भाइले बनाएको अण्डाको परिकार
बिआङ्का पापापिएट्रो / जर्जिया, एटलान्टा, संयुक्त राज्य अमेरिका

मेरो भाइ सानो छँदा उसलाई अण्डाका परिकारहरू बनाउन सिक्ने इच्छा थियो । त्यसैले आमाले हामीलाई भेला गर्नुभएर “भाइले पकाएको परिकार नमीठो भयो भने पनि खाइदिनू ल” भन्नुहुन्थ्यो ।
पहिलो पल्टमा अण्डा अलि पाकेको थिएन । कसैले पनि त्यो खान नचाहिरहेका बेला उसले आएर सोध्यो, “कस्तो छ, ठीकै छ कि ?”
“उम्, साँच्चै स्वादिष्ट छ !” आमाले भन्नुभयो ।
आमाले भाइको प्रशंसा गर्नुभएपछि हामीलाई आँखाले इसारा गर्दै त्यो खान भन्नुभयो । त्यसैले त्यो खानुबाहेक हामीसित अर्को विकल्प थिएन ।
भाइले फेरि अण्डाको परिकार बनाउन लाग्दा आमाले त्यो पाकेको छ कि छैन भनेर जाँच्न प्रेमपूर्वक सिकाइदिनुभयो । त्यो नयाँ जानकारीद्वारा उसको आत्मविश्वास बढ्यो, र उसले अण्डालाई अझ बढी पकायो । ऊ आफ्नो पकाउने शैलीप्रति सन्तुष्ट भएझैँ देखिन्थ्यो । उसले तुरुन्तै चाखेर हाम्रा लागि टेबिलमा राखिदियो । हामी आत्तिन थाल्यौं ।
‘कृपया यो खान हामीलाई कर नगर्नुहोस् ।’
हामीले आमालाई धेरै बिन्ती गऱ्यौं । तब आमाले, अतिकति खाएर बरु सुटुक्क फालिदिनू भन्नुभयो । यसकारण हामीले थोरै मात्र खाएर बाँकीचाहिँ भाइ निरुत्साहित नहोस् भनेर सुटुक्क फोहोरमा फालिदियौं ।
भाइले, आफ्नो खाना पकाउने चाहना नगुमाओस्, तर आत्मविश्वास लिन सकोस् भनेर आमा ऊप्रति धेरै विचारशील भइदिनुहुन्थ्यो । हामीले सधैँ आमाको कुरा मानेकाले हाम्रो परिवार एक-अर्कासँग एकदम नजिक छ । आपसमा फरक व्यक्तिको रूपमा हुर्किए तापनि एक-अर्काको निम्ति हो भने हामीहरू जस्तोसुकै काम पनि गर्न सक्ने बलियो प्रेमको गमले टाँसिएका परिवार हौं ।