खराब टिप्पणी नभएको लेख

5,737 भ्यु

कसै-कसैले टिप्पणी हुँदै नहुनुभन्दा बरु खराब टिप्पणी भए पनि हुनु नै राम्रो हो भन्ने गर्छन्, तर तिनीहरूले आफ्नो बारेमा लेखिएका निन्दात्मक टिप्पणीहरू देखे भने तिनीहरूको सोचाइ नै परिवर्तन हुने गर्छ । धेरै समूहहरू खराब टिप्पणीहरू मेटाउन लागिपरिरहेको भए पनि यो एउटा चुनौतीपूर्ण काम बनेको छ । तर कुनै एक साइटमा नकारात्मक टिप्पणी एउटा पनि नभएर प्रख्यात बनेको छोटो लेख छ । त्यसको विषयवस्तु यसप्रकार छ :

“यदि तपाईं ४०देखि ४९ वर्षको हुनुहुन्छ, र तपाईंको छोरी छ भने, अलि अप्ठ्यारो लागे पनि मलाई एक चोटि मात्र ‘मेरी छोरी’ भनेर बोलाइदिनुहुन्छ कि ? मलाई ‘मेरी छोरी’ भनेर बोलाउनुहुने मेरी आमा हुनुहुन्न । यसकारण म त्यो एक पटक सुन्न चाहन्छु ।”

यो छोटो लेखमा हजारौँ टिप्पणीहरू पोष्ट गरिए । “मेरी छोरी, माया गर्छु,” “तिम्री आमा सधैँ तिम्रो छेउमै हुनुहुन्छ,” “यसरी राम्ररी हुर्किएकोमा आमा तिमीप्रति धन्यवादी हुनुहुन्छ,” “मेरी छोरी, एकदम जाडो भएकोले ओछ्यानमा गुटुमुटु परेर न्यानो गरी बस्नू ।” यसरी धेरै टिप्पणीहरू पोष्ट गरिएको भए पनि त्यहाँ एउटा पनि खराब टिप्पणीहरू भेटिएन ।

आमाको प्रेमको लालसा गर्ने मनचाहिँ सबै मानिसहरूमा उस्तै देखिन्छ । कसैले पनि तिनको निन्दा वा आलोचना गरेन, तर सबैले नम्रतापूर्वक बोलेझैँ गरी न्यानो शब्दहरू समावेश गरेर टिप्पणीहरू पोष्ट गरे ।