मूल्य थाहा नपाउँदा

पृथ्वीमा लगभग ३,५०,००० प्रजातिका बोटबिरुवाहरू छन्, तर तीमध्ये लगभग ३,००० प्रजाति मात्र मानिसहरूले खानको लागि खेती गर्छन् । यो नै हामीले सजिलै फेला पार्ने बिरुवाहरू, कुल सङ्ख्याको एक प्रतिशतभन्दा कम हुन्छन् भन्ने अर्थ हो ।
घाँसहरूको पनि आ-आफ्नै नाम र विशेषताहरू हुन्छन् । तर तिनीहरूको नाउँ थाहा पाउनुअघि प्रायः मानिसहरूले त्यसलाई झारपातको रूपमा लिन्छन् । शब्दकोशमा झारपातलाई ‘खेती नगरी प्राकृतिक रूपमा उम्रने घाँस, वा बालीहरूलाई राम्ररी हुर्कंन नदिने बोट’ भनेर परिभाषित गरिएको छ ।
तर झारपातमा लुकेको प्रभावकारिता पत्ता लागेपछि त्यसलाई घृणाको नजरले हेरिँदैन, तर बहुमूल्य मानिन्छ । त्यसैले, केही मानिसहरूले झारपातलाई ‘त्यस्ता बिरुवाहरू जसको मूल्य अहिलेसम्म पत्ता लागेको छैन’ भनेर परिभाषित गरेका छन् ।
कुनै कुराको फाइदा थाहा नहुँदासम्म त्यसलाई बेकार ठान्ने बानी बिरुवाहरूको संसारमा मात्र होइन, अन्य क्षेत्रमा पनि छ । नगण्य देखिने साना कीराहरूले पनि पारिस्थितिक प्रणाली कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छन्, र सामान्यतया कसैले ध्यान नदिएको व्यक्तिले पनि महत्त्पूर्ण क्षणमा उल्लेखनीय प्रदर्शन गर्न सक्छन् । यसैकारण हतारमा निर्णय गर्नुको सट्टा लुकेको वास्तविक मूल्य पत्ता लगाउन हामीले आफ्नो दृष्टिकोणलाई फराकिलो बनाउन आवश्यक छ ।