
पावल र बारनाबासले लिस्त्रा सहरमा आइपुगेर सुसमाचार प्रचार गरे ।
त्यहाँ एक जना लङ्गडो मानिसले पावलको कुरा ध्यान दिएर सुनिरहेका थिए । पावलले त्यसलाई एकटक लगाएर हेरे, र निको हुने त्यसको विश्वास छ भन्ने देखिकन ठूलो सोरले कराएर भने,
“तेरा खुट्टाको भरमा सीधा उभी ।”
अनि त्यो जुरुक्क उठ्यो र हिँड्न थाल्यो ।
जब पावलले गरेको यो काम भीडले देख्यो, तब तिनीहरूले लुकोनियाको भाषामा उच्च सोरले यसो भने,
“देवहरू मान्छेको रूपमा हामीकहाँ ओर्लेर आएछन् ।”
मन्दिरका पूजाहारीले मूल ढोकाहरूमा गोरुहरू र फूलका मालाहरू ल्याएर त्यहाँका मानिसहरूसँग मिली बलि-पूजा गर्ने इच्छा गरे ।
तर जब प्रेरितहरू, बारनाबास र पावलले यो कुरा सुने, तब तिनीहरू आफ्नो वस्त्र च्याती यसो भन्दै कराएर मानिसहरूका बीचमा दौड्दैगए र भने,
“मानिसहरू हो, तपाईंहरू किन यस्तो काम गर्नुहुन्छ ? हामी पनि त तपाईंहरूजस्तै दुःख-सुख भोग्ने मानिसहरू हौं, र तपाईंहरूलाई यी व्यर्थका कुराहरूबाट जीवित परमेश्वरतर्फ फिराउनलाई सुसमाचार सुनाउँछौं, जुन परमेश्वरले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत् थोक बनाउनुभयो ।”
यी कुरा भनेर तिनीहरूले मुश्किलले तिनीहरूलाई बलि-पूजा चढाउनबाट ती मानिसहरूलाई रोके ।
प्रशंसा र सम्मान पाउन नचाहने मानिस कोहि हुँदैन । तर पावल र बारनाबासले जस्तोसुकै अवस्थामा पनि परमेश्वरलाई महिमा दिन बिर्सेनन्, किनभने उनीहरूलाई सबै कुरा परमेश्वरले दिनुभएको हो भन्ने कुरा थाहा थियो ।
जब परमेश्वरको कार्य हामीमार्फत प्रकट हुन्छ, तब हामी अजानमै अहङ्कारी बन्न पुग्छौं । अहङ्कारचाहिँ “मैले गरें” भन्ने भ्रमबाट उत्पन्न हुन्छ, जुनचाहिँ विनाशतर्फको बाटो हो ।
सबै कुरामा परमेश्वरलाई महिमा दिऔं । त्यसो गरेमा त्यो महिमा अरू कतै जाँदैन तर आफूमा नै फर्कन्छ ।
“परमेश्वरलाई महिमा दिएमा त्यो महिमा अन्ततः आफूमा नै फर्कन्छ ।” माताको शिक्षा