WATV.org is provided in English. Would you like to change to English?

बाँच्नको निम्ति अनुकूलित मानव ज्ञानेन्द्रिय

682 हेरेको संख्या
FacebookTwitterEmailLineKakaoSMS

सानो छँदा हामीले चलचित्रमा हेर्ने गरेको हाम्रो सुपरहिरो, सुपरम्यान ! ऊसित अलौकिक शक्ति हुन्छ । ऊसित आकाशमा स्वतन्त्र रूपले उड्न सक्ने शक्ति मात्र होइनकि एक हातले गाडी उचाल्न सक्ने शक्ति, टाढाका वस्तुहरू हेर्न सक्ने उत्कृष्ट दृष्टि र धेरै टाढाको सानो आवाज पनि सजिलै सुन्न सक्ने श्रवण शक्ति पनि हुन्छ । यीचाहिँ मानव-जातिले लिन नसक्ने शक्तिहरू हुन् । यही कारणले बच्चाहरूका लागि सुपरम्यान भनेको एकदमै डाहलाग्दो पात्र हो । त्यसोभए यदि हामीले पनि सुपरम्यानको जस्तै विशेष शक्ति पायौं भने के हुन्छ होला ?

बाह्य क्रियाशीलताप्रति उचित प्रतिक्रिया

मानव-जातिले वरिपरिको वातावरणबाट आउने विभिन्न किसिमका सङ्केत तथा जानकारीलाई आफ्नो ज्ञानेन्द्रियद्वारा स्वीकार्छ । तब मस्तिष्कले विस्तृत रूपमा विश्लेषण गरेर मोटर अङ्ग रहेका मांसपेशीहरूलाई आदेश दिई क्रियाशीलताप्रति प्रतिक्रिया जनाउँछ । यसलाई ‘क्रियाशीलता र प्रतिक्रिया’ भनिन्छ । मानव-जातिमा मात्र नभएर सबै जीवित प्राणीहरूमा उस्तै प्रणाली हुन्छ ।

यदि हामीले बाह्य खतराप्रति उचित ढङ्गमा प्रतिक्रिया जनाउन सकेनौं भने हामीले आफ्नो ज्यान गुमाउन पनि सक्छौं । यदि हामीमा क्रियाशीलताप्रति कुनै प्रतिक्रिया प्रणाली छैन भने मानव-जाति मात्र होइन, तर कुनै पनि प्राणी बाँच्न सक्दैन । जस्तै, गम्भीर चोट लागेर पनि त्यो पीडा महसुस हुँदैन भने त्योभन्दा अझ डरलाग्दो अवस्थाको सामना गर्नुबाहेक अर्को विकल्प रहँदैन । विशेष गरी मानव-जातिमा क्रियाशीलताको क्षमता, बाँच्नको लागि अनुकूलन गरिएको हुन्छ ।

मानव शरीरमा ५ वटा ज्ञानेन्द्रिय हुन्छ । ज्योति पाउने आँखा (दृष्टि अङ्ग), ध्वनिजस्ता तरङ्गहरू आभास गर्ने कान (श्रवण अङ्ग), ग्याँसयुक्त रसायनलाई आभास गर्ने नाक (नस्य अङ्ग), तरल रसायनहरू छुट्‌ट्याउने जिब्रो (गस्टेटरी अङ्ग) र दबाब, पीडा, तातो, चिसोलाई आभास गर्ने छाला (स्पर्श अङ्ग) ।

यी संवेदक अङ्गहरूका विभिन्न विशेषताहरू हुन्छन् । हामीले धूलोको तौल महसुस गर्न नसके तापनि किताबको तौल भने महसुस गर्न सक्छौं । त्यसै गरी ज्ञानेन्द्रियले प्रतिक्रिया जनाउन आवश्यक पर्ने न्यूनतम स्तरको क्रियाशीलतालाई नै थ्रेसहोल्ड भनिन्छ । ज्ञानेन्द्रिय र संवेदक कोषको आधारमा थ्रेसहोल्ड पनि फरक हुन्छ । यदि थ्रेसहोल्डले लगातार उही क्रियाशीलता पाइरह्यो भने पछि गएर शरीरले क्रियाशीलतालाई स्वीकार्न सक्दैन । सुरुमा कुनै कडा गन्ध चाल पाइयो, तर समय बितेपछि त्यो गन्ध चाल नपाइने भएकोले यसलाई संवेदक अनुकूलन भनिन्छ । यदि ज्ञानेन्द्रियमा लगातार उही क्रियाशीलता भइरह्यो भने त्योभन्दा ठूलो क्रियाशीलता नदिउञ्जेल त्यसले अरू कुनै कुरा महसुस गर्न सक्दैन ।

