
चीनको छुङछिङबाट एक-अर्कासित चिनजान नभएका ५ जना मानिसहरू मिलेर एउटा साङ्गीतिक टोली गठन गरे । उनीहरू डाक्टर, गृहिणी, घरजग्गा खरीद-बिक्री गर्ने एजेन्ट जस्ता फरक पेशा र व्यक्तित्व भएका मानिसहरू थिए, जो सङ्गीतप्रति बिलकुल अनभिज्ञ थिए । जे होस् हातमा गिटार, बेस र मराकाजस्ता वाद्यवादन बोक्दै पेशेवर सङ्गीत प्रशिक्षकबाट सङ्गीत सिकेर उनीहरूले प्रस्तुतिको लागि कडा अभ्यास गरे । प्रस्तुतिमा ‘पुनर्जन्म(Reborn)’ र ‘जीवन महसुस(Feel Life)’ जस्ता अलि गाह्रो नोटका सङ्गीतहरू बजाउने योजना बनाएका ती सदस्यहरूको साङ्गीतिक टोलीको नाम ‘वान् म्यान्स् ब्यान्ड(एक जनाको ब्यान्ड)’ थियो । त्यो ब्यान्डको नामचाहिँ, केही समयअघि मात्र निधन भएको एक जना व्यक्तिबाट आँखा, मृगौला र कलेजो अनुदानस्वरूप पाएका त्यो ब्यान्डका सदस्यहरूको कहानीको आधारमा राखिएको थियो । सार्वजनिक हितको कार्यमा अग्रस्थानमा रहेका ती अनुदानकर्तालाई सङ्गीत असाध्यै मन पर्ने गरेको कुरा सुनेर उनीहरूले सङ्गीतद्वारा समाजलाई सहयोग गर्न त्यसरी साङ्गीतिक टोली गठन गरेका थिए ।
‘वान् म्यान्स् ब्यान्ड’ सञ्चार माध्यममा सुपरिचित हुन थालेको केही समय नबित्दै ‘वान् म्यान्स् बास्केटबल टिम(एक जनाको बास्केटबल टोली)’ देखा पऱ्यो । पेशेवर बास्केटबल अल-स्टार खेलको पहिलो हाफ सकिएपछि उस्तै नामको जर्सी लगाएको कुनै बास्केटबल टोली खेल-मैदानमा प्रवेश गऱ्यो । ३ जना अधबैँसे पुरुष, २२ वर्षीय युवा, १४ वर्षीय विद्यार्थीद्वारा गठित सो टोलीले त्यो दिन अल-स्टार टोलीसँग २ मिनेटसम्म विशेष खेल खेल्यो । बास्केटबल खेलाडी बन्ने सपना बोकेको १६ वर्षको केटोबाट मुटु, फोक्सो र कलेजो अनुदानस्वरूप पाएर आफूचाहिँ स्वस्थ जीवनमा फर्केका उनीहरूले अनुदानकर्ताको सम्झनामा र उसको सपना सट्टामा पूरा गरिदिने मनले कार्यक्रमको तयारी गरेका थिए । दर्शकहरूले उनीहरूको बास्केटबल खेल्ने सीपको पर्वाह नगरी ‘वान् म्यान्स् बास्केटबल टिम’लाई ठूलो तालीद्वारा उदार-चित्तले समर्थन गरे ।
शरीरका अङ्गहरू अनुदानस्वरूप पाएका ती १० जनामध्ये कोही पनि सङ्गीत वा बास्केटबलमा प्रतिभाशाली थिएनन् । आफ्नो शक्तिद्वारा हटाउन नसकिने रोग र अशक्ततासँग लड्दै स्वस्थ जीवन प्राप्त गरेका उनीहरू जो कोहीभन्दा अझ बढी उत्सुक थिए । यसरी नयाँ जीवन दिएका अनुदानकर्तालाई एकदमै खुशी लाग्ने काम गरेर तिनको गुनलाई तिर्न चाहने उनीहरूको ईमानदारिताले मानिसहरूमा ठूलो प्रभाव छोड्यो ।
परमेश्वरले आफ्नो देह र रगतद्वारा नयाँ करार निस्तार-चाड स्थापना गर्नुभई अनन्त मृत्युमा रहेका आफ्ना सन्तानहरूलाई अनन्त जीवनमा सार्नुभयो । यसको निम्ति उहाँले क्रूसको पीडा सहन पनि हिचकिचाउनुभएन र पापको साङ्लोमा बाँधिएका सन्तानहरूले अन्त्यसम्म विश्वासलाई जोगाएर मुक्ति पाऊन् भनी उहाँले तिनीहरूका हृदयमा स्वर्गको आशा रोपिदिनुभयो । जीवनको मुकुटसमेत प्रतिज्ञा गर्नुभएका परमेश्वरको त्यो अनुग्रह साँच्चै असीमित र महान् छ ।
कुष्ठरोग लागेका १० जना मानिसहरू येशूज्यूकहाँ आएर तिनीहरूको त्यो रोग निको पारिदिन उहाँलाई बिन्ती गरे । येशूज्यूले तिनीहरूको बिन्ती सुनिदिनुभयो, तर एक जना सामरीले मात्र फर्केर आई उहाँलाई धन्यवाद चढायो । येशूज्यू दुःखित हुनुभयो, र परमेश्वरलाई महिमा चढाएको त्यो व्यक्तिलाई मात्र मुक्तिको प्रतिज्ञा दिनुभयो (लूक १७:११-१९) ।
हामीलाई नयाँ जीवन दिनुभएका परमेश्वरको अनुग्रहलाई यदि हामीहरू तिर्न चाहन्छौं भने परमेश्वर प्रसन्न हुनुहुने कार्य खोजेर गरौं । त्यसको लागि कुनै विशेष प्रतिभाको आवश्यकता पर्दैन । आफू कमजोर भए पनि परमेश्वरको त्यो अनुग्रहलाई तिर्न प्रयत्न गर्नेलाई परमेश्वरले पवित्र आत्माको शक्ति र पोखिनेसम्मको आशिष् खन्याइदिनुहुनेछ ।