समान पक्षको खोजी

अमेरिकाका जो जिरार्डले १२ वर्षसम्म लगातार कार बिक्री गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाउँ दर्ता गराउन सफल भए । आफूलाई मनपर्ने बिक्रेताबाट ग्रहाकहरूले कार किन्छन् भन्ने कुरामा विश्वस्त भएका जिरार्डले ग्राहक र आफूबीच समानता खोजेर सुमधुर सम्बन्ध कायम गरे, जुन कुरा नै उनको सफलताको रहस्य बन्यो ।
मानिसहरूले प्रायः आफ्नो गृहनगर, रुचि, इच्छा र स्वभाव जस्ता कुराहरू समान भएको व्यक्तिलाई औधी मनपराउँछन् । यसलाई मनोविज्ञानमा ‘समानताको सिद्धान्त’(Principle of Similarity) भनिन्छ । यो कुराचाहिँ वस्तुगत कुराहरूमा लागू हुन्छ तर हामीले “त्यो अवस्थामा मैले पनि तपाईंले झैँ महसुस गरेको थिएँ” वा “तपाईं पक्कै पनि धेरै खुसी हुनुहुन्छ होला” भन्दै अरूप्रति सहानुभूति देखायौं भने त्यसको प्रभाव अझ बढी रहन्छ ।
तर यसको विपरीत मानिसहरूले आफूसँग एउटा कुरा पनि समान नहुने व्यक्तिप्रति घृणा महसुस गर्छन् जसलाई विकर्षण अनुधारणा(repulsion hypothesis) भनिन्छ । उदाहरणको लागि “पानीको आवाजले मलाई शान्त बनाउने भएकोले मलाई वर्षा एकदमै मनपर्छ” भन्ने व्यक्तिलाई “मलाई त यस्तो मौसम मनैपर्दैन” भन्दा अथवा राइनाइटिस(नाकको म्युकस झिल्लीमा भएको सुजन) लागेको व्यक्तिलाई “मेरो घाटीको समस्याको तुलनामा राइनाइटिसको समस्या केही होइन” भन्दै कुराकानी गरियो भने कुनै पनि व्यक्तिसँग नजिक हुन सकिँदैन । बरु उल्टै त्यो व्यक्तिको मनमा घृणा उब्जाउन पुगिन्छ ।
मानिसहरूबीचको फरकपनलाई आदर गर्दै उनीहरूसँग के कुरा मिल्छ भनी पत्ता लगाउनु, केवल व्यापारीहरूका लागि मात्र होइन, तर सबैका लागि सफलताको रहस्य हो ।