बुबाको डाइट

5,047 भ्यु

विद्यालयका दिनहरूपछि कहिल्यै व्यायाम नगरी आफ्नो डाइट नियन्त्रण गर्न असफल भएका ३५ वर्षीय अमेरिकी नागरिक एडुआर्डो कमार्गोले यस पटक आफैलाई नयाँ डाइटको चुनौती दिए । उनले दैनिक खाने भोजनमा कटौती गर्दै खानपानमा विशेष ध्यान दिने, ताजा फलफूल र सागसब्जी खाने अनि पानी धेरै मात्रामा पिउँदै हरेक हप्ता ३२ कि.मि. दौडिने योजना बनाए । तौल घटाउने एउटै उद्देश्य लिएर दौडने क्रममा उनलाई उल्टी आउलाझैँ भएको थियो । त्यसो हुँदा पनि उनी निरन्तर दौडिरहे, जसको परिणामस्वरूप उनी २ महिनामै ९५ के.जी. तौलबाट २० के.जी. घटाउन सफल भएका थिए । उनले तौल घटाउनमा किन यसरी मरिहत्ते गरेका होलान् ? त्योचाहिँ शरीरलाई सुन्दर बनोट दिनको निम्ति नभएर आफ्नी कान्छी छोरी ज्याजलिनलाई बचाउनको निम्ति थियो ।

ज्याजलिनलाई जन्मिएदेखि बिलीरी अस्ट्रेसिया भन्ने कलेजोसम्बन्धी खतरनाक रोग लागेको थियो । उसको स्वास्थ्य बिग्रिँदैगएकोले कलेजो प्रत्यारोपण नगरी नहुने अवस्था थियो, तर दान दिने व्यक्ति कतै पाउन सकिएको थिएन । कमार्गोले आफ्नो कलेजो दिन चाहेका थिए, तर उनको कलेजोमा बोसो देखिएकोले दिन मिलेको थिएन । त्यसैले एकदमै कडा प्रयत्नद्वारा कलेजो सामान्य अवस्थामा आएपछि उनको कलेजोको एक तिहाइ भाग छोरीमा प्रत्यारोपण गर्न मिलेको थियो । दान दिने व्यक्ति नभएको भए जन्मेको १-२ वर्षमै जीवन समाप्त हुन सक्ने ज्याजलिनले आफ्ना बुबाबाट दोस्रो जीवन पाएकी थिइन् ।