निस्तार-चाड र परमेश्वरको छाप

220 हेरेको संख्या

अहिले संसारमा चारैतिर असंख्य विपत्तिहरू झरिरहेका छन् : राष्ट्र-राष्ट्रबीचको युद्ध, जातीय युद्ध, आतङ्क, अनिकाल, भूकम्प र मौसम परिवर्तनले ल्याएको खतरनाक ठण्डी, गर्मी अनि बाढी । जब यस्ता विपत्तिहरू आइलाग्छन्, तब कसलाई पुकार्ने अथवा कसो गर्ने भन्ने कुरा थाहा नपाएर मानिसहरू डरले थरथर काँप्न थाल्छन् ।

भविष्यमा झर्ने विपत्ति अनि विपत्ति झर्दा मानिसहरूले अपनाउने उपायको विषयमा बाइबलमा पहिल्यै अगमवाणी गरिएको थियो ।

“तिनीहरूले चिहानको गहिराइमा खनेर गए तापनि मेरो हातले तिनीहरूलाई त्यहाँबाट तानेर ल्याउनेछ । तिनीहरू माथि स्वर्गमा उक्ले तापनि, … तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि, … तिनीहरू मदेखि समुद्रको पीधमा लुके तापनि …” आमो ९:२-९

माथिको अगमवाणीमा उल्लेख गरिएजस्तै, मानव-जातिले सहनै नसक्ने यस्ता भयानक विपत्तिहरू पृथ्वीमा झर्ने भएकोले तिनीहरूले लुक्नको निम्ति ठाउँ खोजिरहेका छन् । माथिको अगमवाणीचाहिँ २,८०० वर्षअघिका आमोस अगमवक्ताको युगको विषयमा गरिएको होइनकि अन्तिम इन्साफ अर्थात् परमेश्वरको महा र डरलाग्दो दिनमा घट्ने घटनाहरूको विषयमा गरिएको अगमवाणी हो ।

मानिसको उपायद्वारा बच्न नसकिने अन्तिम विपत्ति

विज्ञान-प्रविधिको उच्च विकास भएको वर्तमान युगमा जिइरहेका आधुनिक मानिसहरू, आइरहेको विपत्ति र मानव-जीवन समाप्त हुने कुराले डराइरहेका छन्, र विपत्तिबाट बच्न विभिन्न उपायको खोजीमा छन् । पृथ्वीलाई कैयौँ पटकसम्म ध्वस्त पार्न सक्ने क्षमता भएका परमाणु हतियारको त्रासले मानिसहरू जमिनमुनि, समुद्रको पीधमा अथवा पृथ्वी बाहिरको ग्रहहरूमा शरण लिन सम्पूर्ण प्रयत्न गरिरहेका छन् । समुद्रको पीधमा लुक्नको निम्ति पनडुब्बी जहाजहरू, अन्तरिक्षमा उक्लनको निम्ति यानहरू जस्ता विभिन्न उपायहरूको छलफल भइरहेको छ । कुनै एक प्रेस विज्ञप्तिअनुसार, अमेरिकाले ह्वाइट हाउस नजिकको माउन्ट वेदरमा भूमिगत सहरहरू बनाएको छ । आपत्कालीन अवस्थाका लागि भनेर विभिन्न ठाउँहरूमा ९७ वटा भूमिगत सहरहरू बनाइएका छन् ।

यद्यपि, आधुनिक विज्ञानका तरिकाहरू अपनाए तापनि, परमेश्वरको क्रोधबाट एक जना पनि उम्कनेछैन भनेर बाइबलमा भनिएको छ । फेरि अन्तिम विपत्तिचाहिँ कुनै सीमित क्षेत्रमा मात्र आउने होइनकि पृथ्वीका सबै ठाउँहरूमा आउनेछ भनेर लेखिएको छ ।

“किनकि यसरी नै सारा पृथ्वीमा वास गर्ने सबैमाथि यो आइपर्नेछ ।” लूक २१:३५

“पूरै पृथ्वी उजाड हुनेछ र पूर्ण रूपमा लूटपीट गरिनेछ । … त्यो पृथ्वीमा र जाति-जातिहरूमा हुनेछ ।” यशै २४:३-१३

