सबैलाई फोहोर ठाउँभन्दा सफा ठाउँ मनपर्छ । तर सबै ठाउँ आफै सफा हुन सक्दैन । कसैले कोठाभित्र फोहोर नल्याए पनि फोहोर आफै थुप्रिन्छ । अनि कोठाभित्र बसेर जुनसुकै कार्य गरे पनि फोहोर भइहाल्छ । तसर्थ हामी सरसफाइ गर्छौं । बढार्नु, फोहोर फाल्नु र व्यवस्थापन गर्नु सानो कामजस्तो लाग्न सक्छ । तर सरसफाइको शक्ति सोचेभन्दा आश्चर्यजनक हुन्छ ।
ब्रोकन विन्डो सिद्धान्त
सरसफाइ गरेपछि शरीर थाक्छ तर यसले मनलाई ताजा गराइदिन्छ । सरसफाइले मानिसको मूड मात्र नभएर मन र व्यवहारमा पनि प्रभाव पार्छ । यो यथार्थतालाई ब्रोकन विन्डो सिद्धान्तद्वारा प्रमाणित गर्न सकिन्छ ।

अमेरिकी मनोवैज्ञानिक फिलिप जिम्बार्डोले एउटा परीक्षण गरे । उनले उस्तै अवस्थामा रहेका दुई वटा गाडिलाई (कार) एउटा असुरक्षित सडकमा छोडिदिए । उनले कारको हुड खुल्ला राखे र एउटा झ्याल फुटाइदिए । १० मिनेटमै त्यो सिसा फुटेको गाडीबाट ब्याट्री, टायर र अन्य पूर्जाहरू झिकेर लगियो । त्यसमा चित्रहरू कोरियो, र अन्ततः त्यो रद्दीको टुक्रामा परिवर्तन भयो । अर्कोतर्फ, झ्याल नफुटेको गाडि भने जस्ताको तस्तै थियो ।
ब्रोकन विन्डो सिद्धान्तका अनुसार मानिसहरूको अवचेतन दिमागले फोहोर र अव्यवस्थित देखिने चीजलाई बढी लापरवाहीपूर्वक व्यवहार गर्छ र सफा देखिने चीजलाई बढी सावधानीपूर्वक व्यवहार गर्छ ।
सन् १९८० को दशकमा ६ लाखभन्दा बढी गम्भीर अपराध भएको न्यू योर्क सहरको सबवेमा भित्तेचित्र मेटाउने परियोजना गरिएको थियो, जसका कारण अहिले यो सहर एउटा सुरक्षित सहरको रूपमा परिचित छ । केही मानिसहरूले त्यस्ता भित्तेचित्रहरू मेटाउनुको सट्टा त्यो समय अपराध न्यूनिकरणमा लगाउनुपर्छ भन्दै जोड दिए, तर सबवेहरूमा भित्तेचित्र मेटाउने कार्य ५ वर्ष गरियो । अवैध भित्तेचित्रहरूले अपराधलाई बढावा दिन्छ भन्ने सोचका साथ भित्तेचित्रहरू हटाइयो । परिणाम आश्चर्यजनक थियो । ३ वर्षमा अपराधको दर ८०%ले कम भयो । जापानमा पनि उस्तै घटना घट्यो । कुनै स्वयंसेवक सङ्गठनले नियमित रूपमा मनोरञ्जन क्षेत्र सफा गर्दा सडकहरू सफा भए, र सामाजिक व्यवस्था पनि राम्रो भयो ।
प्रायः फोहोरहरू बिजुलीको खम्बा वरिपरि फालेको देख्न सकिन्छ । वास्तवमा त्यो फोहोरको झोला फाल्नका निम्ति तोकिएको ठाउँ होइन, तर पनि एक जना मानिसले सानो फोहोरको झोला फाल्दा अरू मानिसहरूले पनि विना हिचकिचाहट त्यहाँ फोहोर फाल्न सुरु गर्छन् र अन्ततः त्यो ठाउँ फोहोरको डङ्गुले भरिन्छ ।
यति सानो फोहोरको टुक्रा र भित्तेचित्रले त समाजमा यति ठूलो प्रभाव पार्छ भने सडक र सार्वजनिक क्षेत्र सफा राख्ने हाम्रो सानो पहलले झन् कति ठूलो प्रभाव पार्छ होला ।
सफलता र खुशी ल्याउने सरसफाइको तरिका
