आँखाले रेटिना(दृष्ट पटल)मा प्रतिबिम्बित वस्तुको छविलाई इलेक्ट्रोकेमिकल जानकारीमा रूपान्तरण गर्छ र यसलाई अप्टिक स्नायुमार्फत दिमागमा पुऱ्याउँछ । आँखाले शरीरका अन्य अङ्गहरूभन्दा बढी जानकारी प्राप्त गर्छ । आँखा यति महत्त्वपूर्ण अङ्ग हो, कि भनिन्छ, ‘आँखाचाहिँ शरीरको ९०% भाग हो ।’ तर हाम्रो आँखा बाह्य वस्तुहरूप्रति अत्यन्तै संवेदनशील हुन्छ र सानो धूलोको कणले समेत ठूलो असुविधा पुऱ्याउन सक्छ । त्यसैले आँखाको मुख्य भाग रहेको आँखाको गेडीले त्यससँग जोडिएका थुपै अङ्गहरूद्वारा सहयोग पाउँछ ।
पहिलो, आँखाको पलकले आँखाको गेडीलाई ढाकेर सुरक्षित राख्छ र पलकलाई तल-माथि झिम्क्याउँदै आँसुले सफा गर्दा त्यसलाई चम्किलो र पारदर्शी बनाउँछ । हावा वा तेज प्रकाश आँखामा पर्दा यो स्वतः बन्द हुन्छ र यसले असहजता कम गर्छ । परेलाहरूले बाह्य वस्तुहरूलाई आँखामा पुग्नबाट रोक्ने काम गर्छ, र ब्याक्टेरिया र अन्य कणहरूको आक्रमणबाट पनि बचाउँछ । अनि आँखीभौँले निधारबाट बग्ने पसीना आँखामा पस्नबाट रोक्छ र आँखीभौँको हड्डीले चाहिँ आँखामा बक्सिङ हान्दाको जस्तो शारीरिक झट्कालाई लिने काम गर्छ ।
पलक, आँखाको परेला, आँखीभौँ र आँखीभौँको हड्डी सीधै दृष्टिसँग सम्बन्धित नभए पनि यीचाहिँ अपरिहार्य सहयोगीहरू हुन् । शरीरका अङ्गहरू जतिसुकै सानो भए तापनि सबै अङ्गहरूको आ-आफ्नै भूमिका र काम हुन्छ, र त्यो अस्तित्वमा हुनुको निश्चित कारण छ ।