एक अद्भुत उडानको रहस्य

समुद्री चराहरूमध्ये सबैभन्दा ठूलो चरा भनेकै आल्बाट्रोस हो । तर जमिनमा भने यो चरा त्यति आकर्षक देखिँदैन । भारी शरीरले लामा पखेटाहरू लतार्दै भद्दा तरिकाले हिँड्ने यी चराहरूको स्वरूप निकै हास्यास्पद देखिन्छ । कतिपयले यसलाई ‘लाटो चरा’ समेत भन्ने गर्छन् ।
तर आकाशमा उड्दा भने यसको कहानी बिल्कुलै फरक छ । आफ्ना दुवै पखेटाहरू दायाँ-बायाँ फैलाउँदा यसको लम्बाई २ देखि ३ मिटरसम्म पुग्छ र यिनै पखेटाहरूको मद्दतले गर्दा यसले सबैभन्दा उच्च र लामो दूरीको उडान भर्न सक्छ । सुरुमा उडान भर्न मात्र अलिकति धौ-धौ पर्ने हो, तर एक चोटि हावामा माथि पुगेपछि, यसले बिना कुनै विश्राम कयौँ दिनसम्म सयौँ किलोमिटरको दूरी तय गर्न सक्छ । आफ्ना लामा पखेटाहरूलाई फैलाएर, पखेटा फिटिक्कै नफड्फडाइ आकाशमा तैरिएको त्यो दृश्य साँच्चै नै लोभलाग्दो देखिन्छ ।
आल्बाट्रसको यो सुन्दर उडान हावा बहने दिशातर्फ रहने भएकाले सम्भव भएको हो । यसले उड्नका लागि आफ्नो शक्ति प्रयोग गर्दैन, तर हावाको बहावसँगै बहन्छ । आकाशमा यसरी उडिरहँदा आल्बाट्रस कहिल्यै थाक्दैन । यसरी उड्दा यसले आफूलाई एउटा ‘लाटो चरा’को रूपमा होइन, तर एउटा अद्भुत चराको रूपमा आफ्नो भव्य गरिमा प्रस्तुत गर्दछ ।
“आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ: उहाँले तिम्रो धार्मिकता प्रभातझैँ ज्योतिसमान र तिम्रो मामिलाको न्याय मध्यदिनको सूर्यसमान पार्नुहुनेछ ।” भजन ३७:५-६
हाम्रो आफ्नो शक्तिले केही गर्न सकिँदैन भन्ने कुरामा निराश नहोऔं । तर परमेश्वरले दिनुभएको पवित्र आत्माको शक्तिमा भर पर्दै, सुसमाचारको पखेटा पूर्ण रूपमा फैलाएर संसारको कुना-कुनासम्म उच्च उडान भरौं ।