चाहिने कुरा मात्र लिने तीक्ष्ण ज्ञानेन्द्रिय

१. दृष्टि, गन्ध र स्वाद

के सुपरम्यानको जस्तो उत्कृष्ट संवेदक क्षमता हुनु राम्रो कुरा हो ? हाम्रो शरीरमा दृष्टिको जिम्मा लिएको आँखाले ३८० र ७८० नेनोमिटरबीचको तरङ्गदीर्घामा देखिने प्रकाशलाई मात्र स्वीकार्न सक्छ । तर यदि हाम्रो दृष्टिकोणमा अवरक्त प्रकाश, पराबैजनी किरण, विद्युत-चुम्बकीय तरङ्ग साथै सूक्ष्मदर्शक यन्त्रद्वारा मात्र देख्न सकिने सूक्ष्म वस्तुहरू पनि देख्न सकिने भयो भने के हुन्छ होला ? यदि हामीले ती अदृश्य विद्युत-चुम्बकीय तरङ्गहरू पनि देख्न सक्यौं भने हामीले त्यति ठूलो मात्राको सङ्केत तथा जानकारीहरूको कसरी सामना गर्न सक्नेछौं र ? ती सूक्ष्मजीवका कारण हामीले राम्ररी खाना पनि खान सक्नेछैनौं, अनि दैनिक जीवनमा थुप्रै असुविधाहरू झेल्नुपर्ने हुन्छ । हामीले धान्न नसक्ने अत्यन्त ठूलो अन्योल उत्पन्न हुनेछ ।

सुँघाइको जिम्मा लिएको नाकले ग्याँसयुक्त रसायनको आभास गर्ने भएकोले यसलाई गन्ध भनिन्छ । ग्याँसका अणुहरू अदृश्य भएकाले त्यो कस्तो किसिमको ग्याँसको अणु हो भन्ने कुरा हाम्रो शरीरले थाहा पाउनु एकदमै महत्त्वपूर्ण हुन्छ । यदि कुनै हानिकारक ग्याँस हाम्रो शरीरभित्र पस्यो भने शरीरलाई खतरा हुने भएकोले ग्याँसको थोरै बद्लावमा पनि नाक अति संवेदनशील हुनुपर्छ । त्यसैले नाकले चाहिँ ग्याँसको अणु परिवर्तन भएको कुरालाई मिनेटमै पत्ता लगाउन सक्छ ।

अघि भनिएजस्तै, यदि हाम्रो सबैभन्दा संवेदनशील ज्ञानेन्द्रिय नस्य(olfactory) अङ्गले लामो समयसम्म एकै किसिमको गन्ध लियो भने त्यो लाटो हुन सक्छ । परिणामस्वरूप, हाम्रो मस्तिष्कले त्यस उप्रान्त कुनै पनि अनौठो गन्धबाट तनाव लिइरहनुपर्दैन । गन्धका यस्ता विशेषताहरू पनि बाँच्नका लागि अत्यावश्यक हुन्छ ।

स्वादको जिम्मा पाएको जिब्रोले तरल अवस्थामा भएको रसायन पत्ता लगाउँछ । जिब्रोले पत्ता लगाउन सक्ने ४ किसिमका स्वादहरू छन् : गुलियो, अमिलो, नुनिलो र तीतो । यी स्वादहरूको मिश्रण र सुँघाइको मद्दतले हामीले विभिन्न स्वाद आभास गर्न सक्छौं । विशेष गरी तीमध्ये तीतो स्वादको सन्दर्भमा भन्नुपर्दा यसको थ्रेसहोल्ड एकदमै कम हुने भएकोले यो स्वादले हामीलाई एकदमै संवेदनशील बनाउँछ, किनभने शरीरका लागि हानिकारक पदार्थ प्रायः तीतो हुन्छ ।

२. स्पर्श र श्रवण

स्पर्श चेतनाको जिम्मा लिएको छालामा दबाब, तातो, चिसो र पीडा महसुस हुने ४ किसिमका संवेदक ठाउँहरू छन् । यी संवेदक ठाउँहरू छालामा समान रूपमा फैलने भएकोले हामीले आफू रहेको वातावरणलाई सही तरिकाले बुझ्न सक्छौं । यदि पीडा, तातो अथवा चिसो नै महसुस गर्न सकेन भने हाम्रो शरीर कस्तो अवस्थामा पुग्छ भन्ने कुरा एक चोटि कल्पना गरिहेर्नुहोस् । हामीमा वातावरणलाई बदल्ने विभिन्न तरिका र उचित ढङ्गमा त्यसको सामना गर्न सक्ने अनुकूलित प्रणाली छ भन्न सकिन्छ ।

