राम्ररी अध्ययन गर्ने तरिका

कुनै पनि कुरामा ज्ञान हासिल गर्दा त्यो कुरा राम्ररी बुझेको छ कि छैन भनेर थाहा पाउने एउटा तरिका छ । त्यो तरिका भनेकै अरूलाई बुझाउनु हो । कुनै कुरा थाहा भए पनि, यदि त्यसलाई शब्दमा उतार्न सकिँदैन भने, त्यसलाई पूर्ण रूपमा बुझेको भनेर भन्न सकिँदैन ।
त्यसैले यहुदीहरूको ‘हाव्रुता’ (Havruta) सिकाई विधिले धेरैको ध्यानाकर्षण गरेको छ, यो विधिले थुप्रै प्रखर दिमागहरू (प्रतिभावान व्यक्तिहरू) जन्माएको छ । यहुदी पुस्तकालयहरूको वातावरण अन्य पुस्तकालयभन्दा निकै फरक छ, जहाँ मानिसहरू किताबको पाना पल्टाउँदासमेत आवाज नआओस् भनेर होसियार हुन्छन् । हाव्रुता सिकाईअनुसार, उनीहरूले अध्ययन गर्ने, कण्ठ गर्ने, र एक-अर्काको आमनेसामने बसेर छलफल गर्ने जस्ता कार्यहरू गर्छन्, अनि आफ्नो कुरामा सहमत गराउने प्रयास पनि गर्छन् । यस प्रक्रियामार्फत, उनीहरू आफ्ना विचार र ज्ञानलाई व्यवस्थित गर्छन् । उनीहरूले आफूलाई महत्त्वपूर्ण लागेका कुराहरू नोट गर्दै हाउभाउ र अनुहारको अभिव्यक्तिसहित जोसका साथ कुराकानी गर्छन् । यसरी हासिल गरेको त्यो ज्ञानलाई उनीहरूले पूर्ण रूपमा आफ्नै बनाउँछन्, जसले गर्दा यी कुराहरूलाई याद गर्न सजिलो हुन्छ ।
अझ भन्नुपर्दा, उनीहरूले एक-अर्कासँग कुराकानी गर्दा नयाँ ज्ञान र बुद्धि पनि प्राप्त गर्छन् । आँखाले हेर्ने, हातले लेख्ने र मुखले बोल्ने यहुदीहरूको यो सामुहिक अध्ययन विधि शान्त वातावरणभन्दा निकै टाढा छ, तर यसको प्रभाव भने सबैभन्दा उत्कृष्ट छ ।