WATV.org is provided in English. Would you like to change to English?

गेहेन्ना

1253 हेरेको संख्या

१. ठाउँको नाउँ

हिब्रू भाषामा ‘गे-हिन्नोम’ (हिन्नोमको बेँसी) र ग्रीक भाषामा ‘गेहेन्ना’ भनिने शब्द प्राचीन यरूशलेमको दक्षिण-पूर्वमा अवस्थित एउटा सानो बेँसीको नाउँ हो । यो ठाउँचाहिँ इस्राएलका राजाहरूको समयमा, प्रजाहरूले साना बालबालिकाहरूलाई आगोमा बलि गरेर आफ्नो देवतालाई अर्पण गर्ने कुख्यात ठाउँ थियो ।

प्राचीन समयमा, इस्राएलीहरूले अज्ञात देवता मोलोख(साँढे आकारको एक मूर्ति)लाई बलि चढाउने गर्थे । त्यो साँच्चै अति घिनलाग्दो कार्य थियो: तिनीहरूले फलामको मूर्ति बनाएर त्यसलाई आगोमा रातो नहोउञ्जेल तताउँथे, र बेसरी तातिएको फलामे मूर्तिको दुवै हातमा आफ्ना कलिला छोरा-छोरीहरूलाई बलि गर्थे ।

“यहूदाका मानिसहरूले मेरो दृष्टिमा दुष्ट काम गरेका छन्, परमप्रभु भन्नुहुन्छ … आफ्ना छोराछोरीहरूलाई आगोमा बलि गर्न बेन–हिन्नोमको बेँसीमा तोपेतका अल्गा ठाउँहरू तिनीहरूले बनाएका छन् । यस्तो आज्ञा मैले दिएको थिइनँ, न त त्यो कुरा मेरो मनमा उब्जेको थियो ।” यर ७:३०-३१

इस्राएलीहरूको त्यस्तो कार्यचाहिँ तिनीहरूलाई मोल तिरेर छुटाउनुभएका परमेश्वरविरुद्धको कार्य थियो । उक्त कार्यले तिनीहरूमाथि परमेश्वरको क्रोध ल्यायो । परमेश्वरले योशियाह राजामार्फत तिनीहरूको त्यस्तो घिनलाग्दो कार्य रोक्न लगाउनुभयो, अनि त्यस्तो दुष्ट कार्य फेरि कहिल्यै नदोहोऱ्याउनू भनी आज्ञा दिनुभयो ।

मोलोख(कुनै देवताको नाउँ)को निम्ति कसैले पनि आफ्ना छोरा वा छोरीलाई होम गर्न प्रयोग नगरोस् भनी बेन-हिन्नोमको बेँसीमा भएको तोपेतलाई तिनले(योशियाह राजाले) अपवित्र तुल्याइदिए । २ राज २३:१०

योशियाह राजाले बेन-हिन्नोममा गरिएको घिनलाग्दो बलिलाई रोकिदिएपछि इस्राएलीहरूले त्यो ठाउँलाई घृणा गर्न थाले, र त्यसलाई फोहोर जलाउने ठाउँ तुल्याए । तिनीहरूले फोहोरहरू मात्र होइनकि मारिएका तर अन्त्येष्टि नगरिएका अपराधीहरूका लाशहरू र पशुहरूका हड्डीहरूसमेत त्यहाँ जलाउँथे । पछि गएर बेन-हिन्नोमको बेँसी फोहोर जलाउने ठाउँको रूपमा चर्चित भयो, र अपराधीहरूका लाश जलाउने प्रसिद्ध ठाउँ बन्न पुग्यो । यही बेन-हिन्नोमको बेँसीलाई ग्रीक भाषामा ‘गेहेन्ना’ र अङ्ग्रेजीमा ‘हेल’(Hell) भनेर अनुवाद गरियो ।

“यदि तिम्रो हातले तिमीलाई बाधा दिन्छ भने त्यसलाई काटिदेऊ । दुई हात भएर नरक(गेहेन्ना)को ननिभ्ने आगोमा जानुभन्दा डूँडो भएर जीवनमा पस्नु तिम्रो निम्ति असल हो ।” मर्क ९:४३

