संयुक्त राज्य अमेरिकाको विस्कन्सिन म्याडिसन विश्वविद्यालयले ७~१२ वर्षका बच्चाहरूमा एउटा परीक्षण गऱ्यो । उनीहरूलाई अपरिचित मानिसहरूका अगाडि गणितीय हिसाबहरू हल गर्न लगाइँदा उनीहरूले अत्तालिएर राम्ररी हल गर्न सकेनन् ।
त्यसपछि बच्चाहरूलाई ३ समूहमा विभाजन गरियो । पहिलो समूहलाई आफ्नी आमासँग फोनमा कुराकानी गर्न दिइयो, दोस्रो समूहलाई आफ्नी आमाको तस्वीर हेर्न दिइयो र तेस्रो समूहलाई चाहिँ आफ्नी आमासँगै बस्न दिइयो । त्यसपछि गणितीय हिसाबहरू हल गर्न दिइँदा तीनै वटा समूहका बच्चाहरूमा अक्सिटोसिनको मात्रा ह्वात्तै वृद्धि भएको पाइयो । अक्सिटोसिनचाहिँ घनिष्ठता, स्थिरता र खुशीको भाव जगाउन मद्दत गर्ने एक किसिमको हर्मोन हो । आमाको तस्वीर हेर्दा मात्र पनि बच्चाहरूले आफ्नी आमासँगै भएजस्तो महसुस गरी हिसाबलाई सजिलै हल गर्न सके ।
तर बच्चाहरूले मात्र आफ्नी आमालाई विशेष व्यक्ति ठान्नेचाहिँ होइन । क्यानाडाको टोरन्टो विश्वविद्यालय र बेलायतको विन्चेस्टर विश्वविद्यालयको संयुक्त अनुसन्धान टोलीले औसत उमेर ३५ वर्ष पुगेका २० जना वयस्कहरूमा परीक्षण गरे । उनीहरूलाई आमा, बुबा, प्रसिद्ध व्यक्ति र अपरिचित व्यक्तिको तस्वीरहरू पालैपालो देखाइदिँदै उनीहरूको म्याग्नेटिक रिजोनेन्स इमेजिङ[MRI, Magnetic Resonance Imaging] जाँच गरियो । सहभागीहरूले आफ्नी आमाको तस्वीर हेर्दाखेरि, अनुभूति र भावनाको जिम्मा लिने मस्तिष्कको भाग सबैभन्दा सक्रिय बनेको परिणाम बाहिरियो ।
बाल्य जीवनमा होस् अथवा वयस्क जीवनमा, हाम्रो मस्तिष्कमा विशेष व्यक्तिको रूपमा सदा खोपिनुहुने व्यक्ति नै हाम्री आमा हुनुहुन्छ ।