जापानी राजनीति तथा अर्थशास्त्रका धेरै महत्त्वपूर्ण व्यक्तिहरू मात्सुसिता इन्स्टिट्यूट अफ गभरमेन्ट एण्ड म्यानेजमेन्टबाट (Matsushita Institute of Government and Management)स्नातक गरी आएका हुन् । मात्सुसिताचाहिँ एउटा शैक्षिक संस्था हो, जसलाई ‘व्यवस्थापनका प्रतिभा’ भनेर कहलिएका कोनोसुके मात्सुसिताले राजनीति तथा व्यवस्थापनमा उत्कृष्ट विद्यार्थीहरू उत्पादन गर्न स्थापना गरेका थिए । एक दिन एक जना विद्यार्थीले कोनोसुकेलाई सरसफाइ किन गर्नुपर्छ भनी सोधे । उनले भने, “आफ्नो वरपरसमेत सरसफाइ गर्न नसक्ने मानिसले कसरी आफ्नो देश र विश्वलाई सफा राख्न सक्छ र ?” उनले हरेक सरसफाइको दिनमा कारखाना र संस्थाका शौचालयहरू सफा भयो कि भएन भनेर जाँच गर्थे । अनि फोहोर भेटिएको अवस्थामा सबै सफा गर्थे ।

धेरै जापानीहरूले उनको ‘सरसफाइ व्यवस्थापन दर्शन’ सिकिरहेका छन् । कुनै एउटा मानव संसाधन विकास समूहकी एक जना महिला CEO (प्रमुख कार्यकारी अधिकृत)ले उक्त समूहको कुल व्यापार सुस्त हुँदा उनका कर्मचारीहरूले प्रयोग गरेको शौचालय आफ्नै हातले सफा गरिन् । नाङ्गो हातले सरसफाइ गर्दा कृतज्ञता, नम्रता र सेवाको भावना सिकेको र कर्मचारीहरूसँग मन खोलेर कुरा गर्न सकेको कुरा उनले बताइन् । योद्वारा, त्यहाँ काम गर्ने कर्मचारीहरूको राजीनामा दर घट्यो । उनीसँगै, उनका कर्मचारीहरूले पनि प्रत्येक दिन काम सुरु गर्नुअघि सरसफाइ गर्न थाले । उनीहरूले प्रत्येक दिन सरसफाइ गरेर काम सुरु गर्दा दिनभरि नै खुशीसाथ काम गर्न सकेको र डेस्क मिलाएर राख्दा अझ प्रभावकारी रूपमा काम गर्न सकेको कुरा बताए । सरसफाइपछि उक्त कम्पनीको बिक्री दर दोब्बर भयो र अहिले पनि निरन्तर रूपमा वृद्धि भइरहेको छ ।
माथि उल्लेखित तथ्यलाई विचार गर्ने हो भने सरसफाइमा एउटा व्यक्तिलाई आनन्द दिने र व्यवसायलाई सफल बनाउने शक्ति छ भन्ने कुरा बुझ्न सकिन्छ । तर केवल सरसफाइको बारेमा मात्र सोच्दै अत्यधिक रूपमा सरसफाइ गर्नुपर्छ वा वाध्य भएर सरसफाइ गर्नुपर्छ भन्ने कुराचाहिँ होइन । केही मानिसहरूले सरसफाइलाई झन्झटिलो कामको रूपमा लिने भएकोले कुनै कुरा फोहोर भयो भने प्रायः त्यसलाई बेवास्ता गर्छन्, र सरसफाइ गर्न दिक्क मान्छन् ।
सफल व्यक्तिहरूको एउटा सुनौलो नियम छ, “अरूले तिमीसँग जस्तो व्यवहार गरून् भन्ने चाहन्छौ, उनीहरूलाई पनि त्यस्तै व्यवहार गर ।” यो सुनौलो नियम सरसफाइको काममा पनि लागू हुन्छ । सरसफाइ विज्ञहरूले आफ्नो लागि मात्र नभएर अरूको भलाइको निम्ति पनि खुशीसाथ सरसफाइ गर्नुपर्छ भनेर सल्लाह दिन्छन् । सरसफाइले सबैलाई खुशी पार्दछ ।
फाल्नुको सुन्दरता
“जीवनको समस्या समाधान गर्न, पहिले आफ्नो बाकसका सामानहरू मिलाएर राख्नुहोस् ।”
यो भनाइ स्कटल्यान्डका व्यङ्ग्य लेखक थोमस कार्लाइलको हो । वास्तवमा कठिन समस्याको सामना गर्दा सरसफाइ गर्न गाह्रो हुन्छ । तर सरसफाइले हाम्रो अव्यवस्थित दिमाग र चिन्तित हृदयलाई व्यवस्थित गर्न मद्दत गर्छ । फोहोर ठाउँमा काम गर्दा एकाग्र भएर कार्य गर्न नसकिने भएकोले कार्य दक्षता घट्छ । अस्तव्यस्त ठाउँमा कुन सामान कुन ठाउँमा राखिएको छ भन्ने कुरा थाहा हुँदैन, जसका कारण समय बर्बाद हुन्छ ।