“तर कोदेखि डराउनुपर्छ, म तिमीहरूलाई चेताउनी दिनेछु: तिनैसँग डराउनुपर्दछ जससँग शरीरलाई मारेपछि नरक(गेहेन्ना)मा फालिदिने शक्ति छ । म तिमीहरूलाई भन्दछु, तिनीदेखि नै डराओ ।” लूक १२:५

“सर्पहरू, साँभे सर्पका बच्चा हो, तिमीहरू नरक(गेहेन्ना)को दण्डदेखि कसरी उम्कनेछौ ?” मत्ती २३:३३

२. गेहेन्ना र नरक

येशूज्यूले मृत्युपश्चात् हुने इन्साफको बारेमा वर्णन गर्नुहुँदा गेहेन्ना शब्द उल्लेख गर्नुको कारण के होला ? त्यो नै हामीलाई स्वर्गीय नियम र सिद्धान्तहरू महसुस गराउनको निम्ति हो ।

येशूले तिनलाई जवाफ दिनुभयो … “मैले तिमीहरूलाई पृथ्वीका कुरा भनें, र पनि तिमीहरू विश्वास गर्दैनौ, त तिमीहरूलाई स्वर्गका कुरा बताएँ भने कसरी विश्वास गर्न सक्छौ ?” यूह ३:१०-१३

येशूज्यूले दिनुभएको यो वचनलाई ध्यानपूर्वक हेर्ने हो भने येशूज्यूले हामीलाई स्वर्गका कुराहरू जानकारी दिन चाहनुहुन्छ भनी जान्न सकिन्छ । तर यदि येशूज्यूले आत्मिक संसारको बारेमा हामीलाई जस्ताको तस्तै वर्णन गरिदिनुभयो भने हामीले त्यो कुरालाई बुझ्न सक्नेछैनौं, स्वीकार गर्न पनि सक्नेछौं । स्वर्गमा पाप गरेर यो पृथ्वीमा धपाइएका पापी हामीहरूले आत्मिक संसारमा घट्ने कुराहरू हेर्न, सुन्न र महसुस गर्न पनि सक्दैनौं । त्यसैले येशूज्यूले यो पृथ्वीको व्यवस्था र सिद्धान्तहरूद्वारा आत्मिक संसारका कुराहरूको बारेमा वर्णन गरिदिनुभयो । पृथ्वीका कुराहरू स्वर्गका कुराहरूको नकल र छाया हुन् (हिब्रू ८:५) ।

अपराधीहरूका लाश जलाउने ‘फोहोर भस्मीकरण क्षेत्र’मार्फत येशूज्यूले पापी आत्माहरू फ्याँकिने अग्नि-कुण्डको अस्तित्व जानकारी दिनुभयो । यदि येशूज्यूले यरूशलेम सहरभन्दा बाहिर अवस्थित फोहोर जलाउने ठाउँ गेहेन्नाको बारेमा नै बताउनुभएको भए व्यवस्थाका पण्डितहरू र फरिसीहरूसँग असम्बन्धित विषय हुन जान्थ्यो । किनकि यरूशलेम सहरभन्दा बाहिर अवस्थित गेहेन्नाचाहिँ अपराधीहरूको लाश जलाउने ठाउँ थियो, अनि समाजमा प्रतिष्ठित मानिएका व्यवस्थाका पण्डितहरू र फरिसीहरू मरे भने तिनीहरूका लाश जलाउने नभएर गाड्ने गरिन्थ्यो ।

“तिनैसँग डराउनुपर्छ जससँग शरीरलाई मारेपछि नरक(गेहेन्ना)मा फालिदिने शक्ति छ” भनिएको लूका १२:५को वचनमा “जससँग नरकमा फालिदिने शक्ति छ” भनेर कसलाई जनाइएको होला ? नि:सन्देह परमेश्वरलाई जनाइएको हो । शरीरलाई मारेपछि गेहेन्नाजस्तो नरकमा फालिदिने शक्तिचाहिँ केवल परमेश्वरमा छ । तसर्थ येशूज्यूले भन्नुभएको गेहेन्नाचाहिँ यो पृथ्वीको गेहेन्ना होइनकि आत्मिक संसारमा पाप गर्नेहरूलाई भस्म गरिने अग्नि-कुण्ड(आत्मिक गेहेन्ना) हो ।

