WATV.org is provided in English. Would you like to change to English?

बाढी उद्धार क्षेत्रमा

वाङ गा राम / बुसान, कोरिया

386 हेरेको संख्या
FacebookTwitterEmailLineKakaoSMS

यो ग्रीष्मको अन्त्यतिर कोरियाको दक्षिणी भेगमा मूसलधार वर्षा भयो । लामो समयसम्म बुसानमा बस्दैआएका मानिसहरूले पनि यस्तो भारी वर्षा त्यसअघि कहिल्यै नदेखेको कुरा बताए ।

त्यो एक्कासि आएको प्राकृतिक प्रकोप थियो । बाढीले ठूलो क्षति पुऱ्यायो । धेरै घरहरू बाढीले गर्दा डुबानमा परे, त्यहाँ भएका फर्निचर र अन्य उपकरण माटोले पुरिए, अनि भुइँ तलामा भएका पसलहरूमा घुँडासम्म डुब्ने पानी जम्मा भयो । त्यो पानीलाई बाहिर फाल्न निकै गाह्रो थियो । सबै पसलेहरूले नोक्सानी बेहोर्नुपऱ्यो ।

स्थानीयवासीहरूले सहयोगको निम्ति बिन्ती गरिरहेका भए पनि जनशक्तिको अभावका कारण सहयोग गर्न नसक्दा स्थानीय सामुदायिक केन्द्रलाई निकै गाह्रो परेको थियो । क्षतिग्रस्त क्षेत्रको स्थानीय सामुदायिक केन्द्रमार्फत स्थानीयवासीहरूलाई मद्दत गर्नको निम्ति हामीहरू नजिकको सियोनका दाजुभाइ-दिदीबहिनीहरूसँग हातमा हात मिलाएर अगि बढ्यौं ।

क्षतिग्रस्त ठाउँका हरेक कुनाकाप्चामा ठूलै असर परेकोले कहाँबाट सुरु गर्ने भन्ने कुरामा हामीहरू अलमल्ल पऱ्यौं । स्थानीयवासीहरूले “यस्तो अवस्थामा कसले के गर्न सक्छ र ?” भनेर सोचेका थिए । तर सुन्तला रङको लुगा लगाएर सयौँ मानिसहरूले एक-अर्कालाई हौसला दिँदै क्षतिग्रस्त ठाउँमा मर्मत-सम्भार कार्य सुरु गरेपछि माहोल पूर्ण रूपमा परिवर्तन भयो । हामीले गह्रौँ ढोकाहरू, टाट कार्पेट निकाल्यौं, अनि “एक, दुई, तीन !” भनेर कराउँदै फर्निचरहरू पनि सारिदियौं ।

एउटा घरको क्षतिलाई मर्मत गरेपछि हामीहरू नजिकको अर्को घर गयौं । हामीले पाइला चाल्दै, थुप्रिएका फोहोर र टुटेफुटेका सामानहरू सबै हटाइदियौं, अनि घरहरू पहिलाकै स्वरूपमा पुनर्स्थापित भए ।

सबै माटो निकाल्दा, सडेको फोहोरबाट नराम्रो दुर्गन्ध आयो । अनेक किसिमका फोहोर र माटोले भरिएको भुइँलाई हामीले बारम्बार घोट्यौं । हाम्रो निधार र ढाडबाट खलखली पसीना बग्यो, अनि पूरै शरीर पसीना र माटोले भिज्यो, तर पनि सबै जना एकसाथ काम गरेकोले होला, थकान महसुस नै भएन ।

बत्ती नभएको भुइँमुनिको तलामा भएको स्टोरभित्र जाँदाको कुरा थियो । त्यहाँ यति अँध्यारो थियो, कि स्टोरको साहुजीसमेत भित्र पस्न चाहनुभएन । तब हामीहरू टर्चलाइट बोकेर विनाहिचकिचाहट भित्र पस्यौं । हामीले भऱ्याङमा तल-माथि गर्दै, त्यहाँ भएका जम्मै भिजेका फोहोर र सरसामानलाई बाहिर ओसाऱ्यौं, अनि अन्ततः स्टोर बाहिर माटोको ठूलो थुप्रो लाग्यो ।

स्टोरमा जम्मा भएको पानीलाई बाहिर निकाल्न हामीहरू भऱ्याङमा पङ्क्तिबद्ध भएर उभिँदै बाल्टीमा माटो सोहोर्दै बाहिर फाल्यौं । कैयौँ पटकसम्म यो क्रमलाई दोहोऱ्याएपछि हामीले भुइँ र पूरै स्टोर सफा गऱ्यौं । तब हाम्रा हरेक गतिविधिलाई हेरिरहनुभएका स्टोरका साहुजी रुन थाल्नुभयो ।

“तपाईंहरूजस्तो धेरै परिश्रम गर्ने मानिसहरू मैले कहिल्यै देखेको छैनँ । परमेश्वरको मण्डली कहाँ छ ? कुनै दिन म तपाईंको मण्डलीमा गएर धन्यवाद दिन चाहन्छु । आम्मामा ! तपाईंहरू साँच्चै अचम्मका हुनुहुन्छ ।”

स्वयंसेवाबाट प्रभावित हुनुभएका उहाँले बोल्न नसक्नुभएको देखेर हाम्रा आँखा पनि रसाए । केही दिनदेखि हामीलाई हेरिरहनुभका बुज्रुगहरू पनि प्रभावित हुनुभएझैँ देखिन्थ्यो । एक दिन एक जना हजुरआमाले हाम्रो हात समाउँदै भन्नुभयो, “तपाईंहरू एकदम सुन्दर हुनुहुन्छ । धन्यवाद ।”

त्यो साह्रै हृदयस्पर्शी थियो । हामीलाई सुन्दर मानिस भनेर गर्नुभएको यस्तो प्रशंसा अन्त कहाँ सुन्न पाइन्छ र ? यसैले त परमेश्वरले हामीलाई संसारको नून र ज्योति बन्नू भन्नुभएको रहेछ ।

हाम्रो हत्केलाले उघाउँदै निकालेको एक बाल्टी माटो, एउटा सरसफाइ र स्थानीयवासीहरूलाई हौसला दिने प्रेरणाको एक शब्दले मानिसहरूलाई परमेश्वरको महिमा गर्ने र धन्यवाद दिने बनाउन सक्छ भन्ने कुराले मेरो आङ सिरिङ्ग हुन्छ । परमेश्वरले दिनुभएको मिसन वहन गर्दै म, परमेश्वरको महिमा प्रदर्शन हुने सुकर्म गर्न कहिल्यै रोकिनेछैनँ । सबै बाढी पीडितहरू हौसला पाएर पहिलाकै अवस्थामा फर्कन सकून् भनी प्रार्थना गर्दछु ।