सबै कुराहरू मिलाएर व्यवस्थित रूपमा राख्नको निम्ति, सबैभन्दा पहिला ‘फाल्न’ जान्नुपर्छ । सफा गर्नुपर्ने ठाउँको मुख्य विशेषता भनेको त्यो ठाउँमा हुने अनावश्यक सामान हो । देश तथा विदेशका प्रसिद्ध व्यवस्थापन विशेषज्ञहरूले “सम्भव भएसम्म सबै अनावश्यक तथा प्रयोग नगरिएका सामानहरू फाल्नुहोस्” भनेर जोड दिन्छन् । जब हामी यत्रतत्र राखिएका अनावश्यक सामानहरूलाई नहिचकिचाइकन फाल्छौं, तब कोठा सफा र व्यवस्थित देखिन्छ । वास्तवमा फाल्न हिचकिचाहट हुने सामानहरूलाई साहसपूर्वक हटाउनु नै सजिलोसित सफा गर्ने रहस्य हो । अनि यो नै हाम्रो जटिल दिमागलाई सफा गर्ने तरिका हो ।
अर्को महत्त्वपूर्ण कुरा, सरसफाइ लगातार गर्नु एकदमै आवश्यक छ । उदाहरणको लागि तीन जना मानिसहरू छन्, एउटाले वर्षमा एक पल्ट, अर्कोले महिनामा एक पल्ट र अर्काले दिनदिनै सरसफाइ गर्छ भने, कसको घर सफा हुन्छ त ? निश्चित रूपमा सरसफाइ गरेपछि सबै घरहरू सफा हुन्छन्, तर दिनदिनै सफा गरिने घर सबैभन्दा उत्कृष्ट हुन्छ ।
केही मानिसहरूले गनगन गर्छन्, “जति सफा गरे पनि फोहोर भइहाल्छ ।” त्यसैले ‘फेरि फोहोर भइहाल्छ’ भन्ने कुरा सोच्दै सरसफाइ गर्ने कार्यलाई उनीहरूले पछि सार्छन् । तर त्यसो गर्ने क्रममा फोहोर र धुलोहरू झन् धेरै जम्मा हुन थाल्छ । पछि सफा गरौंला भनेर काम सारियो भने काम झन् झन्झटिलो र गाह्रो हुँदैजान्छ । सरसफाइको काम थकाइलाग्दो भए पनि लगातार सफा गर्दा घर व्यवस्थित देखिन्छ । अनावश्यक सामानहरू नहिचकिचाइकन सबै फाल्नु नै सफा गर्ने उत्तम तरिका हो । यो कुरा कदापि नबिर्सौं ।
हाम्रो आत्माको शुद्धिकरण
सफा वातावरण र सफा परिवेश महत्त्वपूर्ण छ, तर सबैभन्दा महत्वपूर्ण कुराचाहिँ हाम्रो आत्मा शुद्ध हुनु हो ।
के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्वरका मन्दिर हौ, र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा वास गर्नुहुन्छ ? यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ । किनकि परमेश्वरको मन्दिर पवित्र हुन्छ, र त्यो मन्दिर तिमीहरू नै हौ । १ कोर ३:१६-१७
हामी बप्तिस्मा र नयाँ करार निस्तार-चाडद्वारा सम्पूर्ण पाप र अशुद्धताबाट शुद्ध भएका छौं (१ पत्र ३:२१, मत्ती २६:१७-२८) । तर हामी यस संसारमा जिइरहेकोले हाम्रो शुद्ध आत्मामा व्यर्थको सपना, दुष्ट बोली र सांसारिक इच्छा जस्ता आत्मिक धुलोहरू थुप्रिन सक्छन्, अनि गुनासो र घृणा जस्ता अनावश्यक कुराहरू पनि निरन्तर मनमा आउन सक्छन् । यदि ठीक समयमा त्यस्ता अनावश्यक कुराबाट टाढा रहेन भने परमेश्वरबाट पाएको आशिष् र सिक्का बिर्सेर अरूले पाएको आशिष्को डाह गर्न पुग्नेछौं र अन्ततः गुनासो मात्र गर्नेछौं ।