अब, संसारका सबै जातिहरूमा विपत्ति कसरी झर्छ भन्ने कुरा थाहा पाऔं ।

“तर त्यही वचनले भक्तिहीन मानिसको इन्साफ र विनाशका दिनसम्मको लागि अहिलेको आकाश र पृथ्वी आगोको निम्ति साँचिराखिएका छन् । … तर प्रभुको दिन त चोरजस्तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्लिनेछन्, र पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन् ।” २ पत्र ३:७-१०

बाइबलमा परमेश्वरले इन्साफ गर्न आगोको प्रयोग गर्नुहुनेछ भनिएको छ । त्यसैले सारा संसारमाथि आइपर्ने विपत्ति भनेकै आगो हो । जब त्यो दिन आउनेछ तब आकाश बितिजानेछ, र आगोको रापले सबै थोक जलेर भस्म हुनेछन् । त्यो दिन कष्टको दिन हुनेछ । योद्धाहरूसमेत डरले काँप्नेछन्, र धुरुधुरु रुनेछन् ।

तर त्यस्तो डरलाग्दो दिन आए तापनि परमेश्वरले विपत्तिबाट बच्ने बाटो तयार गर्नुभएको छ । परमेश्वरले हामीलाई मुक्तिको मार्ग थाहा दिनुभएको छ । हामीले त्यो मार्ग वैज्ञानिकहरूको उत्तम-प्राविधिक उपकरणहरूद्वारा होइनकि केवल बाइबलद्वारा मात्र पत्ता लगाउन सक्छौं ।

विपत्तिबाट बचाउने परमेश्वरको प्रतिज्ञा समाविष्ट निस्तार-चाड

जस्तोसुकै विपत्तिबाट बचाउने परमेश्वरको प्रतिज्ञा समाविष्ट वचनलाई एक चोटि ध्यानपूर्वक हेरौं ।

“ …यो परमप्रभुको निस्तार-चाड हो । त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु … तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ । जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन । …” प्रस १२:११-१४

प्रस्थानको समयमा, मिश्रमा पहिले जन्मेकाहरूलाई नाश गर्ने विपत्ति झारिँदा निस्तार-चाड मानेका इस्राएलीहरूका घरहरूमा भने कुनै विपत्ति झरेन । अर्को शब्दमा भन्नुपर्दा, विपत्ति तिनीहरूबाट पार भएर गयो । यसरी निस्तार-चाड (ग्रीक भाषामा पास्का, हिब्रूमा फेसाह)ले ‘विपत्ति पार भएर जान्छ’ भन्ने अर्थ बोकेको छ ।

यस्तो इतिहासचाहिँ वास्तवमा हाम्रो चेताउनीको निम्ति लेखिएको हो, जसमाथि युग-युगको अन्त्य आइसकेको छ । अविश्वासी इस्राएलीहरूले निस्तार-चाडको शक्तिलाई विश्वास गरेनन् । तर यहूदा देशले भने निस्तार-चाडलाई अत्यन्तै महत्त्वपूर्ण ठानेर उक्त चाड माने । यसरी इस्राएल र यहूदा देशको इतिहासद्वारा हामीले निस्तार-चाड कति महत्त्वपूर्ण र बहुमूल्य छ भन्ने कुरा जान्न सक्छौं ।

