बच्चाहरूसँग गरिने ‘भावनात्मक कुराकानी’

बच्चाहरूले साँच्चै आफ्ना बुबा-आमाबाट के चाहन्छन् भन्ने कुरा बुझ्नुपर्छ ।

11,720 भ्यु

बच्चाहरू भएको घर कुनै दिन पनि शान्त हुँदैन । बच्चाले, भनेको कुरा बुझ्ने भएर आफ्ना विचारहरू राख्न थालेसँगै बच्चा र बुबा-आमाबीच व्यापक द्वन्द्व सृजना हुन थाल्छ । एकदमै सुन्दर र प्यारो बच्चा नै भए पनि जिद्दी व्यवहार र झर्कोफर्को गर्दाखेरि बुबा-आमामा सबै कुरा छोडेर जाने मन पनि आउँछ ।

भनेको कुरा बच्चाले नमान्नु स्वाभाविकै हो । ऊ पनि मानिस भएकोले उसका केही चाहनाहरू हुन्छन्, अनि उसले आफ्नै तरिकाले सोच्ने गर्दछ । मानसिक र शारीरिक रूपमा अपरिपक्व भए पनि, अनि जरैदेखि मार्गनिर्देशनको आवश्यकता परेको भए पनि, सानै छ भनेर बेवास्ता गर्नुको सट्टा उनीहरूलाई सोच्न र बुझ्न सक्ने बन्नमा सहयोग गर्नुपर्छ । ‘सानो बच्चालाई के थाहा ?’ भन्ने सोच्दै बुबा-आमाको कुरा सुन्नैपर्छ भन्ने मनोवृत्ति लिएर बच्चासित व्यवहार गऱ्यो भने द्वन्द्व र सङ्घर्षको कहिल्यै टुङ्गो लाग्नेछैन ।

बाल मनोविश्लेषक क्लोड हाल्मोजले “बच्चाहरूले हाम्रो मनोभाव बुझिदिएको चाहन्छौं, र उनीहरूसँग साँचो कुराकानी गर्न चाहन्छौं भने हामीले उनीहरूलाई समझदार, आदरयोग्य र बुझक्की मानिसको रूपमा हेर्नुपर्छ” भनेकी थिइन् । त्यसो भन्दैमा बच्चासित ठूलाबडालाई गरेजस्तै व्यवहार गर्नुपर्छ अथवा उसको साथी बन्नुपर्छ भन्ने कुरा होइन । ठूलाबडा भएअनुरूप बुबा-आमाको केही हदसम्म अधिकार हुनुको साथै सन्तानलाई सही मार्गमा डोऱ्याउने जिम्मेवारी हुन्छ । यसो गर्ने तरिका नै मैत्रीपूर्ण कुराकानी हो ।

बच्चाहरूले वास्तवमै चाहने कुरा

प्रायः गाह्रो अवस्थामा गुज्रिरहेको निराश मानिसलाई “हिम्मत गर” भन्ने गरिन्छ । तर कहिलेकहीँ शक्तिप्रदायक बोलीभन्दा “धेरै गाह्रो भयो होला” भन्ने किसिमको मन बुझिदिने बोलीबाट अझ सान्त्वना मिल्न सक्छ । साना बच्चाहरूको सवालमा पनि उस्तै हो । आफूले चाहेअनुसार नहुँदाखेरि बच्चाहरूले चिढिँदै रिसाएर अथवा रोएर आफ्नो भावना व्यक्त गर्ने गर्छन् । त्यो समयमा “किन रोएको ?” भन्दै कराउनुको सट्टा सहानुभूति मिल्ने किसिमको बोली बोल्यो भने बच्चाहरूको मन चाँडै शान्त हुनेछ ।

बुबा-आमाले बच्चाको भावनालाई बुझिदिएमा ऊ शारीरिक र मानसिक रूपमा नै बलियो मानिसको रूपमा हुर्किन्छ । यसको ठीक विपरीत, आफ्नो सोचाइ र भावनाको कदर नगरिने वातावरणमा हुर्केका बच्चाहरूको मनमा रिस थुप्रिँदैजान्छ । आफैप्रतिको रिसले आफैप्रति हीन भावना उत्पन्न गराउँछ, अनि वरिपरिका मानिसप्रतिको रिसचाहिँ असामाजिक व्यवहार वा मनमुटावको रूपमा प्रकट हुन्छ ।

