बोटबिरुवाहरूको अद्भुत चेतना
कहिालेकहीँ कोरियाको समाचारपत्रमा ‘वनस्पति अवस्थामा राष्ट्रिय सभा’ भन्ने अभिव्यक्ति देख्न सकिन्छ । यो अभिव्यक्तिले कुनै काम नगरी अत्यधिक सामाजिक खर्च गर्ने राष्ट्रिय सभालाई व्यङ्ग्य गर्दछ । कोमामा पुगेर मस्तिष्कले काम नगरेको बिरामीलाई पनि ‘वनस्पति अवस्था’ भनिन्छ । यसरी हलचल गर्ने क्षमता गुमाएको वस्तु वा व्यक्तिलाई वनस्पतिसँग तुलना गरिन्छ । त्यसो भए हामीले सोचेझैँ वनस्पतिहरूमा महसुस गर्ने क्षमता हुँदैन होला र ?
“लज्जावती झार” भनेर चिनिने मिमोसा पुडिकाले यस्तो पूर्वधारणालाई चुनौती दिन्छ । मिमोसा पुडिकाको पातलाई छुदा त्यो तुरुन्तै बन्द हुन्छ । यसलाई हेर्दा, यसले स्पर्श महसुस गरेर प्रतिक्रिया दिएजस्तो देखिन्छ । यसको यस्तो हलचलको रहस्य पातको डाँठको फेदमा रहेको पुल्भिनसमा लुकेको हुन्छ । पुल्भिनसका कोषहरूमा धेरै पानी हुने भएकाले कोषभित्तामा दबाब पर्छ, जसले गर्दा पातहरू सीधा फैलिन्छन् । तर पातले अचानक स्पर्श महसुस गर्दा कोषभित्रको पानी बाहिर निस्कन्छ र पातहरू खुम्चिन्छन् । मिमोसा पुडिकाको यो प्रतिक्रिया कीराको आक्रमणबाट बच्ने प्रतिरक्षात्मक व्यवहार हो ।

सन् १९९९ मा चीनमा आयोजित कुनमिङ पुष्प प्रदर्शनीमा विशेष क्षमता भएको नाच्ने बिरुवा (dancing plant) ले ठूलो सनसनी मच्चाएको थियो । यो बिरुवा खासै सुन्दर देखिँदैन, यसमा विशेष सुगन्ध हुँदैन, र यसलाई हुर्काउन एकदमै गाह्रो हुन्छ । तर सङ्गीत बज्न थालेपछि यसको वास्तविक विशेषता प्रकट हुन्छ । यसका स-साना पातहरू ब्यालेरिना नाचेझैँ लचिलो गरी हल्लिन्छन् । पातहरूको हलचल यति स्पष्ट हुन्छ कि त्यो तुरुन्तै देखिन्छ । घाम लाग्दा, न्यानो हुँदा र आर्द्र वातावरणमा यो बिरुवा अझ सक्रिय भएर नाच्छ । बच्चा वा महिलाले गाएको तिखो आवाजप्रति यो अझ संवेदनशील हुन्छ । विद्वान्हरूका अनुसार नाच्ने बिरुवाको हलचल पनि मिमोसा पुडिकाजस्तै ध्वनि तरङ्गसँग उनीहरूको पल्भिनसले गर्ने प्रतिक्रियाका कारण हुन्छ ।
सबै बिरुवाले मिमोसा पुडिका वा नाच्ने बिरुवाजस्तै तुरुन्तै प्रतिक्रिया नदिए पनि, प्रायः बिरुवाहरूले निरन्तर उत्तेजना पाउँछ र हलचल गर्छ । सूर्यमुखी जस्तै सूर्यलाई पछ्याउँदै चल्ने बिरुवाहरूले दिनभरि सूर्य घुम्ने दिशातिर आफ्नो शिर बिस्तारै फर्काउँछन् । सूर्य अस्ताएपछि तिनीहरूले भोलिपल्ट सूर्य उदाउने दिशातिर आफ्नो शिर फेरि फर्काउँछन् । यसलाई विपरीत दिशामा फर्काइदियो भने पनि त्यो फेरि प्रकाशतिर नै फर्किन्छ । प्रकाशबिना बोटबिरुवाले प्रकाश संश्लेषण गर्न सक्दैन । त्यसैले उनीहरूले प्रकाश आउने दिशा महसुस गर्छन् र सूर्यको प्रकाश धेरै पाउन परिश्रमसाथ हलचल गर्छन् ।
