WATV.org is provided in English. Would you like to change to English?

टिफिन बक्समा प्रेम राखेर

इ सि वन / सउल, कोरिया

485 हेरेको संख्या
FacebookTwitterEmailLineKakaoSMS

म एक युवक हुँ– ऊर्जाले भरिएको प्रभातको शीतजस्तो युवा । तर कहिलेकहीँ यो कुराले मलाई लज्जित तुल्याउँछ, र म मेरो वरपरका मानिसहरूप्रति क्षमाप्रार्थी हुन्छु । किनकि घरमा आमाले खाना बनाइहाल्नुहुन्छ, अनि सियोनमा मभन्दा अग्रज सन्तहरूले मेरो हेरविचार गर्नुहुन्छ । माताले प्रेम लिनुमा भन्दा दिनुमा अझ बढी आशिष् हुन्छ भन्नुभएको छ । तर फर्किहेर्दा ममा चाहिँ प्रेम लिने बानी बसेकोले म लज्जित भएँ ।

जहिलेसुकै होस्, मचाहिँ आफूले पोखिने गरी पाएको प्रेम धेरै मानिसहरूलाई बाँड्न चाहन्थें । गत मार्चमा अन्ततः मैले त्यो मौका पाएँ । हाम्रो सियोनका युवाहरूले ‘वाउ मम(Wow Mom)’ स्वयंसेवा टोली गठन गरेर १८ जना एकल बुज्रुगहरूका लागि टिफिन बक्स तयार गरेर वितरण गर्ने योजना बनायौं ।

सर्वप्रथम हामीले के परिकार बनाउने भनेर निर्णय गर्नुपर्ने भयो । हामीले एकसाथ छलफल गर्दै विचार आदानप्रदान गऱ्यौं, अनि तारेको हरियो फर्सी, धूलो खुर्सानीको लेदोमा मोलेको ददग(एक किसिमको फूल)को जरा र सेफर्डस् पर्स(एक किसिमको बिरुवा)को साथमा भटमासको सूप बनाउने निर्णय गऱ्यौं । बुज्रुगहरूले मन पराउने कोरियाली परिकार यी नै हुन् । परिकार छान्ने समयसम्म हामीहरू एकदम उत्साहित थियौं ।

तर ती परिकार बनाउन लाग्दा हामीहरू चिन्तित भयौं, किनभने तरकारी कसरी काट्ने र पखाल्ने, कुन मसला कति हाल्ने र बुज्रुगहरूको स्वादसँग मिल्ने हो कि होइन इत्यादि कुराहरूबारे हामीहरू अजान थियौं । नाम मात्र पनि अप्ठ्यारो सुनिने ददगको जरा हामीमध्ये कसैले पनि त्यसअघिसम्म नपकाएकाले चिन्ता झन् थपियो ।

हाम्रो प्रयत्न सफल बनोस् भनेर परमेश्वरसमक्ष सहयोगको निम्ति प्रार्थना गरेपछि हामीहरू बजार गयौं । अन्य सन्तहरूको सुझाव लिँदै इन्टरनेटमा स्वादिलो परिकार बनाउने विधि खोजेपछि अन्ततः पकाउने काम सिद्धियो । तातो भात र अन्य परिकारहरू टिफिन बक्समा भरेर प्याक गरेपछि बल्ल हामीले राहतको सास फेऱ्यौं ।

अन्तिममा टिफिन बक्स बोकेर हामीहरू बुज्रुगहरूलाई भेट्न गयौं । ढोका खोलेर पहिलो घरभित्र पस्दाखेरि एक जना हजुरआमाले फुटेर चिरा परेका हातले हाम्रो हात समाउनुहुँदै आँसु झार्नुभयो । उहाँलाई टिफिन बक्सको भन्दा पनि मानिसहरूको बढी तिर्सना लागेजस्तो देखिन्थ्यो । उहाँलाई कति एकलो लाग्छ होला ? त्यो सोचाइले मेरो गला अवरुद्ध भएर आँखा रसायो ।

हामीले भ्रमण गरेका बुज्रुगहरूमध्ये प्रायःजसोले कष्टकर जीवन बिताइरहनुभएको थियो । एक जना हजुरआमाचाहिँ निःसन्तान भएकोले उहाँका सासू-ससुराले घरबाट निकालिदिएका रहेछन् । त्यो समयदेखि दशकौँसम्म उहाँलाई एकलै बस्नुपरेको रहेछ । अर्का हजुरबुबाचाहिँ खुट्टामा समस्या भएर हिँडडुल गर्न नसक्ने भएकोले पीडामा हुनुहुन्थ्यो । अर्की एक जना हजुरआमाले पतिको निधनपछि एकलैले ४ जना सन्तानहरूलाई हुर्काउनुभएको रहेछ, तर हिजोआज उनीहरू कसैले फोनसमेत नगरेको कुरा सुनियो । ती हजुरआमाले बजार घुम्न जाँदाखेरि तरकारी किनेर केही पकाउन मन लागे तापनि बुढेसकाल लागेर पकाउनै बिर्सिएको कुरा बताउनुभयो ।

उहाँहरूसँग कुराकानी गर्दा मैले मेरा बुबा-आमा र मेरो अपरिपक्व समयलाई सम्झिन पुगें । मैले बुबा-आमाबाट सधैँ लिन मात्र खोजें, तर उहाँहरूको निम्ति केही गरिनँ । आत्मिक बुबा-आमालाई पनि मैले त्यसै गरें । व्यस्तताको बहाना बनाएर परमेश्वरको प्रेम सधैँ लिने तर त्यो प्रेम सुनाउनचाहिँ कम प्रयत्न गर्दै पो छु कि भनेर मैले आफैलाई फर्केर हेरें ।

बुज्रुगहरूलाई मैले सानो उपहार दिएँ, तर त्यसको बदलामा मैले ठूलो महसुस पाएकोले म साँच्चै धन्यवादी भएँ । अहिले म, स्वर्गीय पिता-माताप्रतिको सन्तानोचित कर्तव्यलाई कसरी पूरा गर्ने, केद्वारा उहाँहरूलाई खुशी दिलाउने भन्नेबारे विस्तृत रूपमा योजना बनाउँदैछु । म मेरो वरिपरिबाटै अनि सानो र जीर्ण कुराबाटै एक-एक गरेर माताको न्यानो मनद्वारा, दिने प्रेमलाई व्यवहारमा लागू गर्ने सन्तान बन्नेछु ।