सरसफाइको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको अनावश्यक कुरालाई तुरुन्त फाल्नु हो, र समय-समयमा यो कार्यलाई दोहोऱ्याउनु हो । तसर्थ हामीले हाम्रो आत्मा गुनासोले भरिएको छ कि छैन भनेर हरेक क्षण आफूलाई फर्केर हेर्नुपर्छ र बाक्लो धुलोजस्तो पुरानो खमीर नफालिकन पहिलाकै जीवनशैली पछ्याइरहेका छौं कि भनेर आफूलाई जाँच्नुपर्छ । अनि आत्माको खुशी र मुक्तिको निम्ति अनावश्यक कुराहरू सबै फाल्नुपर्छ । यदि हाम्रो हृदयमा गनगन, गुनासो र घृणा मात्र थुप्रियो भने हाम्रो आत्मा अशुद्ध हुन्छ र अन्ततः शैतानको छलमा पर्छ ।
“क्रोध गर, तर पाप नगर । घाम अस्ताउन अघि नै तिमीहरूको रीस मरोस्, र दियाबलसलाई मौका नदेओ ।” एफि ४:२६-२७

आत्मालाई शुद्ध राख्नको निम्ति हामीले लगातार परमेश्वरको वचन अध्ययन गर्नुपर्छ र त्यसलाई व्यवहारमा लागू गर्नुपर्छ । (भजन ११९:९-१०, एफि ५:२६-२७)। यो युगमा आज्ञाको रूपमा दिनुभएको माताको शिक्षालाई हामीले पूर्ण रूपमा पालन गर्नुपर्छ । प्रेम दिने, सेवा गर्ने र बलिदान गर्ने जस्ता सद्गुणहरू समेटिएको माताको शिक्षाचाहिँ हाम्रो आत्मालाई शुद्ध पार्ने र सबैलाई खुशी बनाउने तरिका हो ।
ख्रीष्टको जीवनचाहिँ केवल सन्तानहरूको मुक्तिको लागि बलिदान गर्नुभएको जीवन थियो । योजस्तै हामी पनि पिता-माताले देखाउनुभएको बलिदानको उदाहरण पछ्याउँदै, हाम्रो निम्ति असल के हो र परमेश्वरलाई प्रसन्न तुल्याउने तरिका के हो भन्ने कुरा सोच्दै आफ्नो लागि मात्र नभएर दाजुभाइ-दिदीबहिनीको निम्ति जिउने होऔं ।
“कसरी दाजुभाइ-दिदीबहिनीलाई आशिष् दिलाउने होला ?”
“कसरी धेरै आत्मा बचाउने होला ?”
यस्ता कुराहरू सोचियो भने हाम्रो हृदय शुद्ध भएर धन्यवादले भरिन्छ । त्यसपछि मात्र परमेश्वरबाट पाएको आशिष्को मूल्य बुझ्न सकिन्छ र आफूले पाएको सिक्कालाई पूर्ण रूपमा प्रयोग गर्न सकिन्छ ।
नयाँ वर्ष आएको छ । हामीचाहिँ अन्धकारमा चम्कने ज्योति र संसारलाई शुद्ध गराउने नूनको भूमिका निर्वाह गर्न बोलाइएका हौं । पहिला हाम्रो हृदयको ढोका फराकिलो गरी खोलौं, त्यहाँ जमेको धुलो सफा गरौं, र प्रार्थना र धन्यवादद्वारा हाम्रो आत्मिक धुलो पखालौं । यसरी परमेश्वरको आश्चर्यजनक आशिष्ले हामीलाई पर्खिरहेको यो वर्ष जोशका साथ सुरु गरौं ।
“सधैँ आनन्दित रहो । निरन्तर प्रार्थना गरिरहो । सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो । पवित्र आत्मालाई ननिभाओ । अगमवाणीलाई तुच्छ नठान । सबै कुराको जाँच गर । जुन कुरा असल छ त्यसैमा दृढ रहो । सबै किसिमका खराबीबाट अलग बस । शान्तिका परमेश्वर आफैले सम्पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्याऊन्, र तिमीहरूका समस्त आत्मा, प्राण र शरीर, हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा निष्कलङ्क रहून् ।” १ थेस ५:१६-२३