
“आमा, म हुँ । के गर्दैहुनुहुन्छ ?”
“ए, म त गृहकार्य गर्दैछु ।”
“के लेख्दै हुनुहुन्छ नि ?”
“हिज्जे जाँचमा नमिलेका शब्दहरूलाई तीन पटक लेख्दैछु ।”
“ए त्यसोभए, तीन पटकभन्दा बढी नलेख्नुहोला । हात दुख्छ ।”
“मैले त तीन पटकभन्दा बढी लेखिसकें ।”
योचाहिँ मैले उहाँलाई फोन गर्दा हामीबीच हुने लगातारको कुराकानी हो ।
आफ्नो पारिवारिक परिस्थितिका कारण विद्यालय जान नपाउनुभएकी मेरी आमाले सधैँ शिक्षाको अभाव महसुस गर्नुहुन्थ्यो । हालसालै उहाँले एक जना परिचित व्यक्तिमार्फत ज्येष्ठ नागरिकहरूका लागि सञ्चालित हान्गुल(कोरियाली वर्णमाला) कक्षाको बारेमा थाहा पाउनुभयो । हप्तामा तीन पटक हुने कक्षामा उहाँ एक पटक पनि अनुपस्थित हुनुभएको छैन । उहाँले तोकिएको भन्दा बढी गृहकार्य गर्नुभएकोले शिक्षकहरूले उहाँको प्रशंसा गर्नुभयो र उमेरका कारण शिक्षकहरू उहाँको स्वास्थ्यप्रति चिन्तित हुनुभयो ।
सिक्ने चाहना राख्ने मेरी आमालाई देखेर, केही नगरी समय खेर फाल्ने मेरो आदतप्रति मलाई लज्जित महसुस भयो ।
एक दिन, मैले आमालाई “यसरी अक्षर लेख्न सिक्नुको कारण के हो ?” भनेर सोधें । उहाँले भन्नुभयो, “म सही हिज्जेहरू सिकेर तिमीहरू सबैलाई सही तरिकाले मेसेज पठाउन चाहन्छु … त्यस्तै हो ।”
एक दिन, बिदाको समयमा म पतिसँगै आमालाई भेट्न गएँ । हामीलाई देख्नेबित्तिकै आमाले लजाउँदै दुई वटा कागजका पानाहरू दिनुभयो ।
“मलाई एउटा चिठी लेख्ने गृहकार्य दिइएको थियो ।”
चिठीको सुरुमा “मेरो ज्वाइँ र बुहारीलाई” भनेर लेखिएको थियो ।
“हँ ? ज्वाइँ र बुहारीलाई मात्र ? ओहो, आमा ! तपाईंका छोरा-छोरी त ज्वाइँ र बुहारीपछि दोस्रो स्थानमा पो रहेछन् ।” आमा लजाएको देखेर मैले जिस्काउँदै भनें ।
मेरो छेउमा हुनुभएको पति हातमा चिठी हल्लाउँदै सानो बच्चाजस्तै खुसी देखिनुहुन्थ्यो ।
“वाह, धन्यवाद ! मैले आमाबाट चिठी पाएँ ! हाहा !”
चिठी हेर्दा, उहाँले सफा अक्षरमा लेख्नका लागि एकदमै प्रयत्न गर्नुभएको कुरा देख्न सकिन्थ्यो ।
हिजो पानी परेकोले आज चर्को घाम लागेको छ । तिमीहरू सञ्चै छौ ?
तिमीहरू दुई जनाको बारेमा सोच्दैपिच्छे, सफा र चम्किलो घाममा टल्किने हरियो पातमा तिमीहरूको अनुहार देख्छु । छान ह्यङलाई भेटेको एघार वर्ष र ह्यन उइलाई भेटेको दश वर्ष भयो । म बिरामी हुँदा छान ह्यङ मेरो निम्ति रोएको थियो ! मैले ह्यन उइलाई माया गर्छु भन्दा उनी निकै भावुक भएकी थिइन् ! धेरै-धेरै धन्यवाद । म धेरै कुराहरूमा कमजोर भएकोले तिमीहरूको निम्ति केही गर्न नसके पनि, तिमीहरूले मलाई सधैँ धन्यवाद दिँदै यसो भन्यौ, “आमा, मेरो वरपरका मानिसहरूले मेरो ईर्ष्या गर्छन् किनभने मेरी सासूआमा असल हुनुहुन्छ । तपाईं उत्कृष्ट हुनुहुन्छ ! कृपया आफ्नो ख्याल राख्नुहोला ।” “आमा, तपाईंको निम्ति केही असल गर्न नसकेकोमा क्षमाप्रार्थी छु ।” तिमीहरू मेरा प्रिय छोरा-छोरी हौ । यो सुन्दैपिच्छे म एकदमै खुसी हुन्छु । तिमीहरूजस्तो बुद्धिमान्, सुन्दर, मायालु र दयालु रत्नलाई मेरो जीवनमा पठाइदिनुभएकोमा म परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु । यदि मेरो कुनै इच्छा छ भने … त्यो नै स्वस्थसँग राम्ररी जीवन बिताएर अन्त्यसम्मै हाम्रो सम्बन्ध कहिल्यै नटुटोस् भन्ने हो । माया गर्छु ।
तिमीहरू सबैलाई धेरै माया गर्ने आमा
चिठी पढ्दा उहाँले सारा दिलोज्यानले उक्त चिठी लेख्नुभएको कुरा मैले महसुस गरें । चिठीका प्रापक उहाँका ज्वाइँ र बुहारी भए पनि, त्यसभित्र उहाँको छोरा-छोरी पनि समेटिएका थिए ।
मेरो गला अवरुद्ध भयो, तर मैले बिस्तारै बोलें ।
“वाह, आमा, तपाईं त भावनात्मक हुनुहुँदोरहेछ ! यदि तपाईं विद्यालय जानुभएको भए, अहिलेसम्म प्रख्यात लेखक भइसक्नुहुन्थ्यो ।”
“हाहाहा, धन्यवाद !”
आमाको याद आउँदैपिच्छे फोटो खिचेर राखेको उक्त चिठी म हेर्ने गर्छु । झट्ट हेर्दा, “मेरो ज्वाइँ र बुहारीलाई” भनेर लेखिएको भए पनि मलाई चाहिँ “मेरी छोरी जुहीलाई” भनेर लेखेको जस्तो लाग्छ । म उहाँको असीम प्रेमप्रति धन्यवादी छु, तर अहिलेसम्म उहाँलाई मनैदेखि चिठी नलेखेकोमा क्षमाप्रार्थी पनि छु । थोरै लजालु भए पनि, अबदेखि म पनि नहिचकिचाईकन आमाप्रतिको मेरो प्रेम व्यक्त गर्नेछु ।