श्रवण शक्ति र दृष्टि दुवै गुमाएकी हेलेन केलरले “अन्धोपनाले मानिसहरूलाई विभिन्न चीजबाट टाढिने गराउँछ भने बहिरोपनाले चाहिँ मानिसहरूबाटै टाढिने गराउँछ” भनेकी छिन् । धेरैजसो मानिसहरूले श्रवण शक्ति भन्दा दृष्टि अझ महत्त्वपूर्ण हुन्छ भनी सोच्ने गर्छन् । यद्यपि भनिन्छ, दृष्टिभन्दा श्रवण शक्ति कमजोर भयो भने खुशीको गुण नै हराएर जान्छ । तसर्थ श्रवण शक्तिचाहिँ हामीले सोचेको भन्दा पनि अझ महत्त्वपूर्ण हुन्छ ।

श्रवण शक्तिको जिम्मा लिएको कानले श्रव्य आवृत्ति(frequencies) भनिने २०देखि २०,००० हर्ज बीचको आवाज सुन्न सक्छ । नङले कालो पाटीमा कोतारेको आवाज सुन्दा आङ सिरिङ्ग हुनुको कारणचाहिँ त्यसको आवाज अन्य श्रव्य आवृत्तिको भन्दा उच्च भएकोले गर्दा हो । यसको ठीक विपरीत मानिसहरूको आवाजचाहिँ सबैभन्दा कम ऊर्जा प्रयोग गरेर सुन्न सकिने गरी सबैभन्दा कम श्रव्य श्रेणीमा अवस्थित छ । मानिसहरूको कानले सुन्न नसक्ने २०,००० हर्जभन्दा माथिको आवाजलाई पराश्रव्य(ultrasound) भनिन्छ । यदि हामीले यस्तो आवाज सुन्न सकेका भए सायद चमेरो र डल्फिनले निकाल्ने आवाज पनि सन्न सक्नेथियौं । सबै किसिमको आवाज सुन्न सक्नु सधैँ रामो मात्र पनि होइन ।

हाम्रा ५ ज्ञानेन्द्रियसँग सम्बन्धित नभए तापनि शरीरको सन्तुलनको जिम्मा लिएको सन्तुलनको भावचाहिँ श्रवण शक्तिको जिम्मा लिएको कानभित्र हुन्छ । त्यसले हाम्रो शरीरको प्रवृत्ति, स्थान, गति, परिक्रमण इत्यादिबारे बताउँछ । तसर्थ हाम्रो शरीर पल्टिरहेको छ कि उभिरहेको छ अथवा कत्तिको द्रुत गतिमा चलिरहेको छ भन्ने कुरा नहेरीकनै थाहा पाउन सकिन्छ ।

जीवित रहनको निम्ति हामीले आफ्नो वरिपरिको वातावरण र हाम्रो शरीर कस्तो अवस्थामा छ भन्ने कुरा अनिवार्य जान्नैपर्छ । किनकि त्यसले हामीलाई उचित प्रतिक्रिया दिन र काम गर्न मद्दत पुऱ्याउँछ । अन्य थुप्रै सङ्केत र जानकारीहरू भए तापनि मानिसको संवेदक क्षमताले, बाँच्नको निम्ति सबैभन्दा बढी आवश्यक पर्ने सङ्केतहरू स्वीकारेर त्यसबाहेकका अन्य सङ्केतहरूलाई चाहिँ स्वीकार्दैन ।

‘सुपरम्यान’ चलचित्रमा हेर्ने हो भने सुपरम्यानले अन्य मानिसहरूसँगै रहनको निम्ति आफ्नो विशेष शक्तिलाई लुकाएको दृश्य देख्न सक्छौं । त्यस विषयमा सोचिहेर्ने हो भने मानिसको ज्ञानेन्द्रियको क्षमताचाहिँ बाँच्नको लागि उपयुक्त हुने हिसाबले डिजाइन गरिएको पाउन सकिन्छ । यदि अरूको नजरमा अदृश्य भएका कुरा पनि देख्न सकिने र अरूले सुन्न नसक्ने आवाज पनि सुन्न सकिने भयो भने तनाव उत्पन्न भएर साधारण जीवन जिउन सकिँदैन । मानिसमा घटी पनि होइन, बढी पनि होइन, एकदमै उचित संवेदक क्षमताहरू छ । हामीलाई यी क्षमताहरू कसरी दिइएको होला ?