जङ्गलको रहस्य

घाँस र रूखहरू भएको घना जङ्गल ! जङ्गलचाहिँ रूखहरू एकत्रित गर्ने क्षेत्र मात्र होइन । हेर्ने आँखा, कुरा गर्ने मुख नभए पनि रूखहरू एक-अर्काको नजिक रहेर कुराकानी र सहयोग गर्दै एकसाथ जिउँछन् ।
क्यानाडास्थित ब्रिटिश कोलम्बिया विश्वविद्यालयमा जङ्गल पारिस्थितिकी प्राध्यापक, सुज्यान सिमार्डले यस तथ्यलाई निश्चित गर्नको निम्ति सउरको बिरुवालाई प्लास्टिकको झोलाले छोपेर त्यसभित्र सुईद्वारा कार्बोन हालिदिइन्, अनि त्यो कार्बोन अरू रूखहरूमा पनि स्थानान्तरण हुन्छ कि हुँदैन भनेर परीक्षण गरिन् । परिणामस्वरूप, सउरको बिरुवाको छेउमा रहेको सल्लाको बिरुवामा पनि कार्बोन मापन भयो । सउरले कसरी सल्लाको बिरुवासम्म कार्बोन पुऱ्याएको होला ?
त्यसको रहस्य जमिनमुनि थियो । जङ्गलको जमिनमुनि माइकोर्राइजल(mycorrhizal)1को एक विशाल सञ्जाल हुने भएकोले रूखहरूले एक-अर्कामा पोषक तत्त्व, रसायन, पानी र कीराविरुद्ध सुरक्षा सङ्केतहरू आदानप्रदान गर्छन् । सञ्जालको मुख्य केन्द्रमा भएको रूखले, तल्लो तहमा धेरै घाम प्राप्त गर्न नसकेका कलिला रूखहरूलाई आवश्यक सामग्रीहरू दिनुको साथै उनीहरूको हेरचाह गर्छ । ठूलो र स्वस्थ रूखचाहिँ माइकोर्राइजल सञ्जालद्वारा सयौँ रूखहरूसँग सम्पर्कमा रहन्छ ।
१. ढुसी (जस्तै लेउ च्याउ) र वनस्पतिबीचको एक सहजीवी सम्बन्ध
यसरी रूखहरूले शान्त मिलाप कायम गरेर कलिला रूखहरूको जीवन दर वृद्धि गर्दै पूरै जङ्गललाई नै हराभरा र स्वस्थ बनाउँछन् ।