हारूनको दर्जा र मल्कीसेदेकको दर्जा

187,741 भ्यु

बाइबलमा दुई किसिमका पूजाहारी पदको विषयमा वर्णन गरिएको छ, हारूनको दर्जा र मल्कीसेदेकको दर्जा ।

१. हारूनको दर्जा

हारूनको दर्जा भन्नाले पुरानो करारको नियम र व्यवस्थाअनुसार बलि चढाइने पूजाहारी पद हो । हारूनचाहिँ लेवी कुलका भएकाले, हारूनको दर्जालाई ‘लेवीको पद(लेवीको दर्जा)’ पनि भनिन्छ ।

हाम्रो विश्वासका पिता अब्राहामले इसहाक जन्माए, इसहाकले याकूब जन्माए, र याकूबले बाह्र जना छोराहरू जन्माए, जसमध्ये लेवीचाहिँ याकूब र उनकी पत्नी लेआका तेस्रो छोरा थिए ।

याकूबका छोरा योसेफ मिश्रका शासक भएपछि, याकूबको परिवारका सदस्यहरू मिश्रमा बसाइँ सरे र तिनीहरू करीब ४३० वर्षसम्म मिश्रमै रहे । याकूबका लाखौँ सन्तानहरू आफ्नो अगुवा मोशालाई पछ्याउँदै कनानतिर लागे । लाल समुद्र पार गरेपछि इस्राएलीहरू उजाड-स्थानमा प्रवेश गरे, र जब मोशाले सीनै पर्वतमा दश आज्ञाहरू प्राप्त गरे, तब तिनीहरूले दश आज्ञाहरू पालन गर्न पार्थिव पवित्रस्थान निर्माण गरे । त्यो समयमा, मोशाका जेठा भाइ हारून प्रधान पूजाहारी थिए जसको मुख्य कर्तव्य पवित्रस्थानमा परमेश्वरलाई बलिदान चढाउनु थियो । अनि मोशा र हारूनका कुल अर्थात् लेवीका सम्पूर्ण कुल मन्दिरमा सेवा गर्न बोलाइए ।

लेवी कुलका पूजाहारीहरूले मानिसहरूको पाप-क्षमाको लागि भेडा अथवा बाख्रालाई बलिको रूपमा चढाउँथे । हारूनको समयदेखि येशूज्यूले नयाँ करार स्थापना गर्नुभएको समयसम्म अर्थात् १,५०० वर्षको अवधिमा, लेवीका सबै सन्तानहरू [लेवीको कुल] ले पार्थिव पवित्रस्थानमा हारूनको दर्जाअनुसार पूजाहारीको रूपमा सेवा गरे ।

२. मल्कीसेदेकको दर्जा

बाइबलमा हारूनको दर्जा मात्र नभएर ‘मल्कीसेदेकको दर्जा’ पनि छ, जसमा ख्रीष्टलाई मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी भनेर वर्णन गरिएको छ ।

… यो आशा पर्दाभित्रको पवित्रस्थानमा प्रवेश गर्दछ, जहाँ हाम्रा पक्षमा अग्रदूत भएर मल्कीसेदेकको दर्जाअनुसार येशू प्रधान पूजाहारी भई प्रवेश गर्नुभएको छ । हिब्रू ६:१९-२०

त्यसोभए, पहिले मल्कीसेदेक कस्ता व्यक्ति हुन् भन्ने कुरा हेरौं । मल्कीसेदेकचाहिँ येशूज्यू यो पृथ्वीमा आउनुभन्दा २,००० वर्षअघि अब्राहामको समयका मानिस, अर्थात् ख्रीष्टलाई सङ्केत गर्ने व्यक्ति थिए । पुरानो करार बाइबलमा मल्कीसेदेक शब्द केवल दुई ठाउँमा मात्र प्रयोग गरिएको छ, र अब्राहामको समयमा ‘शालेमका राजा’ भनेर वर्णन गरिएको छ । उनी कसरी पूजाहारी बने र ‘शालेम’ कुन क्षेत्रमा पर्छ भन्ने कुराको स्पष्ट अभिलेख छैन ।

