छोरीको रुवाइको आवाजमा

नवजात शिशुले आफ्नो भावना व्यक्त गर्ने एक मात्र तरिका भनेको रुनु हो । त्यसैले आमा आफ्नो बच्चाको रोदनप्रति संवेदनशील हुन्छिन्, र रातको समयमा सुतिरहेको बेला बच्चा रोयो भने पनि उनी स्वतः बिउँझिन्छिन् । तर संसारमा एउटी यस्ती आमा पनि छिन्, जो सामान्य निद्राबाट मात्र होइन, आफ्नो बच्चा रोएको आवाज सुनेर कोमा (अचेत अवस्था) बाट समेत ब्युँझिएकी थिइन् ।
अमेरिकाको नर्थ क्यारोलिनामा बसोबास गर्ने सेली एन काउलीले दुई वर्षअघि बच्चा जन्माउने क्रममा मस्तिष्कमा अक्सिजनको कमी भएका कारण आफ्नो होस गुमाइन् । छोरीको जन्म भए तापनि आफ्नी श्रीमतीलाई गुमाउनुपर्ने हो कि भन्ने डरले सेलीका श्रीमान् अत्यन्तै चिन्तित हुँदै सेली ब्युँझिने प्रतिक्षामा बसिरहे । तर एक हप्तासम्म पनि उनमा ब्युँझिने कुनै लक्षण देखिएन । आशाको मधुरो किरण पनि हराउँदै गर्दा, एक नर्सको सल्लाहमा शिशुलाई आमाको काखमा राखियो । त्यसपछि नर्सले बच्चालाई रुवाउनका लागि हल्कासँग चिमोटिन् ।
अचम्मको कुरा, जब बच्चाको रुवाइको आवाज अस्पतालको कोठामा गुञ्जियो, तब एउटा चमत्कार भयो । आमाको शरीरका सूचकहरू सक्रिय हुन थाले । केही दिनपछि, आमाको होस फर्कियो ।
“सायद अचेत अवस्थामा पनि छोरीको रुवाइ सुन्ने बित्तिकै मैले आफैसँग लड्नुपर्छ भन्ने सोचें होला । किनभने म मेरी छोरीका लागि आवश्यक व्यक्ति हुँ ।”
सायद एउटी आमाको मस्तिष्कचाहिँ, आफ्नो भन्दा पनि आफ्ना सन्तानको खतरालाई पहिले र बढी महसुस गर्न सक्ने गरी बनेको हुन्छ ।