रतिस्पर्धा गरिरहनुभयो भनेर सोध्दा, उनले बक्सिङले उनको जीवन परिवर्तन गरिदिएको कुरा बताए । उनी रोकिएनन् किनभने बक्सिङले उनलाई प्रहरीको फन्दामा पर्न र खराब सङ्गतमा लाग्नबाट जोगाएको थियो । बक्सरको रूपमा उनले ठूलो सफलता हासिल गर्न नसके पनि, आफ्नो जीवन बदल्नका लागि उनले गरेको परिश्रमलाई आत्मसात गर्ने हो भने उनलाई हार्ने खेलाडि कदापी भन्न सकिँदैन । किनभने यदि उनले हारको डरले चुनौतीको सामना नगरेका भए, उनको जीवनमा कुनै पनि परिवर्तन आउने थिएन ।