३. दियाबलस फालिने अग्नि-कुण्ड

तिनीहरूलाई बहकाउने त्यो दियाबलस आगो र गन्धकको कुण्डमा फालियो, जहाँ त्यो पशु र झूटो अगमवक्ता पनि थिए । त्यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्नेछन् । प्रका २०:१०

प्रेरित यूहन्नाले प्रकाशमा दियाबलस र झूटा अगमवक्ताहरू आगो र गन्धकको कुण्डमा फालिएका र सदासर्वदै यातना भोगेका कुरा देखे । तर हामीलाई थाहा भएजस्तै दियाबलसचाहिँ शारीरिक होइनकि आत्मिक अस्तित्व हो । यसले, आत्मामा रहेको दियाबलसलाई फालिने र यातना दिइने त्यो अग्नि-कुण्ड पनि छ भन्ने अर्थ बुझाउँछ नि, होइन र ? अपराधीहरूको लाश भस्म गरिने फोहोर भस्मीकरण क्षेत्र गेहेन्नामार्फत, येशूज्यूले दियाबलस लगायत पाप गर्ने आत्माहरू फालिने अग्नि-कुण्ड पनि छ भन्ने कुरा जानकारी दिनुभयो ।

४. पाप गरेका आत्माहरू फालिने अग्नि-कुण्ड

कतिपय मानिसहरू दियाबलस फालिने अग्नि-कुण्ड छ, तर मानिसको आत्मा फालिने त्यस्तो अग्नि-कुण्ड छैन भनेर जिद्दी गर्ने गर्छन् । तर बाइबलमा चाहिँ यस प्रकारले लेखिएको छ ।

“जब मानिसको पुत्र सारा स्वर्गदूतहरूसँग आफ्नो महिमामा आउनेछ … उसले भेडाहरूलाई आफ्नो दाहिनेपट्टि, र बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ … त्यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्नेछन्, ‘श्रापित मानिस हो ! मबाट दूर होओ, र दियाबलस र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्तको आगोमा जाओ’ … तब यिनीहरू अनन्त दण्डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्’ ।” मत्ती २५:३१-४६

अन्त्यको दिनमा, उद्धार नपाउनेहरू परमेश्वरको देब्रेपट्टि राखिनेछन् । त्यसपछि तिनीहरू जाने ठाउँ कहाँ होला ? उद्धार नपाएकाहरूले कसलाई पछ्याउनेछन् ? बाइबलमा “दियाबलस र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्तको आगोमा तिनीहरू फालिनेछन्” भनेर लेखिएको छ ।

उद्धार नपाएकाहरू जाने अग्नि-कुण्डचाहिँ भौतिक अग्नि-कुण्ड होइन । आत्मिक अस्तित्व शैतान अग्नि-कुण्डमा फालिने भएकोले त्यो नै वास्तवमा आत्मिक गेहेन्ना(नरक: अग्नि-कुण्ड) हो । “जुन कुराले कुनै मानिसलाई जित्छ त्यही कुराले त्यसलाई दास बनाउँछ” (२ पत्र २:१९) भन्ने वचनजस्तै दियाबलसको दास बनेकाहरूले तिनीहरूका मालिक दियाबलसलाई अग्नि-कुण्डसम्मै पछ्याउनेछन् । यो नै आत्मिक संसारको नियम हो ।

५. दियाबलसको भूमिका

हामीहरू शारीरिक मृत्युदेखि होइनकि शारीरिक मृत्युपछि आत्माले यातना पाउने आत्मिक गेहेन्नादेखि डराउनुपर्छ । दियाबलसचाहिँ अनन्त दण्डको भागीदार भएकोले त्यसले एक आत्मा भए पनि नरकतिर लैजान सारा संसारलाई बहकाइरहेको छ (प्रका १२:७-९) ।

