सुन्दर छाप

13,840 भ्यु

रूखको मुढालाई काटेर त्यसको काटिएको भागमा हेऱ्यो भने त्यहाँ बाक्लो घेरा बनेको देख्न सकिन्छ । मौसम परिवर्तनका कारण रूखको हुर्कने गतिमा भिन्नता हुँदा रूखमा घेराहरू बन्दछ । वसन्त र ग्रीष्मको बीचमा कोषिका विभाजन तीव्र गतिमा हुँदा रूखको भित्री भाग एकदमै कमलो र रङ पनि उज्यालो हुन्छ, तर ग्रीष्म अथवा शरद्को अन्ततिर कोषिका विभाजन हुन ढिलाइ हुँदा रूखको भित्री भाग एकदमै कडा र रङ पनि गाढा हुन्छ । यस्तो प्रक्रिया बारम्बार दोहोरिँदा रूखको मुढामा विशेष ढाँचामा घेराहरू बन्दछन् ।

रूखका यी घेराहरूलाई हेरेर रूखको उमेर मात्र होइन, तर त्यसको जीवनकालमा के-के भएको थियो भन्ने कुरासमेत थाहा पाउन सकिन्छ । समसितोष्ण क्षेत्रका कोणधारी रूखहरूमा स्पष्ट घेरा हुन्छ, तर सामान्य मौसमी परिवर्तन र शान्त हावापानी भएका क्षेत्रमा पाइने रूखहरूमा भने खासै स्पष्ट घेरा हुँदैन । एउटै प्रजातिका रूखहरू भए पनि तिनीहरू हुर्केको वातावरणअनुसार तिनीहरूको घेरा पनि फरक-फरक हुन्छ । खडेरी पर्ने, कीरा लाग्ने, डढेलो लाग्ने, जङ्गलको प्रकार र जमिनको भिरालोपन जस्ता कुराहरू पनि रूखका घेराहरूमा प्रत्यक्ष प्रतिबिम्बित भएको हुन्छ । यसबाहेक रूखका घेराहरूको आइसोटोप मापन गरेर १०,००० वर्ष अघिसम्मका तापक्रम र आर्द्रताको विस्तृत वार्षिक रेकर्ड प्राप्त गर्न सकिन्छ । त्यसैकारण बोट-बिरूवा हुर्कने प्रक्रिया स्पष्टसँग दर्शाउने रूखका घेराहरूलाई ब्ल्याक बक्स, र मौसम परिवर्तनको डाटालाई स्पष्टसँग सञ्चय गरेर राख्ने प्रकृतिको हार्ड डिक्स भनेर पनि भनिन्छ ।

“हेर, म चाँडै आउँदैछु । हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ ।” प्रका २२:१२

बाइबलमा ‘कामअनुसार,’ ‘गरेअनुसार’ र ‘रोपेअनुसार’ जस्ता अभिव्यक्तिहरू धेरै देख्न सकिन्छ । भन्नुको अर्थ, हाम्रो सुसमाचारको जीवनको प्रत्येक छाप रूखको घेराजस्तै परमेश्वरको सामु एक-एक गरी अभिलेख गरिएको हुन्छ । यहाँहरू आफ्नो आत्माको वार्षिक घेराहरूमा कस्तो छाप छोड्न चाहनुहुन्छ ? परमेश्वरको आज्ञा पवित्र रूपमा पालन गर्न र सुसमाचार सुनाउन प्रयत्न गरेको कुरा मात्र नभएर दाजुभाइ-दिदीबहिनीहरूप्रति लिएको मन र गरेको व्यवहारसमेत हाम्रो आत्माको वार्षिक घेरामा कुँदिन्छ (मत्ती २५:३१-४६) । अरू कुनै समयभन्दा प्रेम अझ धेरै आवश्यक पर्ने यो समयमा, परमेश्वरलाई सेवा गर्दा लिने नम्र मन र प्रेमद्वारा, हाम्रा दाजुभाइ-दिदीबहिनीहरूको हेरचाह गरौं । यस्ता कार्यहरू नै हाम्रो आत्मिक वार्षिक घेरामा अभिलेख हुनेछन् ।