रत्नभन्दा पनि अझ मूल्यवान् चीज

कुनै एउटा कपडा पसलमा एक जना स्त्रीले एउटा कोट किनिछन् । घर फर्किएर फेरि त्यो कोट लगाउने क्रममा तिनले त्यसको खल्तीमा एउटा रत्न फेला पारिछन् । त्यो रत्न देखेर ती स्त्री छक्क परिन् ।
“यो कोट मैले किनेकोले, यो रत्न म आफैले राख्दा ठीक होला ।”
“होइन, यो रत्न मेरो नभएकोले मैले यसलाई फिर्ता गर्नुपर्छ ।”
ती स्त्रीको मनमा यी दुइ किसिमका विचारहरूको द्वन्द चल्न थाल्यो ।
दोधारमा परेकी ती स्त्री आफ्नो गाउँको एक बुद्धिमान् मानिसकहाँ गइन् ।
स्त्रीको सबै वृतान्त सुनेपछि बुद्धिमान् मानिसले यसो भनेछन् :
“तिमीले त्यो रत्न किनेकी होइनौ, त्यसैले त्यो साहुजीलाई फिर्ता गर्दा उपयुक्त हुन्छ । तर पसलमा जाँदा आफ्ना बच्चाहरूलाई पनि लिएर जाऊ, त्यसो गर्दा तिमीले आफ्ना बच्चाहरूलाई रत्नभन्दा पनि अझ अमूल्य चीज दिन सक्नेछौ ।”