अनि त्यसपछि

एक जना गरिब विद्यार्थी, विद्यालयको खर्च सापटी माग्नका लागि गाउँकी एक धनी आमाकहाँ गयो ।
“म धेरै पढेर वकिल बन्न चाहन्छु ।”
“ए हो, अनि त्यसपछि के गर्छौ नि ?”
“म धेरै पैसा कमाएर तपाईंजस्तै धनी बन्न चाहन्छु ।”
“अनि त्यसपछि नि ?”
“विवाह गर्छु, बच्चा जन्माउछु र खुसीसाथ जीवन बिताउछु ।”
“अनि त्यसपछि नि ?”
बुढी आमैको प्रश्न सकिँदै नसकिएकोले त्यो विद्यार्थीले रिसाउँदै भनेछ ।
“त्यसपछि अरू के गर्छु जस्तो लाग्छ तपाईंलाई ? म त्यसैअनुसार गर्छु, अनि सायद त्यसपछि मर्छु होला ।”
“अनि त्यत्तिमै सकियो त ?”
“मरेपछि अरू के नै हुन सक्छ र ? ”
“‘त्यसपछि के’ भन्ने कुराको सोच नै नराखी बाँच्ने तिमी जस्तो केटालाई म कहिल्यै पैसा सापटी दिन सक्दिनँ ।”
ती वृद्ध आमाको कुराले उसको आँखा खोलियो । पछि गएर त्यो केटो सफल भयो र उसले एउटा विश्वविद्यालय स्थापना गऱ्यो ।
अनि त्यहाँ भएको अडिटोरियममा ‘अनि त्यसपछि’ भन्ने नारा टाँस्यो ।