बच्चाहरू सही र उचित कुरालाई भन्दा आफूलाई मन पर्ने मानिसको कुरालाई पछ्याउने प्रवृत्तिका हुन्छन् । बच्चाले मन पराउने व्यक्ति भनेको उसको मन बुझिदिने व्यक्ति हो । बुबा-आमाले पहिला आफ्नो बच्चालाई पारिवारिक घनिष्टता देखाइदिएमा बच्चाले पनि आफ्ना बुबा-आमासँग बाँधिएको महसुस गर्न सक्छ । यस्तो बन्धन कायम भएन भने बुबा-आमाले बच्चालाई जतिसुकै सही कुराहरू सिकाए पनि उसले पटक्कै सुन्न चाहँदैन । बुबा-आमाले सधैँ मलाई बुझिदिनुहुन्छ र समर्थन गर्नुहुन्छ भन्ने विश्वास बच्चामा हुनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यो नै कुराकानीको सुरुवात हो ।

बच्चासँग भावनात्मक कुराकानी गर्ने तरिका

१. कुरामा कान लगाउने

बुबा-आमाले बच्चाको कुरा सुनिदिए भने मात्र पनि उसले बुबा-आमाबाट प्रेम पाएको महसुस गरी बुबा-आमामा भरोसा राख्छ । कहिलेकहीँ बच्चाको समस्यामा थोरै मात्र कान लगाइदियो भने पनि बच्चालाई त्यो समस्या समाधान गरेर अगाडि बढ्न मद्दत मिल्छ । बच्चाको कुरा सुनिदिँदा बुझिदिने मनसायले सुनिदिनुपर्छ । बुबा-आमाले मिलनसार आँखा पार्दै, टाउको हल्लाउँदै “साँच्चै ?” “हो त नि !” भन्दै उत्साहसाथ सहमति जनाउनु अझ प्रभावकारी हुन्छ ।

बच्चाको कुरा सुन्न नसकिने अवस्थामा चाहिँ “केही समयपछि कुरा गर्दा हुन्छ कि ? अहिले यो काम अझ जरुरी छ” भनेर उसलाई बुझाइदिनुपर्छ । अर्को काम गर्दै राम्ररी नसुनी “म व्यस्त छु, उता जाऊ” भन्नुभन्दा बरु त्यसो गर्नु धेरै राम्रो हुन्छ ।

२. सहृदयले प्रश्नको उत्तर दिने

“आमा, यो के हो ?” “बुबा, यो किन त्यस्तो छ ?” धेरै जिज्ञासु हुने बच्चाहरूमा प्रश्नहरू पनि धेरै हुन्छ । चित्तबुझ्दो उत्तर नआउँदासम्म उनीहरूले “किन ?” भनेर लगातार अनावश्यक प्रश्नहरू सोध्ने गर्छन् । त्यो समयमा बुबा-आमाले ईमानदारितापूर्वक उत्तर दिनुपर्छ । उत्तरचाहिँ वैज्ञानिक वा व्यावसायिक हुनैपर्छ भन्ने छैन । बच्चाहरूले बुझ्न सक्नेजतिको वर्णन गरिदियो भने हुन्छ । बुबा-आमाले पर्याप्त उत्तर र प्रतिक्रिया दिएमा बच्चाले कदर पाएको महसुस गर्नेछ । उत्तर दिन गाह्रो लाग्दा “तिमीले जान्न आवश्यक छैन” भन्ने अथवा बच्चाहरूको प्रश्नमा झर्को मान्ने गऱ्यो भने उनीहरूले आत्मविश्वास गुमाएर प्रश्नहरू सोध्नै छाड्नेछन् । प्रश्न सोधेर आफ्नो मन अझ दुखाउन नचाहेकोले उनीहरूले सोच्नै छोड्ने अवस्था पनि हुन सक्छ । प्रश्नको उत्तर दिन गाह्रो छ भने “तिम्रो विचारमा के हो जस्तो लाग्छ ?” भनेर बच्चालाई नै फेरि सोध्दै त्यसको उत्तर पत्ता लगाउन मद्दत गर्नु पनि उत्तम तरिका हो ।

