दाऊदका छोरा अब्शालोमले विद्रोह गरेर ‘दाऊदको सहर’ लिइहाल्यो, र आफ्ना बाबुलाई मार्ने योजना बनायो । यसैबीच दाऊदले देशमा सुव्यवस्थित क्रम बसाल्नको निम्ति अब्शालोमकहाँ सेनाहरू पठाए । सेनाहरू पङ्क्तिबद्ध भएर अगि बढ्दाखेरि मूल ढोकाको छेउमा उभिरहेका दाऊदले आफ्ना सेनापतिहरूलाई यस्तो आदेश दिए ।
“मेरो खातिर त्यस जवान अब्शालोमसित नरम व्यवहार गर्नू ।”
एफ्राइमको वनमा भीषण युद्ध भयो । अब्शालोमलाई पछ्याएका मानिसहरू दाऊदका सेनाहरूद्वारा पराजित भए, र अब्शालोम पनि दाऊदका मानिस योआबको बर्छाद्वारा मारियो ।
यो खबर सुनेपछि, राजा शोकाकुल भए । तिनी मूल ढोकामाथिको कोठामा गएर रोए, अनि माथि हिँड्दैजाँदा यसो भन्दै रोए, “हाय मेरो छोरो ! मेरो छोरो अब्शालोम, मेरो छोरो अब्शालोम ! तेरो सट्टामा मै मरेको भए त हुनेथियो ! हाय अब्शालोम, मेरो छोरो, मेरो छोरो !”
अब्शालोम देशद्रोही थियो । आफ्नै बुबाको सिंहासन खोस्ने, र मौका पाउनेबित्तिकै बुबालाई पछाडिबाट छुरी प्रहान गर्न खोज्ने पापले रतिएका विश्वासघाती छोरा थियो । तैपनि दाऊदले अब्शालोमलाई स्वीकारे, र आफ्ना सेनापतिहरूलाई अब्शालोमसित नरम व्यवहार गर्न आदेश दिए । आफ्नो विवेकहीन कार्यप्रति पश्चात्ताप गरेर बुबाको काखमा फर्किआउनेछ भनेर दाऊदले आशा गरेका थिए, तर आखिरमा अब्शालोमले दयनीय मृत्यु भोग्यो । छोराको मृत्युको खबर सुनेपछि दाऊदले “तेरो सट्टामा मै मरेको भए त हुनेथियो !” भन्दै विलाप गरे । अब्शालोमले आफूले गरेको पापको ज्याला पायो, तर दाऊदले चाहिँ छोराको सट्टामा आफू मरेको भए हुनेथियो भन्दै छोराको मृत्युमा बिलौना गरे ।
संसारमा तर्कविपरीत जाने एउटा कुरा छ । त्यो नै आफैलाई मार्न खोज्ने शत्रुजस्तो छोरालाई, आफूभन्दा बढी प्रेम गर्ने बुबाको स्नेह हो ।