गोठालोको प्रेम

तब उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: तिमीहरूमध्ये कुन मानिस होला, जसको एक सय भेडामध्ये एउटा हराउँदा उनान्सयलाई वनमै छोडेर हराएको भेडा नपाउञ्जेल त्यसको खोजी गर्दैन ? हराएको भेडा भेट्टाएपछि रमाउँदै त्यसलाई आफ्नो काँधमा राख्छ, र घरमा आएर उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ, र तिनीहरूलाई भन्छ, मसँग रमाओ, किनभने मैले आफ्नो हराएको भेडा पाएको छु । म तिमीहरूलाई भन्दछु, यसरी पश्चात्ताप गर्नु नपर्ने उनान्सय धार्मिक जनहरूका लागि भन्दा पश्चात्ताप गर्ने एक जना पापीको लागि स्वर्गमा अझ बढी आनन्द हुनेछ । लूक १५:३-७
जब एउटा भेडा आफ्नो बथानबाट छुट्टिन्छ, तब त्यसको बाँच्ने सम्भावना निकै कम हुन्छ । भेडाले न आफ्नो बाटो आफै पत्ता लगाउन सक्छ न त आफ्नो सुरक्षा नै गर्न सक्छ । तसर्थ त्यसलाई जुनसुकै बेला पनि हिंस्रक जनावरले आक्रमण गर्न सक्छ । यो कुरा गोठालालाई राम्ररी थाहा हुने भएकोले, उसले बाँकी रहेको ९९ भेडाहरूलाई खुल्ला मैदानमै छोडेर, त्यो हराएको एउटा भेडालाई हतार-हतार खोज्न निस्कन्छ ।
सामान्यतया बथानबाट छुटेका भेडाहरू रोगी वा विद्रोही हुन्छन्, तर यस्तो नगण्य भेडालाई खोज्नका लागि गोठालाहरू अरू आज्ञाकारी भेडाहरूलाई एकलै छोडर पहाड-मैदानमा जान्छन् । यसरी गोठालाले हराएको भेडालाई खोज्न हरप्रयत्न गर्छ । हराएको भेडा भेट्टाएपछि रिसाउनुको सट्टा, गोठालाले ठूलो खुसीयाली मनाउँदै भारी भेडालाई काँधमा बोकेर घर फर्किन्छ र भव्य उत्सव मनाउँछ ।
त्यो जिद्दी र अनाज्ञाकारी भेडाजस्तै हामी पनि नियन्त्रण बाहिर थियौं, तर अहिले हामी संसारले बुझ्न र पाउन नसक्ने परमेश्वरको महान् प्रेमद्वारा मुक्तिको ‘भेडा गोठ’ भित्र सँगै भेला भएका छौं । हामी जस्ता तुच्छ प्राणीहरूलाई यति धेरै अनुग्रह गर्नुभएका परमेश्वरको त्यो अथाह प्रेमलाई हामीले कदापि बिर्सनुहुँदैन । यस वर्ष हामी सबै परमेश्वरलाई प्रसन्न तुल्याउने कार्य गरौं ।