३. प्रशंसा गरिदिने

प्रशंसाले मानिसलाई प्रसन्न पार्छ, हौसला मिल्छ र आफूले मान्यता पाएको महसुस दिलाउँछ । विशेष गरी बच्चाहरूले सही विचार र व्यवहार सिक्न सक्ने हुँदा उनीहरूमा प्रशंसाले अझ धेरै सकारात्मक प्रभाव पार्ने गर्छ । बच्चाले सही व्यवहार गर्दाखेरि प्रशंसा गरेमा उसले त्यो कार्य अझ धेरै गर्न कोसिस गर्छ । उसका खराब व्यवहारहरू पनि स्वाभाविक रूपले कम हुँदैजानेछ ।

प्रशंसा गर्दाखेरि अलि विशेष गरी प्रक्रियामा ध्यान दिँदा राम्रो हुन्छ । अस्पष्टसँग “तिमी प्रतिभाशाली छौ,” “तिमी साँच्चै राम्रो छौ” भन्यो भने बच्चाले किन उसको प्रशंसा गरिएको हो भन्ने कुरासमेत थाहा पाउन सक्नेछैन । “सक्दो राम्रो गर्न प्रयास गर्ने तिम्रो स्वरूप साँच्चै उत्कृष्ट छ,” “अभिवादन गर्ने तिम्रो शैली राम्रो छ,” “तिमीले खेलौनाहरूलाई ठीक ठाउँमा मिलाएर राखेकोले साँच्चै खुशी लाग्यो,” यसरी कारणसहित स्पष्टसँग भनिदियो भने बच्चाले किन आफ्नो प्रशंसा गरिएको हो भन्ने कुरा थाहा पाएर राम्रो महसुस गर्नेछ ।

४. प्रतिज्ञा पूरा गर्न नबिर्सने

भरोसा कायम राख्नको लागि प्रतिज्ञा पूरा गर्न एकदम आवश्यक हुन्छ । यसकारण बच्चासँग एक पटक प्रतिज्ञा गरेपछि त्यो जतिसुकै सानो भए पनि पूरा गरिदिनुपर्छ । बच्चाहरूले बुबा-आमासँग गरेको प्रतिज्ञालाई सजिलै बिर्सिंदैनन्, अनि बुबा-आमाले अस्पष्टसँग भनेका कुराहरूसमेत सम्झिरहेका हुन्छन् । यसकारण बुबा-आमाले प्रतिज्ञालाई हलुको रूपमा लिएर पूरा नगरेमा बच्चाले बुबा-आमामाथि पूर्ण रूपमा भरोसा गर्नेछैन । प्रतिज्ञा पूरा गर्न सकिँदैन भने बरु प्रतिज्ञा नगर्दा नै धेरै जाती हुन्छ ।

कुनै अपरिहार्य अवस्थाका कारण प्रतिज्ञा पूरा गर्न नसक्दाखेरि त्यो पूरा गर्न नसक्नुको कारणलाई एक-एक गरेर बुझाइदिनुपर्छ । बुबा-आमाको त्यो मनोवृत्ति देखेर बच्चाहरूले प्रतिज्ञाको महत्त्वलाई पनि बुझ्नेछन् । अनि आफूले प्रतिज्ञा पूरा गर्न नसक्दाखेरि मन दुखेको कुरा बताउँदै बच्चालाई आत्मीयताको भाव महसुस गराउनु महत्त्वपूर्ण हुन्छ ।

५. बोलीको नकल गर्ने

‘बोलीको नकल गर्नु’ भन्नाले अर्को व्यक्तिले बोलेको कुरालाई दोहोऱ्याउनु हो । बच्चाले “मलाई धेरै गृहकार्य मन पर्दैन,” “विद्यालय जान मन लाग्दैन” भनेको समयमा “फेरि के भयो र ?” भन्नुको सट्टा “तिमीलाई धेरै गृहकार्य भएको मन पर्दैन है ?” “तिमीलाई विद्यालय जान असहज भइरहेको छ जस्तो लाग्छ” भनेमा बच्चाले आफ्नो भावना बुझिदिएको महसुस गरेर स्वतः मन खोल्नेछ । त्यति मात्र होइन, बोलीको नकल गरेर पनि कुराकानीलाई निरन्तरता दिन सकिन्छ । “बुबा, यो केको चित्र हो थाहा छ ?” “यो केको चित्र हो ?” “यो गाडी हो ।” “वाह्, यो गाडी पो हो !” “यो रूपान्तरण पनि हुन्छ” “ओहो, रूपान्तरण पनि हुन्छ ?” यसरी बोलीको नकल गरेमा बच्चासँग सहमति जनाउँदै ऊसँग धेरै कुराकानी गर्न सकिन्छ ।

यस्तो अवस्थामा मैले के गर्नुपर्ला ?

