परमेश्वरले “सेवा गर्ने होओ” भन्नुभएको छ । स्वर्गीय सन्तान हामीहरू परमेश्वरको शिक्षालाई व्यवहारमा लागू गर्दै परमेश्वरले खुशी मान्नुहुने स्वर्गीय सन्तानहरू बन्नुपर्छ ।
सन्तहरूले एक-अर्कालाई सेवा गर्नुपर्ने कारण के हो, बाइबलद्वारा विस्तृत रूपमा अध्ययन गरौं ।
पहिलो, ख्रीष्ट स्वयम्ले सेवाको उदाहरण देखाइदिनुभएकोले
“… तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्छ । जो तिमीहरूमध्ये पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको कमारो हुनुपर्छ, जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो ।” मत्ती २०:२६-२८
परमेश्वर सारा ब्रह्माण्डमा सर्वोच्च र महापवित्र व्यक्ति हुनुभए तापनि उहाँ स्वयम् यस पृथ्वीमा मानिसको स्वरूपमा आउनुभयो, अनि उहाँले हाम्रो निम्ति मृत्युसम्म बलिदान हुनुभएर हाम्रो सेवा गर्नुभयो । योचाहिँ उहाँले हाम्रो निम्ति देखाइदिनुभएको सेवाको उदाहरण हो (यूह १३:१५) । परमेश्वरको यस्तो उदाहरणलाई पछ्याउँदै हामीले सहृदयले सन्तहरूको सेवा गर्नुपर्छ ।
दोस्रो, ख्रीष्टभित्र हामीहरू एउटै शरीर भएकाले
आशिष्का त्यो कचौरा जुनको निम्ति हामी आशिष् माग्छौं, के त्यो ख्रीष्टको रगतमा हुने सहभागिता होइन र ? त्यो रोटी, जुन हामी भाँच्छौं, के त्यो ख्रीष्टको शरीरमा हुने सहभागिता होइन ? किनभने रोटी एउटै हो, हामी धेरै भए तापनि एउटै शरीर हौं, किनकि हामी सबै एउटै रोटीबाट खान्छौं । १ कोर १०:१६-१७
यहाँ, ख्रीष्टको शरीरमा सहभागी हुने रोटी र ख्रीष्टको रगतमा सहभागी हुने दाखमद्यले नयाँ करार निस्तार-चाडको रोटी र दाखमद्यलाई जनाउँछ । हामीहरू नयाँ करार निस्तार-चाडद्वारा परमेश्वरको देह र रगतको हकदार भएर परमेश्वरसँग एउटै शरीर भएका छौं । नयाँ करारभित्र एउटै शरीर भएका हामीले एक-अर्कालाई प्रेम गर्दै, एक-अर्कामा विचारशील हुँदै सेवा गरेको परमेश्वर चाहनुहुन्छ ।
तेस्रो, स्वर्गमा ठूलो इनाम पाउनका निम्ति
“जसले यो सानो बालकजस्तै आफूलाई नम्र तुल्याउँछ, त्यही स्वर्गको राज्यमा सबैभन्दा महान् हुनेछ ।” मत्ती १८:४
… “विवाहको भोजमा तिमीले कसैको निम्तो पायौ भने आदरका स्थानमा नबस । तिमीभन्दा बढी प्रतिष्ठित व्यक्तिले त्यहाँ निम्तो पाएका होलान् । तिमीलाई र तिनलाई निम्तो दिने मेजमानले आएर तिमीलाई भन्नेछ, ‘यिनलाई बस्ने ठाउँ देऊ,’ र तिमीचाहिँ लज्जित भएर सबैभन्दा तल्लो स्थानमा बस्नुपर्नेछ । तर जब तिमीले निम्तो पाउँछौ, गएर तल्लो ठाउँमा बस, र मेजमानले आएर तिमीलाई भन्नेछ, ‘ए मित्र, माथि गएर बस्नोस् ।’ त्यस बेला तिमीसँग खान बस्नेहरूका सामुन्ने तिम्रो इज्जत हुनेछ । किनकि हरेक जसले आफूलाई उच्च तुल्याउँछ, त्यो होच्याइनेछ, र आफूलाई होच्याउनेचाहिँ उच्च पारिनेछ ।” लूक १४:७-११
यसरी येशूज्यूले, नम्र स्वभावद्वारा सन्तहरूको सेवा गर्ने व्यक्ति स्वर्गमा सबैभन्दा उच्च हुनेछ भन्ने वचन दिनुहुँदै ‘सेवा’लाई जोड दिनुभयो । यो पृथ्वीचाहिँ स्वर्गमा पाप गरेका पापीहरू थुनिने आत्मिक झ्यालखान हो (मत्ती ९:१३) । झ्यालखानभित्र पापीहरूले उच्च पद पाउन र अधिकार जमाउन खोज्छन्, तर स्वर्गको नियम यस्तो छैन । नम्र स्वभावद्वारा दाजुभाइ-दिदीबहिनीको सेवा गर्ने र प्रेमद्वारा हेरचाह गर्ने सन्तहरूले परमेश्वरबाट अझ ठूलो आशिष् पाउन सक्छन् । यसकारण हामीले स्वर्गको आशिष् र इनामलाई हेर्दै दाजुभाइ-दिदीबहिनीको सेवा गर्नुपर्छ ।
परमेश्वर स्वयम्ले सेवाको उदाहरण देखाइदिनुभएर एकले अर्कालाई सेवा गर्नू भन्नुभयो । माताको शिक्षामध्ये तेह्रौँ शिक्षामा, सेवाको विषय छ : “परमेश्वरचाहिँ सेवा गर्न यो पृथ्वीमा आउनुभयो । त्यसैले सेवाको अपेक्षा नगरी आपसमा सेवा गर्ने मन नै परमेश्वर खुशी हुनुहुने मन हो ।” परमेश्वरको यो शिक्षालाई याद गर्दै, व्यवहारमा लागू गर्दै हामी भविष्यमा जाने स्वर्गमा प्रशस्त आशिष् र इनाम प्राप्त गर्नुपर्छ ।
- समीक्षात्मक प्रश्न
- सन्तहरूले एक-अर्कालाई सेवा गर्नुपर्ने कारण के हो ?
- माताको शिक्षामध्ये तेह्रौँ शिक्षा के हो ?