के देख्नुहुन्छ ?

कुनै एक समयमा मन्दीका कारण एउटा कम्पनी सङ्कटमा पऱ्यो । निराश भएका कर्मचारीहरूले काम गर्ने प्रेरणा नै गुमाए ।
एक दिन, कम्पनीका मालिकले सबै कर्मचारीहरूलाई बोलाएर एउटा सेतो कागज देखाए । त्यो कागजको बीचमा एउटा ठूलो कालो थोप्लो मात्र थियो ।
मालिकले सोधे, “तपाईंहरूले यहाँ के देख्नुभयो ?”
सबै कर्मचारीहरूले एकै स्वरमा “एउटा कालो थोप्लो” भनेर जवाफ दिए ।
कर्मचारीहरूको जवाफ सुनेपछि मालिकले भने,
“के तपाईंहरूले कालो थोप्लोबाहेक यहाँ भएको ठूलो सेतो भाग देख्नुभएन ? अहिले हामीले भोगिरहेको यो दुःख र समस्या पनि यही एउटा कालो थोप्लो जत्रै छ । कालो थोप्लोलाई मात्र हेर्ने क्रममा यो विशाल सेतो भागलाई हेर्न नभुलौं ।”