१. बच्चाले रुँदै कुनै असम्भव कुरा माग्दा

एकैछिन बच्चालाई नरुने गराउनको निम्ति उसले मागेको कुरा दिइहाल्नु राम्रो होइन । बच्चालाई उसले मागेको कुरा दिनुहुँदैन जस्तो लाग्दाखेरि बुबा-आमाले सुने-नसुनेझैँ गरेर अन्तिमसम्म स्थिर स्वभाव देखाएमा बच्चा आफैले पनि “यसले काम नगर्ला जस्तो छ” भन्ने बुझेर हार मान्नेछ । बुबा-आमाले मूड राम्रो भएको दिनमा बच्चालाई सबै कुरा दिने, अनि मूड खराब भएको दिनमा रिसाउने गर्दाखेरि बच्चाले पनि बुबा-आमाको अनुहारको अभिव्यक्ति पढेर, रुँदै माग्नको लागि मौका खोज्नेछ । बरु उसलाई रोइरहेको अवस्थामै छोडिदिएर आफूचाहिँ अरू केही काम गर्दा हुन्छ । त्यसो गऱ्यो भने बच्चालाई आफ्नो भावना नियन्त्रण गर्ने मौका मिल्नुको साथै बुबा-आमाले पनि आफ्ना भावनाहरूलाई अत्यधिक रूपमा अभिव्यक्त गर्नबाट आफूलाई रोक्न सक्नेछन् । बच्चा शान्त भएपछि उसलाई अँगाल्दै के सही हो र के गलत हो भनेर बुझाइदिनुपर्छ । उसलाई एकलै छोडिदिएको चाहिँ घृणा गरेकोले होइनकि गलत व्यवहारलाई सुधार्नको लागि हो भन्ने कुरा थाहा दिँदै बुबा-आमाले सधैँ प्रेम गर्नुहुन्छ भन्ने कुरा महसुस दिलाउनुपर्छ ।

२. बच्चाले झूट बोल्दा

खास गरी मानिसले झूट बोल्ने कारणचाहिँ सत्य बोलेमा प्रतिकूल अवस्थामा फस्न पुगिने भएकोले हो । बच्चाहरूको लागि प्रतिकूल अवस्था भनेको नै बुबा-आमाबाट आउने गाली हो । यसको अतिरिक्त बच्चाहरू कोमल मनको हुने भएकाले उनीहरू सानो कुरामा पनि सजिलैसँग झूट बोल्ने प्रवृत्तिका हुन्छन् । उनीहरूले झूट बोलेको समयमा अपराधीलाई जस्तै कठोर व्यवहार गर्दै प्रश्नहरू गऱ्यो भने डराएर उनीहरूले फेरि अर्को झूट बोल्नेछन् । झूट बोल्नु गलत हो, तर झूट बोल्नुबाहेक कुनै विकल्प नरहने वातावरण वा अवस्था सृजना गर्ने कार्यको निम्ति बुबा-आमा पनि जिम्मेवार हुन्छन् ।

बच्चालाई “मलाई निराश नपार्नलाई तिमीले यसो भनेका हौ है ?” “डराएकोले त्यसो भनेको हो है ?” भन्दै पहिला बच्चाप्रति सहानुभूति दर्शाएमा उसले राहत महसुस गरेर साँचो कुरा ओकल्नेछ । उसलाई झूट बोल्नु खराब हो भन्ने यथार्थता पछि सिकाए तापनि धेरै ढिलो भएको हुनेछैन । बच्चाले झूट बोल्दाखेरि आफूले ऊप्रति कडा व्यवहार गरिरहेको छु कि भनेर आफैलाई जाँच्न आवश्यक हुन्छ । उसले आफ्नो मन बुझिदिने मानिससँग झूट बोल्न आवश्यक ठान्दैन, अनि झूट बोल्ने सोचाइ पनि लिन चाहँदैन ।

