नागरिकताचाहिँ कुनै देशको नागरिक हुने अधिकार हो । आफ्नै सम्पत्तिमाथिको अधिकार जस्ता आधारभूत अधिकार लगायत राष्ट्रपति र संसद सदस्यहरूलाई, सार्वजनिक कार्यालयमा गएर उम्मेदवारहरूको पक्षमा मतदान गर्न पाउने राजनीतिक अधिकार र सरकारी कर्मचारीको रूपमा नियुक्त हुन पाउने अधिकार प्राप्त गर्न सकिन्छ । कुनै देशको नागरिकता हुनु भन्नाले त्यो देशको नागरिकको रूपमा त्यहाँका अधिकारहरू उपभोग गर्न सक्नु भन्ने अर्थ हो ।
२,००० वर्षअघि प्रेरितहरूले सुसमाचार प्रचार गर्दा रोमी साम्राज्यले इस्राएलमाथि शासन गरेको थियो । त्यस बेला रोमी नागरिकता लिएका मानिसहरूको सामाजिक ओहदा उच्च हुन्थ्यो, यिनीहरूले रोमबाट विभिन्न विशेषाधिकारहरू पनि पाउँथे । जस्तै, मताधिकार, अदालतमा मुद्दा हाल्न पाउने अधिकार, रोमी सम्राटद्वारा गठित उच्च अदालतमा निवेदन दिन पाउने अधिकार इत्यादि । यी मानिसहरू कोर्रा लगाइने, क्रूसमा टाँगिने जस्ता यातनामूलक सजायबाट उम्किन सक्थे, अनि यिनीहरूले देशद्रोह नगरेसम्म यिनीहरूलाई मृत्युदण्ड दिइँदैनथ्यो ।
पावलचाहिँ अहिलेको दक्षिण टर्कीमा अवस्थित टार्ससको किलिकियाका थिए (प्रे २२:३) । केही बाइबलविद्हरूले पावल र अन्य यहूदीहरूले कसरी जन्मैदेखि रोमी नागरिकता पाए भन्नेबारे वर्णन गरेका छन् । किलिकिया र टार्सस रोमसँग एक भएपछि त्यहाँका मानिसहरूले रोमी नागरिकको रूपमा मान्यता पाए, अनि सामाजिक ओहदा उच्च भएका पावलका पुर्खाहरूले पनि नागरिकता पाए । प्रेरित पावलले प्रचार गर्दा रोमी नागरिकको अधिकार प्रयोग गरेका थिए ।
सेनापतिले हुकुम गरे … र कोर्रा लाएर जाँचिओस्, … अनि जब तिनीहरूले पावललाई छालाका डोरीले बाँधे, तब पावलले नजिकै उभिएका कप्तानलाई सोधे, “के रोमी नागरिक र दोषी नठहरिएको मानिसलाई कोर्रा लगाउन न्यायसङ्गत हो ?” कप्तानले यो सुनेपछि सेनापतिकहाँ आई यसो भने, “तपाईंले के गर्न आँट्नुभएको छ ? किनकि यो मानिस त रोमी नागरिक रहेछ ।” प्रे २२:२४-२६
दमस्कसको बाटोमा येशू ख्रीष्टलाई ग्रहण गरेर मानिसको रूपमा आउनुभएका परमेश्वरको विषयमा प्रचार गरेका पावललाई कोर्रा लगाउने निर्देशन दिइएको थियो । त्यसपछि पावलले आफू ‘रोमी नागरिक’ भएको यथार्थता जानकारी दिएर “के रोमी नागरिक र दोषी नठहरिएको मानिसलाई कोर्रा लगाउन न्यायसङ्गत हो ?” भनेर प्रतिकार गरे । पावललाई कोर्रा लगाउन लागेका कप्तान छक्क परे, अनि पावलसँग रोमी नागरिकता भएको यथार्थता सेनापतिलाई थाहा दिए । अझ रोचक कुराचाहिँ पावल एक रोमी नागरिक रहेछन् भनी थाहा पाएर सेनापतिसमेत डराए, किनकि उनैले तिनलाई बाँधेका थिए ।
तब सेनापतिले आएर पावललाई सोधे, “मलाई भन्, के तँ रोमी नागरिक होस् ?” तिनले भने, “हुँ ।” सेनापतिले जवाफ दिए, “मैले त यो नागरिक हक धेरै रुपियाँ तिरेर किनेको हुँ ।” पावलले भने, “तर म त जन्मसिद्ध रोमी हुँ ।” तब तिनलाई जाँच गर्न तयार भएकाहरू सबै तुरुन्तै हटेर गए, र पावल एक रोमी नागरिक रहेछन् भनी थाहा पाएर सेनापति पनि डराए, किनकि उनले तिनलाई बाँधेका थिए । प्रे २२:२७-२९