यो रहस्यमय व्यक्तित्व मल्कीसेदेकले आफ्नो भतिजा लोतलाई बचाएर युद्धबाट फर्किंने क्रममा अब्राहामलाई रोटी र दाखमद्यद्वारा आशिष् दिए । बाइबलमा मल्कीसेदेकलाई ‘सर्वोच्च परमेश्वरका पूजाहारी’ भनिएको छ ।

कदोर्लाओमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कंदा … अनि शालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए । उनी सर्वोच्च परमेश्वरका पूजाहारी थिए । उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, “स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने सर्वोच्च परमेश्वरबाट अब्रामलाई आशिष् मिलोस् । सर्वोच्च परमेश्वर धन्यका होऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पिदिनुभयो ।” अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए । उत्पत्ति १४:१७-२०

अब्राहामको समयमा, हाबिलको बलिदानको परम्पराअनुसार परमेश्वरलाई पशु बलि चढाइन्थ्यो । तर मल्कीसेदेकले परमेश्वरलाई बलिदानको रूपमा रोटी र दाखमद्य चढाए ।

प्रेरित पावलले मल्कीसेदेकको बारेमा विस्तृत रूपमा बताए । उनले मल्कीसेदेकलाई ‘धार्मिकताका राजा’, ‘शान्तिका राजा’ र ‘सदाकालका पूजाहारी’ भनेर वर्णन गरे । उनले विस्तृत रूपमा यो पनि लेखे कि, इस्राएलका बाह्र कुलहरूबाट दशांश सङ्कलन गर्ने लेवीहरू र लेवी कुलका पिता लेवी आफैंले पनि, अब्राहाममार्फत मल्कीसेदेकलाई दशांश चढाउँथे । पूजाहारी हुनेहरूले विनाशपथ पूजाहारी पद लिएका थिए तर ख्रीष्टचाहिँ शपथसहित पूजाहारी बन्नुभयो (हिब्रू ७:१-२८)।

३. मल्कीसेदेकको दर्जाअनुसार ख्रीष्ट

येशूज्यू यो पृथ्वीमा आउनुभन्दा १,१०० वर्षअघि पवित्र आत्माबाट प्रेरणा पाएका दाऊदले ख्रीष्ट मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको रूपमा आउनुहुनेछ भनेर अगमवाणी गरे ।

परमप्रभुले मेरा प्रभुलाई भन्नुहुन्छ, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ ।” परमप्रभुले सियोनबाट तपाईंको शक्तिशाली राजदण्डको विस्तार गर्नुहुनेछ, … परमप्रभुले शपथ खानुभएको छ, र आफ्नो मन बदल्नुहुनेछैन, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ ।” भजन ११०:१-४

दाऊदद्वारा भजनसंग्रहमा उल्लेख गरिएको ‘प्रभु’ शब्दलाई येशूज्यूले ‘ख्रीष्ट’ भनेर वर्णन गर्नुभयो ।

जब फरिसीहरू भेला भएका थिए, तब येशूले तिनीहरूलाई एउटा प्रश्न गर्नुभयो, “ख्रीष्टको विषयमा तिमीहरू के ठान्छौ ? ऊ कसको पुत्र हो ?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र ।” उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यसोभए दाऊदले आत्मामा प्रेरणा पाएर उसलाई प्रभु भनी कसरी पुकार्न सक्छन् ? उनी भन्छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाका पैतालामुनि राख्दिनँ ।” यदि दाऊदले उसलाई प्रभु भन्दछन् भने, ऊ कसरी तिनको पुत्र हुन्छ र ?” मत्ती २२:४१-४५

दाऊदले भजनसंग्रहको पुस्तकमा उल्लेख गरेका ‘प्रभु’ ‘ख्रीष्ट’ हुनुहुन्छ भनेर येशूज्यूले गवाही दिनुभयो ।

मल्कीसेदेकले अब्राहामलाई रोटी र दाखमद्यद्वारा आशिष्‌ दिएजस्तै येशूज्यूले पनि निस्तार-चाडको समयमा रोटी र दाखमद्यद्वारा मानव-जातिलाई अनन्त जीवनको आशिष्‌ दिनुभयो ।

तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । … तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” मत्ती २६:१७-२८