परमप्रभुको मन्दिर मर्मत र पुनर्स्थापन गरिँदा यहूदाका राजा हिजकियाले मन्दिरमा भेट्टाएका करारका सम्पूर्ण वचनहरू पढे । तिनले परमेश्वरको करारको महत्त्व थाहा पाएपछि लामो समयसम्म नमनाइएको निस्तार-चाड, यहूदा र इस्राएलका सबै मानिसहरूले मानून् भनेर समाचारवाहकहरू पठाए । त्यस बेला समाचारवाहकहरूले “निस्तार-चाड मान्न यरूशलेममा आओ” भन्ने राजाको आदेश लिएर जाँदा उत्तर इस्राएलका मानिसहरूले तिनीहरूको गिल्ला र हाँसो गरे, र केही वर्षपछि उत्तर इस्राएल अश्शूरद्वारा नष्ट भयो (२ राज १८:९-१२) । तर यहूदाले चाहिँ निस्तार-चाड पवित्र रूपमा मानेकाले शक्तिशाली अश्शूरीहरूलाई परमेश्वरको महान् शक्तिद्वारा पराजित गर्न सकेका थिए (२ इति ३०:१-२७; २ राज १८:१३; १९:३७) ।

यी अन्त्यका दिनहरूमा पनि, डरलाग्दा विपत्तिहरू भोग्ने समूह र परमेश्वरको सहयोगद्वारा विपत्तिबाट बच्ने दुई समूह देखा पर्नेछन् भनेर बाइबलमा जानकारी दिइएको छ ।

“यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखें … जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें …“हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर ।” प्रका ७:१-४

अन्तिम विपत्तिबाट बच्न सकिने एकमात्र बाटो भनेको नै परमेश्वरको छाप प्राप्त गर्नु हो । त्यसोभए परमेश्वरको छाप भनेको के होला ? निस्तार-चाडको थुमाको रगतचाहिँ परमेश्वरका मानिसहरूलाई अन्तिम विपत्तिबाट बचाउने चिन्ह हुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ । अर्को शब्दमा भन्नुपर्दा, निस्तार-चाडको थुमाको रगत नै परमेश्वरका मानिसहरूलाई बचाउने ‘परमेश्वरको छाप’ हो । प्रस्थानको समयमा, इस्राएलीहरूले १ वर्ष भएको निस्तार-चाडको थुमाको रगत तिनीहरूका ढोकाको चौकोस र माथिल्लो भागमा लगाएर त्यसको मासु खाई पहिले जन्मेकाहरूलाई नाश गर्ने डरलाग्दो विपत्तिबाट बचेका थिए । पुरानो करारको निस्तार-चाडको थुमाले नयाँ करारमा येशूज्यूलाई सङ्केत गर्दछ ।

“… हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ । यसकारण हामी … अखमिरी रोटीले चाड मनाऔं ।” १ कोर ५:७-८

निस्तारको थुमा हुनुभएका ‘येशू ख्रीष्टको रगत’विना कोही पनि अन्तिम विपत्तिबाट बच्न सक्दैन । हानि गर्ने अख्तियार दिइएका स्वर्गदूतहरूले बतास(युद्ध)लाई छोडिदिँदा डरलाग्दा विपत्तिहरू पृथ्वीमा झर्नेछन् (प्रका ७:१-३) भनिएको छ । आफ्ना प्रजालाई अन्तिम विपत्तिबाट बचाउन परमेश्वरले आफ्ना सन्तानहरूका निधारमा आफ्नो ‘मोहोर’ लगाउनुहुन्छ । ‘परमेश्वरको छाप’ नै वास्तवमा परमेश्वरका मानिसहरूलाई विपत्तिबाट बचाउने मुक्तिको चिन्ह हो ।

“र त्यसलाई भन्नुभयो, “यरूशलेम सहरका चारैतिर गएर त्यसमा गरिएका सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निधार-निधारमा एउटा चिन्ह लगा । … बूढा मानिस, तरुण-तरुणी, स्त्री र बालकहरू सबैलाई खतम पार, तर निधारमा त्यो चिन्ह भएको कसैलाई पनि नछोओ । मेरो पवित्रस्थानदेखि नै सुरु गर ।” यसैले तिनीहरूले मन्दिरको सामुन्ने भएका धर्म-गुरुहरूदेखि नै यो काम सुरु गरे ।” इज ९:४-६