एकलै नरक जान एकदमै डर लागेकोले होला, दियाबलसले धेरै सहकर्मीहरू बटुलिरहेको छ । परमेश्वरसित बदला लिन खोजेजस्तै गरेर त्यसले चुनिएकाहरूलाई समेत नरकतिर खिँच्न कसलाई भेट्टाऊँ र खाइहालूँ भनेर गर्जने सिंहजस्तै खोजिरहेको छ । अहिले पनि, धेरै आत्माहरू परमेश्वरकहाँ आउन नसकून् भनेर त्यस विश्वासघातीले सक्दो प्रयत्न गरिरहेको छ, अनि परमेश्वरका चुनिएका प्रजाहरूलाई नरकमा लैजान जोडका साथ अन्तिम प्रयास गरिरहेको छ ।  

६. दियाबलसको विरोध गर

अन्त्यको समय जति नजिकिँदैजान्छ, दियाबलसको दुष्प्रयास झन्-झन् क्रियाशील हुँदैजान्छ । परमेश्वरको प्रेम पाएका हामीहरूलाई दियाबलसले मन पराउँदैन, र सकेसम्म सबै आत्माहरूलाई परमेश्वरबाट अलग गराउन खोज्छ । परमेश्वरको अन्तिम आगमन नजिक भएको यो समयमा, हामीले कसरी आफूलाई दियाबलसबाट बचाउने होला ? कसो गरेमा आफ्ना दाजुभाइ, दिदीबहिनीहरूलाई दियाबलसबाट बचाउन सकिन्छ होला ? दियाबलससँगको भीषण युद्धमा विजय प्राप्त गर्ने तरिका के होला ?

भनिन्छ, “सर्वोत्तम प्रतिकार नै आक्रमण हो ।” यदि कुनै व्यक्ति दियाबलसको आक्रमणबाट तर्किन खोज्छ अथवा ‘सुरक्षित छु भने ठीकै छ’ भन्ने सोचाइ लिन्छ भने त्यो व्यक्ति नै दियाबलसको पहिलो निशाना बन्न पुग्छ । किनभने यस्तो व्यक्तिलाई नै दियाबलसले सबैभन्दा बढी रुचाउँछ । तसर्थ दियाबलसको विरोध गरेमा मात्र त्यसमाथि विजय प्राप्त गर्न सकिन्छ ।

यसकारण आफैलाई परमेश्वरको अधीनमा राख । दियाबलसको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ । परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ … याक ४:७-८

आफूलाई परमेश्वरको अधीनमा राख्नु नै दियाबलसको विरोध गर्नु हो, अनि दियाबलसको विरोध गर्नु नै परमेश्वरको नजिक आउनु हो । दियाबलस सबैभन्दा डराउने कुरा नै प्रेम हो । शैतानको साङ्लोमा बाँधिएका आफ्ना दाजुभाइ, दिदीबहिनीलाई बचाउने एकमात्र बाटो भनेकै परमेश्वरले दिनुभएको हतियार अर्थात् प्रेमद्वारा परमेश्वरको नजिक रहेर दियाबलसको विरोध गर्नु हो । परमेश्वरको प्रेममा रहेर दियाबलसको विरोध गर्ने सन्तहरूका निम्ति परमेश्वरले तयार गर्नुभएको स्वर्ग-राज्यले पर्खिरहेको हुनाले ती सन्तहरू नरकको यातना र कष्टदेखि किञ्चित् डराउनुपर्दैन ।

तर उद्धार नपाएकाहरू फालिने नरकको यातना साँच्चै कति दर्दनाक होला ! शरीरको मृत्यु त कति डरलाग्दो हुन्छ भने आत्माको मृत्युचाहिँ झन् कति दर्दनाक होला !

दृश्य संसार र अदृश्य संसार लगायत सारा संसारका प्रभु र न्यायाधीश हुनुभएका परमेश्वरमा आज्ञाकारी भएर मुक्तिको निम्ति सक्दो प्रयत्न गर्ने हामीहरू हुनुपर्छ ।