३. बच्चाले जवाफ फर्काउँदा

वास्तवमा धेरैजसो बच्चामा आत्मभाव प्रबल बन्ने हुँदा कुनै अनुचित कुरामा उसले आफ्ना विचार र भावनाहरू व्यक्त गर्न चाहन्छ । उसलाई “हेर, ठूलाबडाले बोलेको कुरामा कसरी जवाफ फर्काउन सकेको ?” भन्दै उसको व्यवहारलाई बेवास्ता गर्ने वा नीचो ठान्ने नगरीकन बच्चाको स्थानमा आफू रहेर उसले त्यसरी भन्नुको कारणलाई बुझ्न आवश्यक हुन्छ । ठूलाबडाले भनेको कुरा स्वीकार्न अलि गाह्रो र अनुचित लागेकोले उसले त्यसो गरेको हुन्छ । ठूलाबडाहरूलाई पनि कसैले कडा सोरमा दिएको आदेश वा निर्देशनलाई सजिलै स्वीकार्न गाह्रो भएजस्तै बच्चाहरू पनि एकतर्फी मागहरूमा असहमत हुने गर्छन् । जवाफ फर्काउनु अनुचित भए पनि, बच्चाको विचारलाई स्वीकार्दै उसले राम्ररी बुझ्न सक्ने गरी व्याख्या गरिदिनुपर्छ । यदि केही गरी उसले अन्तिमसम्म जिद्दी गऱ्यो भने उसको सोचाइ किन गलत हो भन्ने कुरा बुझाइदिनुपर्छ ।

४. बच्चा रिसाएर सन्किँदा

बच्चा रिसाउँदा सबैभन्दा पहिला उसलाई शान्त गराउन जरुरी हुन्छ । उसले शान्त भएर अलि सहज महसुस नगरेसम्म उसको भावनाप्रति सहानुभूति देखाउनुपर्छ । रिसाइरहेको समयमा के सही हो र के गलत हो भनेर बुझाउन खोज्यो भने त्योचाहिँ आगोमा घ्यू थप्ने कार्य बन्नेछ । “रिसलाई फालिहाल” अथवा “तिमी यसरी रिसाउन नहुनेथियो !” भन्नु भनेको उसका भावनाहरूलाई दबाउन खोज्नुजस्तै हो । ठूलाबडाहरूलाई समेत गर्न गाह्रो लाग्ने कार्य बच्चालाई जबरजस्ती गर्न लगाउनुहुँदैन । “अहिले तिमी रिसाएको जस्तो देखिन्छौ, कसो गरेमा राम्रो महसुस गराउन सक्छु होला ?” भन्दै रिसको कारण जे भए पनि सहानुभूति दर्शाउँदै रिसाउनुको कारण सुनिदिनुपर्छ । बुबा-आमाले उसको कुरा सुनेर उसको भावनालाई स्वीकारिदिँदा उसलाई केही हदसम्म राम्रो लाग्नेछ । त्यसैले बच्चा पूर्ण रूपमा शान्त भएपछि अवस्थालाई बुझाइदिएर वा त्यस्तो अवस्थाको कसरी सामना गर्ने भन्नेबारे सिकाइदिएर आवश्यक मार्गनिर्देशन गरिदिनुपर्छ ।

कोरियाको राजधानी सउलमा ६०० जना बच्चाहरूमा गरिएको सर्वेक्षणअनुसार, बच्चाहरूले बुबा-आमाबाट सबैभन्दा सुन्न चाहने पहिलो कुरा नै “माया गर्छु” भन्ने शब्द थियो । बच्चाहरू सधैँ बुबा-आमाबाट प्रेम चाहन्छन् र बुबा-आमाचाहिँ सधैँ बच्चाहरू खुशी भएको चाहन्छन् । बच्चाहरूको खुशी पूर्णतः बुबा-आमामा निर्भर हुन्छ । बुबा-आमाले बच्चाहरूको खुशीको निम्ति गर्न सक्ने सबैभन्दा अमूल्य कार्य नै बच्चाहरूले मन खोलेर कुरा गर्न सक्ने गरी सबैभन्दा असल मित्र बनिदिनु हो ।