उष्णकटिबन्धीय मध्य तथा दक्षिण अमेरिकाका वर्षावनहरूमा उम्रिने हिँड्ने ताडका रूखहरूwalking palmचाहिँ यसको नाममा भनिएझैँ हिँड्न सक्ने अनौठो क्षमता भएका हुन्छन् । यी रूखहरूले घाम लाग्ने दिशातिर नयाँ जरा फैलाउँछ र विपरीत दिशाका जराहरूलाई कुहाएर अलग गर्छ । यसरी यो सूर्यको प्रकाशतिर बढ्दैँजान्छ । अन्य रूखहरूभन्दा फरक, यसको जरा जमिनमुनि गाडिएको नभई सतहमाथि देखिन्छ । यी रूखहरू प्रतिवर्ष ४ सेन्टिमिटरदेखि २० सेन्टिमिटरसम्म सर्न सक्छन् ।

त्यसो भए आँखा नभए पनि बिरुवाले कसरी सूर्यको प्रकाश महसुस गर्न सकेको होला ? प्रकाशको उत्तेजनाप्रति प्रतिक्रिया जनाउँदै बढ्ने बिरुवाको प्रकृतिलाई प्रकाशानुवर्तन (phototropism) भनिन्छ । सामान्यतया डाँठ र पातहरू प्रकाश भएतिर बढ्ने प्रक्रियालाई सकारात्मक प्रकाशानुवर्तन, र प्रकाशबाट टाढातिर बढ्ने प्रक्रियालाई नकारात्मक प्रकाशानुवर्तन भनिन्छ ।
बिरुवाको बढ्ने प्रक्रियालाई समन्वय गर्ने अक्सिन (auxin) हर्मोनले प्रकाशानुवर्तन गराउँछ । अक्सिनमा प्रकाशबाट टाढा र गुरुत्वाकर्षणतर्फ सर्ने गुण हुन्छ । प्रशस्त अक्सिनले डाँठ र पातलाई चाँडै बढाउँछ । अनि डाँठ र पातको विपरीत भागमा अक्सिन प्रकाश जम्मा हुन्छ । यसरी तिनीहरू चाँडै बढ्ने भएकाले प्रकाश लिने भाग प्रकाशतर्फ बाङ्गिन्छ । यसको अतिरिक्त, गुरुत्वाकर्षणको दिशामा अक्सिन जम्मा हुँदा, डाँठ र पातहरू माथितिर बढ्छन् ।

यहाँहरूले फ्रिजको ढोका खोल्दा पुरानो प्याजको टुसा निस्किएको देख्नुभएको छ होला । फ्रिजभित्र प्रकाश नभए पनि प्याजमा कुनै न कुनै प्रकारले टुसा पलाउँछ । प्याजको हरियो टुसा बाङ्गिँदै माथितिर बढ्छ । भीरमा उम्रिएको रूख पनि सतहअनुसार सीधा बढ्दैन, तर आकाशतिर बढ्छ । अर्थात् बिरुवाले पनि गुरुत्वाकर्षण महसुस गर्छ ।
गुरुत्वाकर्षण महसुस गरेर डाँठलाई माथितिर र जरालाई तलतिर बढाउने कार्यलाई गुरुत्वानुवर्तन भनिन्छ । बिरुवाको गुरुत्वानुवर्तन सरल देखिए पनि यसको जैविक प्रणाली अत्यन्त जटिल छ, जसले वैज्ञानिकहरूलाई समेत उल्झनमा पारेको छ ।

