खेतमा लुकाइएको गाडधन
संयुक्त राज्य अमेरिकास्थित एउटा पार्कको दृश्य खासै सुन्दर देखिँदैन । त्यहाँ शीतलता दिने रूखका छहारीहरू छैनन् । त्यो एउटा बाँझो भूमि हो, तर पनि त्यहाँ प्रवेश गर्ने शूल्क १० डलर हो । यद्यपि प्रत्येक वर्ष ५०,००० भन्दा बढी मानिसहरू त्यहाँ जाने गर्छन् । पार्कभित्र छिर्नासाथ मानिसहरू टाउको निहुराएर भुइँतिर हेर्दै बिस्तारै हिँड्छन् । जताततै जमिन खन्ने क्रममा पसिनाले निथ्रुक्क भिजे पनि उनीहरू कदापि गुनासो गर्दैनन् । यो दृश्यचाहिँ अर्कान्ससको ‘क्रेटर अफ डायमन्ड्स स्टेट पार्क’ भन्ने ठाउँको हो । त्यहाँ मानिसहरूले हिरा भेट्टाए भने, तिनीहरू आफैले त्यो राख्न सक्छन् । वास्तवमा यो नै त्यो ठाउँको विशेषता हो ।

सन् १९०६मा पहिलो पटक एक जना किसानले यो ठाउँमा हिरा फेला पारेका थिए, त्यो समयदेखि अहिलेसम्म यो ठाउँमा ७०,००० भन्दा बढी हिराहरू फेला परिसकेका छन् । त्यसैले वास्तवमा यो ठाउँ एउटा ठूलो हिराको खानी हो । यहाँ बहुमूल्य हिरा फेला पार्ने भाग्यमानी व्यक्तिलाई देख्दा जो कोहीलाई पनि डाह लाग्न सक्छ ।
“स्वर्गको राज्य कुनै एउटा खेतमा गाडी राखिएको गाडधनजस्तो हो, जो एक जना मानिसले भेट्टाएर लुकाइराख्दछ, र आनन्दित भएर ऊ जान्छ र आफूसित भएका सबै बेच्छ, र त्यो खेत किन्छ ।” मत्ती १३:४४
जमिनमा गाडिएको अमूल्य गाडधनलाई फेला पार्नुको आनन्द र उत्साहलाई कुन शब्दले वर्णन गर्न सकिन्छ र ? परमेश्वरबाट स्वर्गीय राज्यको उत्तराधिकार प्राप्त गर्दा पनि ठ्याक्कै त्यस्तै महसुस हुन्छ । हामीले संसारमा लुकेर रहेको गाडधन अर्थात् स्वर्ग भेट्टाएकोमा स्वर्गदूतहरूले पनि हाम्रो ईर्ष्या गर्छन् (१ पत्रुस १:१२)।
त्यसैले हामी सधैँ खुसी होऔं । संसारको कुनै पनि कुरासँग तुलना गर्न नसकिने बहुमूल्य रत्न हामीलाई दिनुभएकोमा परमेश्वरलाई धन्यवाद चढाऔं ।