पावलसँग भएको रोमी नागरिकता त्यस बेलाको उच्च ओहदाको एकदमै विशेष चिन्ह र सौभाग्यको कुरा थियो । रोमी नागरिकलाई साङ्लाले बाँध्नु अपराध हो, कोर्रा लगाउनु एकदमै दुष्ट कार्य हो, अनि प्राणदण्ड दिनुचाहिँ कसैको हत्या गरेसरह हो भन्ने यस्ता नियमहरूसमेत पारित गरिएको थियो ।
मानिसहरूलाई नागरिकताको महत्त्व एकदमै राम्ररी थाहा थियो । रोमी नागरिकता पायो भने उनीहरूको जीवन एकदमै सहज हुन्छ भनेर विश्वास गरिन्थ्यो । मानिसहरूले एकदमै रुचि राखेको ‘नागरिकता’द्वारा पावलले तिनीहरूलाई मुक्तिको मूल्य थाहा दिए ।
“तर हाम्रो नागरिकता स्वर्गमा छ । त्यहाँबाट आउनुहुने मुक्तिदाता, अर्थात् प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौं ।” फिलि ३:२०
त्यसोभए स्वर्गको नागरिकता पाउनु भनेको झन् कस्तो होला ? प्रेरित पावलले स्वर्गीय नागरिक भएअनुरूप येशू ख्रीष्टको सुसमाचार सुनाउँदा कठिनाइले पछ्याए तापनि तिनी ढलपल नभईकन विश्वासको बाटो हिँडे । तिनले सुसमाचार प्रचार गर्दा आएको बाधा-विरोध, चाहे त्यो रोमी नागरिकता नै किन नहोस्, तिनले ती सबै कुरालाई फोहोर-मैलासरह ठाने । यो कुराले हामीलाई स्वर्गको नागरिकताको कदर गर्न प्रेरित गर्दछ ।
साँच्चै भन्ने हो भने ख्रीष्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु । ख्रीष्टलाई प्राप्त गर्न सकूँ भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु, अनि ती सबैलाई फोहोर-मैला तुल्य म गन्दछु, र सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकूँ … फिलि ३:८-९
स्वर्गीय नागरिकको रूपमा प्रेरित पावलले जोड दिएको सुसमाचार नै नयाँ करार निस्तार-चाड हो (१ कोर ११:२३-२६) । नयाँ करार निस्तार-चाडचाहिँ येशूज्यूले ३ वर्षसम्म गर्नुभएको सुसमाचारको कार्यमध्ये सबैभन्दा विशेष कार्य हो । त्योचाहिँ येशूज्यूको देह र रगतलाई प्रतिनिधित्व गर्ने निस्तार-चाडको रोटी र दाखमद्यद्वारा परमेश्वरको सन्तान भएर पाप-क्षमा र अनन्त जीवनको आशिष् दिलाउने स्वर्गको नागरिकता हामीले प्राप्त गर्न सक्ने भएकाले हो (यूह ६:५३-५६; मत्ती २६:१७-२८) ।
प्रेरित पावल मात्र नभएर पत्रुस, यूहन्ना र लूकाले पनि स्वर्गको नागरिकता दिन मानिसको रूपमा आउनुभएका परमेश्वर येशूज्यूको विषयमा प्रचार गर्नुको साथै येशूज्यूको वचनमा आज्ञाकारी भएर नयाँ करार निस्तार-चाड पनि मानेका थिए । अहिले उनीहरू स्वर्ग-राज्यमा, त्यो रोमी नागरिकतासँग तुलना नै गर्न नसकिने बडो आनन्द र विशेषाधिकार उपभोग गरिरहेका छन् । हामीले पनि स्वर्गको नागरिकताको मूल्य जानेर परमेश्वरको वचनलाई व्यवहारमा लागू गर्न प्रयास गऱ्यौं भने उस्तै आशिष् उपभोग गर्ने सुअवसर पाउनेछौं ।