परमेश्वरले विनाशक स्वर्गदूतहरूलाई कोदेखि सुरु गर भनेर आदेश दिनुभयो त ? निधारमा परमेश्वरको छाप अर्थात् निस्तार-चाडको थुमाको रगत नभएका झूटा मण्डलीका धर्म-गुरुहरूदेखि नै सुरु गर भन्नुभयो । बाइबलका अगमवाणीहरूलाई विचार गरिहेर्दा, अहिले हामीहरू अन्तिम विपत्ति झारिने युगमा जिइरहेका छौं भन्ने कुरा थाहा हुन्छ । परमेश्वरले हामी, उहाँका सन्तानहरूलाई विपत्तिबाट बच्न सकिने एकमात्र तरिका भनेको नै ‘परमेश्वरको छाप’ प्राप्त गर्नु हो भन्ने कुरा बोध गराउँदैहुनुहुन्छ । अनि परमेश्वरले उहाँको छाप लगाउने कार्य पूर्वबाट सुरु भएर पश्चिमसम्मै फैलिने कुरा पनि हामीलाई देखाउनुभएको छ ।

“तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें ।” प्रका ७:२

प्रेरित यूहन्नाले पत्मोस टापूमा प्रकाश पाउँदा तिनले पूर्वबाट एक जना स्वर्गदूत उक्लेका देखे । यो कुराले परमेश्वरको छाप लगाउने कार्य पूर्वबाट सुरु हुन्छ भन्ने वास्तविकतालाई दर्शाउँछ ।

परमेश्वरले हामीलाई आफ्नो सन्तान भनी छाप लगाउनुहुन्छ

निस्तार-चाड मानेमा परमेश्वर हामीमा रहनुहुन्छ र हामी परमेश्वरमा रहन्छौं (यूह ६:५६; १५:४-८) । हामी परमेश्वरमा रहने भएकाले हामीहरू परमेश्वरका हौं ।

“तर हामीलाई तिमीहरूसँग ख्रीष्टमा दह्रिला पार्नुहुने र हामीलाई अभिषेक गर्नुहुने परमेश्वर नै हुनुहुन्छ । उहाँले हामीमाथि आफ्नो छाप लाउनुभएको छ, र हाम्रा हृदयमा बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ ।” २ कोर १:२१-२२

परमेश्वरले हामीलाई ‘उहाँको आफ्नो’ बनाउन हामीमा उहाँको छाप लगाउनुभएको हो । त्यसोभए अब, परमेश्वरले आफ्नो बनाउनुभएका हामीहरूलाई कस्तो आशिष् दिनुहुन्छ भन्नेबारे हेरौं ।

तर अब हे याकूब, … “नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु । मैले तँलाई तेरो नाउँ काढेर बोलाएको छु, तँ मेरै होस् । तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु । तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट हिँडेर जाँदा डढ्नेछैनस् । त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन …।” यशै ४३:१-३

परमेश्वरले हामीमा निस्तार-चाडको छाप लगाउनुभएर हामीलाई आफ्नो बनाउनुभएको छ, र उहाँले हामीलाई जस्तोसुकै विनाशकारी विपत्तिहरूबाट पनि बचाउने दृढ प्रतिज्ञा गर्नुभएको छ । यस अन्तिम विपत्तिको युगमा जिइरहेका आफ्ना सन्तानहरूलाई, परमेश्वरले निस्तार-चाड मानेर अन्तिम विपत्तिबाट बचाउन बोलाउँदैहुनुहुन्छ । चार बतास(युद्ध)लाई रोकिराखेका स्वर्गदूतहरूले, त्यो छोड्नुअघि नै हामीले परमेश्वरको छाप नयाँ करार निस्तार-चाड सारा संसारलाई जानकारी गराएर मुक्तिको खबर सुनाउने समाचारवाहकको कर्तव्य पूरा गर्नुपर्छ ।

हामीलाई आफ्नो बहुमूल्य धन बनाउनुभएकोमा परमेश्वरलाई धन्यवाद चढाउँदै परमेश्वरको मुक्तिको कार्यमा सहभागी हुने सियोनका परिवारहरू भइदिनुहुन अनुरोध गर्दछु ।