हामी आफ्ना आँखा परमेश्वरतिर उठाउँछौं

२ इति २०:१-३०

894 हेरेको संख्या

मोआबी, अम्मोनी र केही सेनानीहरू यहूदाको विरुद्धमा युद्ध गर्न आइरहेका छन् भन्ने खबर सुनेपछि, राजा यहोशापातले सारा यहूदाभरि नै उपवास बस्नलाई घोषणा गरे । यहूदाका मानिसहरू परमेश्वरको मन्दिरमा भेला भए, र यहोशापात चाहिँ मन्दिरको नयाँ चोकको अगि खडा भएर प्रार्थना गरे ।

“हे परमेश्वर, तपाईं जाति-जातिका सबै राज्यहरूमा शासन गर्नुहुन्छ । तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको जग्गादेखि हामीलाई धपाउन अम्मोनी, मोआबी र सेइर पर्वतका मानिसहरू आइरहेछन् । उनीहरूको सामना गर्न हाम्रो केही शक्ति छैन । हामीले जे गर्नुपर्ने हो सो हामी जान्दैनौं, तर हामी आफ्ना आँखा तपाईंतिर उठाउँछौं ।”

तब परमेश्वरको आत्मा एक जना लेवी यहासेलमाथि उत्रनुभयो ।

“हे सबै बासिन्दा र राजा यहोशापात, सुन्नुहोस् । परमेश्वर तपाईंहरूलाई यही भन्नुहुन्छ : ‘नडराओ, यस ठूलो सैन्य-दलदेखि नआत्तिओ । किनभने लडाइँ परमेश्वरको हातमा छ, तिमीहरूका हातमा होइन । भोलि उनीहरूको सामना गर्न तिमीहरू निस्किआओ र मैले तिमीहरूका उद्धारको काम गरेको तिमीहरूले देख्नेछौ । किनभने म तिमीहरूतर्फ हुनेछु’ ।”

यहूदीहरू भोलि बिहान सबेरै उजाड-स्थानमा जाँदा यहोशापातले खडा भएर भने, “परमेश्वरमा विश्वास गर र तिमीहरूले निश्चय नै जित्नेछौ ।”

मानिसहरूसित सल्लाह गरेपछि तिनले स्तुतिगान गाउने मानिसहरूलाई पवित्र पोशाक पहिरिन लगाए, र सेनाको अगिअगि गई गाउनलाई नियुक्त गरे । तिनीहरूका प्रशंसा चर्को आवाज सुनिनेबित्तिकै परमेश्वरले शत्रुहरूलाई अलमल्याइदिनुभयो, र उनीहरू सबै परास्त भए । ती शत्रुहरू आपसमा नै एक-अर्कालाई जथाभावी आक्रमण गर्न लागे । यो खबर सबै देशका राज्यहरूमा फैलियो र अन्यजातिहरूले पनि परमेश्वरको भय माने, र यहोशापातको राज्यमा शान्ति छायो ।

बलियो शत्रुको अगाडि एकलै सामना गर्ने क्षमता नभएर के गर्ने भनी थाहा नभएका यहोशापात र यहूदीहरूको एक मात्र आशा परमेश्वर हुनुहुन्थ्यो । केवल परमेश्वरमा मात्रै भरोसा गर्दै उनीहरूले कसैको बलिदानविनै ठूलो विजय हासिल गर्न सके ।

असह्य कठिनाइको सामना गर्नुपर्दा, यस्तो अवस्थालाई परिवर्तन गर्ने कुनै शक्ति आफूसित नभए पनि, र त्यसलाई समाधान गर्ने उपाय थाहा छैन भने पनि हामीहरू कदापि निरुत्साहित नहोऔं । तर सम्पूर्ण कार्यलाई नेतृत्व गर्नुहुने परमेश्वरमा भरोसा गर्दै सहयोगको निम्ति बिन्ती गर्ने गरौं, गुनासो नगरौं । किनकि परमेश्वर हाम्रो साथमा रहिदिनुभयो मात्र भने, हामीले सम्पूर्ण डरलाई जित्न सक्नेछौं ।

“यसैले नडरा, किनकि म तँसित छु । निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ । म तँलाई बलियो पार्नेछु । म तँलाई सहायता गर्नेछु । मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु ।” यशै ४१:१०