तिनीहरू मेरो आदेशमा हिँड्छन् कि हिँड्दैनन्

प्रस १६:१-३१

890 हेरेको संख्या

इस्राएलीहरूका सारा समुदाय मिश्रबाट निस्केपछि, खानेकुरा छैन भन्दै मोशा र हारूनको विरुद्धमा गनगनाउन थाले ।

“हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्जेल खाना खान्थ्यौं । त्यसै बेला हामी परमप्रभुको हातबाट मरेका भएदेखि असल हुनेथियो । तर तपाईंहरूले हामी र हाम्रा यस जम्मै समुदायलाई भोकले मार्न उजाड–स्थानमा ल्याउनुभएको छ ।”

तब परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूका निम्ति स्वर्गबाट रोटी बर्साउनेछु । मानिसहरूले दिनहुँ बाहिर गएर एक दिनको हिस्सा बटुलून् । यसरी तिनीहरू मेरो आदेशमा हिँड्छन् कि हिँडदैनन् सो म जाँच गर्न सकूँला ।”

तब बेलुकी बट्टाई चराहरू आएर छाउनी नै ढाके, र बिहानचाहिँ छाउनीका चारैतिर शीत परिरह्यो । जब त्यो शीत सुक्यो तब जमिनमा परेको तुसारोझैँ स-साना डल्ला उजाड-स्थानभरि रहेछन् । इस्राएलीहरूले त्यस रोटीको नाउँ ‘मन्न’ राखे ।

“परमप्रभुले यो आज्ञा गर्नुभएको छ : ‘यसबाट हरेकले आफूले खाने जति बटुल । कसैले पनि त्यसबाट केही पनि बिहानसम्म नराखोस्’ ।”

तर तिनीहरूमध्ये कतिपयले मोशाको कुरा सुनेनन्, र तिनीहरूले त्यसबाट केही भाग बिहानसम्मै राखे । तर त्यसमा कीरा लागेर गन्हाउन लाग्यो ।

छैटौँ दिनचाहिँ तिनीहरूले दोबर, अर्थात् हरेकको निम्ति दुई-दुई ओमेर बटुले ।

“भोलि विश्रामको दिन हो, परमप्रभुको निम्ति एक पवित्र शबाथ हो । जति उब्रिन्छ त्यो आफ्नो निम्ति बिहानसम्मलाई राख ।”

मोशाले आज्ञा गरेझैँ त्यो तिनीहरूले बिहानसम्मै छोडिराखे । त्यो गन्हाएन र त्यसमा कुनै किरा पनि लागेन ।

“त्यो आज खाओ, किनकि आज परमप्रभुको निम्ति शबाथ हो । आज त्यो तिमीहरूले भूमिमा पाउनेछैनौ ।”

तरै पनि सातौँ दिनमा मानिसहरूमध्ये कति जना त्यो बटुल्न गए, तर केही पाएनन् ।

तब परमप्रभुले मोशालाई भन्नुभयो, “कहिलेसम्म तिमीहरू मेरो आज्ञा र मेरा आदेशहरू मान्न अस्वीकार गर्नेछौ ?”

इस्राएलीहरूले कराउँदै गनगन गरेका भए पनि परमेश्वरले तिनीहरू कोही पनि नभोकाऊन् भनेर दिनहुँ अघाउञ्जेल रोटी बर्साइदिनुभयो । तैपनि मानिसहरूले, परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्दै अर्को दिनसम्म मन्न उबारिराखे, र शबाथ-दिनमा पनि खेतमा कटनी गर्नका निम्ति गए ।

यो इतिहासचाहिँ, वर्तमान समयमा विश्वासको उजाड-स्थानको यात्रा गरिरहेका हामीहरूको निम्ति एउटा शिक्षा हो । यदि गाह्रो र कठिन अवस्थाबाट गुज्रिरहेका छौं भने अझ बल गरेर परमेश्वरको वचन पालन गरौं । आफूभित्र परमेश्वरको व्यवस्था र आदेश पालन गर्ने मन छ कि छैन भन्ने परीक्षालाई पार गरेपछि, अन्त्यमा परमेश्वरले प्रचुर आशिष्‌मा डोऱ्याउनुहुनेछ ।