एउटा फिस्टे चरा हाँगामा बसेर रोइरहेको थियो । त्यही बाटो भएर आइरहेका माउ भँगेरा र उसका बचेराहरूले फिस्टे चरालाई हेर्दै सोधेछन्,
“ए फिस्टे भाइ, के भयो तिमीलाई ?”
“मलाई शिकारीले कुन बेला गोली हान्ने हो, डरले जिउनै सकिरा’छैनँ भन्या ।”
त्यसो भनेको सुनेर एउटा बचेराले चिन्तित हुँदै माउलाई सोधेछ,
“आमा, हामीलाई नि गोली हान्यो भने के गर्ने ? आमालाई चिन्ता लाग्दैन ?”
“चिन्ताले खतराबाट कहिल्यै बचाउन सक्दैन ।”
“चिन्ता उत्पन्न भयो भने कसरी समाधान गर्ने थाहा छ ?”
“आफ्नो पखेटा फराकिलो गरी यसरी फिँजाउनुपर्छ । उड्ने चराहरूसँग चिन्ता गर्ने फुर्सद पनि हुँदैन ।”
माथि आकाशतिर उडिरहेकी माउ भँगेरालाई पछ्याउँदै बचेराहरूले जोडले पखेटा फटफटाए । ‘ढिच्याउँ !’ बन्दूकको आवाजसँगै एउटा चरा जमिनमा खस्यो । त्यो त एकछिन अघि रूखको हाँगामा बसिरहेको त्यही फिस्टे चरा पो थियो ।