तपाईंलाई थाहा नहुँदा पनि

बेलायतका एक प्रख्यात कवि रोबर्ट ब्राउनिङद्वारा लिखित नाटकीय कविता ‘Pippa Passes’ की मुख्य पात्र पिपाचाहिँ भेनिसको एउटा रेसम कारखानामा काम गर्ने एक गरिब बालिका हुन् ।
वर्षभरि पाउने एक मात्र विशेष बिदाको दिन, पिपाले गाउँकै सबैभन्दा सुखी र खुसी जीवन जिइरहेका चार जना मानिसहरूको घर अगाडिबाट जाँदै हर्षोल्लासका साथ गीत गाउँछिन् । वास्तवमा, अरू कसैलाई थाहा नभएको पीडादायी समय बिताइरहेका उनीहरू, पिपाको गीत सुनेपछि आजसम्म कहिल्यै महसुस नगरेको शान्ति र स्वतन्त्रता महसुस गर्छन् । आफूले कति महान् काम गरें भन्ने कुराको पत्तो नपाई, पिपा आफ्नो बिदा त्यसै खेर गयो भन्ने कुरामा पछुतो मान्दै सुत्न जान्छिन् ।
हाम्रो आँखाले देख्ने कुरा नै सबथोक होइन । अदृश्य संसारमा के भइरहेको छ भन्ने कुरा हामीलाई थाहा नहुने भएकाले, आँखाले देख्ने कुरा मात्रै सबथोक हो भन्ने निष्कर्ष निकाल्नुचाहिँ गलत हो ।
के तपाईंलाई पनि सुसमाचारको काममा कुनै प्रत्यक्ष परिणाम नदेखिँदा कहिलेकहीँ सङ्कोच वा हीनताबोध महसुस हुन्छ ? वास्तवमा हामीलाई सबै कुरा थाहा नहुन सक्छ । यत्तिकै बितेजस्तो लाग्ने सामान्य दिनहरूमा पनि, कसैको आत्मालाई मुक्ति दिने कुनै ठूलो चमत्कार भइरहेको हुन सक्छ । कसैले कदर गरेन वा बुझिदिएन भन्दैमा निराश हुनुपर्ने वा हिम्मत हार्नुपर्ने कुनै आवश्यकता छैन । मौन र निरन्तर रूपमा सुसमाचारको बाटोमा हिँड्दा छोडिएका सानाभन्दा साना पाइलाहरू पनि परमेश्वरले छर्लङ्ग देख्नुहुन्छ ।