हामीले आफ्नो शिर ढल्काउँदा सजिलै शिर ढल्किएको महसुस गर्छौं । त्योचाहिँ कान भित्रको भेस्टिब्युलमा ओटोलिथ (otolith) भनिने क्याल्सियम कार्बोनेटका साना क्रिस्टलहरू हुने भएकोले हो । टाउको ढल्काउँदा ओटोलिथहरू गुरुत्वाकर्षणअनुसार सर्छ र स्नायु प्रणालीमा सङ्केत पठाउने कपालको कोषहरूलाई उत्तेजित गर्छ । मस्तिष्कले त्यसलाई हलचल ठान्छ । ओटोलिथजस्तो ठोस पदार्थलाई स्टाटोलिथ (statolith) पनि भनिन्छ ।
करिब सय वर्षअघि वनस्पतिविज्ञहरूले जराको टुप्पोमा रहेको विशेष कोषभित्र स्टाटोलिथजस्तै देखिने स्टार्चबाट बनेका साना कणहरू पत्ता लगाए । अहिले विज्ञहरूले ती कणहरू गुरुत्वाकर्षणका कारण सर्दा बिरुवाले गुरुत्व महसुस गर्छन् भनेर अनुमान लगाइरहेका छन् । जब चारा ग्लोबुलारिस (Chara globularis, एक प्रकारको हरियो लेउ) को जरालाई तेर्सो पारिन्छ, तब कोषभित्र रहेका स्टाटोलिथहरू बिस्तारै गुरुत्वाकर्षणको दिशातिर सर्छन् । सिसाजस्तै पारदर्शी कोषबाट बनेको राइजोइडलाई सूक्ष्मदर्शकबाट हेर्दा कोषभित्र धेरै कणहरू चलिरहेको र बाह्रवटा स्टाटोलिथहरू गुडिरहेको देख्न सकिन्छ ।
चारा ग्लोबुलारिसको जरालाई तेर्सो मोड्दा कोषभित्रका स्टाटोलिथहरू बिस्तारै गुरुत्वाकर्षणको दिशातिर सर्छन् । तिनीहरू कोषको ठ्याक्क तल्लो भित्तातर्फ जान्छन् । करिब तीन मिनेटपछि सबै स्टाटोलिथ तल्लो भागमा पुग्छन् । तिनीहरूले कोषभित्तामा छुनेबित्तिकै राइजोइड तीव्र गतिमा घुम्न थाल्छ । दुई घण्टाभित्र राइजोइडका कोषहरू पूर्ण रूपमा सिधा हुन्छन् । यसरी जनावरहरूले जस्तै वनस्पतिले पनि स्टाटोलिथको स्थानअनुसार आफ्नो दिशा परिवर्तन गर्छ । तर भौतिक रूपमा टाढा रहेका अक्सिनलाई जम्मा हुन स्टाटोलिथहरूले कसरी काम गर्छ भन्ने प्रक्रिया अहिलेसम्म प्रमाणित भएको छैन । यो कोषभित्र रहेको संरचनात्मक ढाँचामार्फत हुन्छ भन्ने अनुमान मात्र गरिएको छ ।
बिरुवाहरूले वातावरण बुझ्ने क्षमताका बारेमा अझै धेरै कुराहरू प्रमाणित हुन बाँकी नै छन् । तर सामान्य देखिने बिरुवाहरूले पनि आफ्नो वरपरको वातावरणलाई निश्चित रूपमा चिन्छन् । उनीहरूले प्रकाश कहाँ छ भनेर महसुस गर्छन्, गुरुत्वाकर्षण अनुभव गर्छन्, बाह्य वातावरणप्रति प्रतिक्रिया जनाउँछन् र आफ्नो आकार परिवर्तन गर्दै हलचल गर्छन् । बिरुवाहरूले यस्तो अद्भुत शक्ति कसरी पाएका होलान् ?
- सन्दर्भ
- दानिएल चामोविट्जद्वारा लिखित, (What a Plant Knows)
- भोल्कर अर्जटद्वारा लिखित, (Intelligent Plants)
- ली वान जुद्वारा लिखित, (Green Music Farming Methods)
- गिम यन हिद्वारा लिखित, ‘Plants reacts to external stimulus and move,외부 자극 반응해 움직이는 식물들’, साइन्स टाइम्स (२०१०.८.३०)