एक जनालाई बचाउने उद्धार कार्य
गत जून महिनामा, जर्मनीको अल्प्स पहाडी क्षेत्रमा गुफाको अध्ययन गर्ने क्रममा एक जना वैज्ञानिक माथिबाट झरेको ढुङ्गाले लागेर ढले । उक्त दुर्घटना भएको ठाउँचाहिँ जमिनबाट १,००० मिटर मुनि थियो । त्योचाहिँ ४ वटा ६३ तले भवनहरूलाई ठाडो जोडेर राख्दाको जत्तिकै गहिराइ थियो । दुई जना सहकर्मीमध्ये एक जना तिनको साथमा बसे, अनि बाँकी अर्को एक जनाले चाहिँ साँघुरो र भिरालो बाटो हुँदै १२ घण्टामा गुफाबाहिर निस्किएर उद्धारको लागि सहयोग मागे ।

घटना प्रकाशमा आएपछि जर्मन सरकारले पूर्ण जनशक्ति तथा उपकरणहरू परिचालन गऱ्यो । पाँच वटा शिविरहरू स्थापना गरियो, अनि अष्ट्रिया, स्वीट्जरल्याण्ड, इटाली, क्रोएसिया र स्लोभेनिया गरी पाँच देशका ७००भन्दा बढी चिकित्सक तथा विशेषज्ञहरू उद्धार कार्यमा खटिए । गुफाको भित्री बनावट एकदमै जटिल हुनुको साथै खाल्टाखुल्टी र भीरसमेत भएकोले उद्धार कार्य कल्पनाभन्दा बाहिरको थियो, तर उद्धार टोलीले घाइतेलाई स्ट्रेचरमा राखेर अलि-अलि गर्दै माथि ताने । १२ दिनसम्मको अथक प्रयत्नपछि अन्त्यमा उद्धार कार्य सफल भयो । आफ्नो मिसन पूरा गरेका उद्धार टोलीहरू एक-अर्कालाई अङ्कमाल गर्दै हर्षले विभोर भए । उक्त उद्धार कार्यको जिम्मा पाएका टोली प्रमुखले यसो भने, “यूरोपको पहाडी क्षेत्रका उद्धार टोलीले एक चित्तका भएर नयाँ इतिहास रचेका छन् ।”
एक जनालाई बचाउनको निम्ति कुनै कसर बाँकी नराखिएको यस अभूतपूर्व उद्धार कार्यलाई हेरेर जीवनको शुद्धता र मूल्यलाई पुनः एक पटक सोचिहेरौं ।