परमेश्वरले किन १,५०० वर्षदेखि पालना गरिँदैआएको हारूनको दर्जाबमोजिम नभएर फेरि मल्कीसेदेकको दर्जाअनुसार अर्को पूजाहारी खडा गर्नुभएको होला ? माथि उल्लेख गरिएझैँ, हारूनको दर्जाबमोजिम पार्थिव पवित्रस्थानमा चढाइएका बलिदानहरू ख्रीष्टले भविष्यमा स्थापना गर्नुहुने कुराको छाया हो । हारूनको दर्जाअनुसार (लेवीको पूजाहारी पद) पाप-क्षमा पाउन सकिँदैन ।

अब यदि लेवीको पूजाहारी पदद्वारा सिद्धता प्राप्त हुँदो हो त (किनभने यसैको आधारमा मानिसहरूलाई व्यवस्था मिलेको थियो) हारूनको दर्जाबमोजिम नै नभएर फेरि मल्कीसेदेकको दर्जाअनुसार अर्को पूजाहारी खडा हुनलाई के जरूरत पर्थ्यो ? हिब्रू ७:११

अब्राहामले मल्कीसेदेकलाई चढाएको दशांशले मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको रूपमा आउनुभएका येशूज्यूलाई चढाइने भेटीलाई सङ्केत गर्दछ । जसरी मल्कीसेदेकले रोटी र दाखमद्यद्वारा आशिष् दिँदा अब्राहामले सबै कुराको दशांश दिए, त्यसरी नै ख्रीष्टमा रहेका परमेश्वरका मानिसहरूलाई मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको रूपमा आउनुभएका ख्रीष्टले निस्तार-चाडको रोटी र दाखमद्यद्वारा अनन्त जीवनको आशिष् दिनुहुन्छ ।

४. निष्कर्ष

हारूनको दर्जाचाहिँ पूजाहारी पद हो, जसअनुसार पूजाहारीहरूले परमेश्वरलाई भेडा र बाख्रा जस्ता पशुहरूको बलिदानको रगत चढाउँथे । तर मल्कीसेदेकको दर्जाचाहिँ एउटा यस्तो पूजाहारी पद हो, जसअनुसार रोटी र दाखमद्यद्वारा बलिदान चडाइन्छ ।

सुरुको मण्डलीका सन्तहरूले मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारी हुनुभएका ख्रीष्टमा विश्वास गरी नयाँ कराका चाडहरू पालन गरेकाले पूर्ण रूपमा पाप-क्षमा पाउन सके । तर येशूज्यू स्वर्ग उचालिनुभएपछि र प्रेरितहरूले यो संसार छोडेपछि, मण्डलीभित्र शैतान पस्यो र ई.सं. ३२५मा निस्तार-चाड लगायत नयाँ करारका सबै चाडहरू रद्द गरिदियो । निस्तार-चाड रद्द गर्नुचाहिँ बलिदान नै रद्द गर्ने कार्य थियो, जुनचाहिँ ख्रीष्टले मल्कीसेदेकको दर्जाअनुसार आफ्ना मानिसहरूलाई रोटी र दाखमद्यद्वारा अनन्त जीवनको आशिष् दिनको निम्ति चढाउनुहुन्थ्यो । तसर्थ, मल्कीसेदेकको दर्जाअनुसार चढाइएको बलिदान रद्द भएदेखि कसैले पनि अनन्त जीवनको आशिष् पाउन सकेन ।

अब संसार चाँडै नष्ट हुँदैछ । यस्तो अन्त्यको समयमा मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारी देखा नपरेसम्म कसले मुक्ति पाउन सक्छ र ? तसर्थ अन्त्यका दिनहरूमा, मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीले मल्कीसेदेकको चिन्ह निस्तार-चाडको रोटी र दाखमद्य लिएर आउनैपर्छ ।

सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू— छिप्पिएको मद्य, असल-असल स्वादिष्ट थोकहरू, सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ । … उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । … त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र उहाँले नै हामीलाई बचाउनुभयो । उहाँ नै परमप्रभु हुनुहुन्छ, उहाँमाथि हामीले भरोसा गऱ्यौं । उहाँले गर्नुभएको उद्धारमा हामी खुशी होऔं र रमाऔं ।” यशैया २५:६-९